हिजो-आज रमिता (नाम परिवर्तन) अर्ध पागलझैँ एकोहोरो टोलाइरहन्छिन्। यो संसार उनका लागि अन्याय र अत्याचारको रंगशाला लाग्दो हो र त दिउँसोको सूर्य र रातका तारा नियाल्दै जिन्दगीका बाँकी प्रहरहरू व्यतित गरिरहेकी हुन्छिन्। मान्छे कहाँबाट कहाँ आइपुग्छ। जीवनमा सोच्दै नसोचेको के-के भइदिन्छ। यो सबै भाग्यको खेल हो भन्ने एकातिर छन्। कठै बिचरी भन्नेहरू अर्कोतिर छन्। ठिक भयो छाडा बनेपछि यस्तै हुन्छ भन्नेहरू अर्कोतिर छन्। कमी छैन कुरा काट्नेदेखि सहानुभूति दिनेहरूको। उनी मात्र विगतका दिनहरू सम्झिएर अश्रुपूर्ण भैरहन्छिन्।
कल्कलाउँदो जवानीमा उनले रमेश (नाम परिवर्तन)लाई निष्कपट प्रेम समर्पण गरेकी थिइन। रमेश पनि रमितालाई औधी मन पराउथे र निकै नै प्रेम गर्दथे। उनीहरूको त्यो प्रेम विवाह पश्चातको प्रेम थियो। विवाह हुनुअघि त देखभेट नै मात्र एकपटक भएको थियो। विवाह पनि दुबैका अभिभावकबाट नै तय भएको थियो। रमेशको परिवारको आर्थिक अवस्था निकै नै कमजोर थियो। उनको यति चाँडै विवाह गर्नुपर्छ भन्ने सोच नै थिएन। मात्र बुवा-आमाको जिद्धिकाअघि केही सीप चलेन। फलस्वरुप १७ वर्षको उमेरमा आफ्नै उमेर समूहकी रमितासँग लगन गाँठो कसियो। तर, आज दुबै जना एक्लाएक्लै छन्। विपरीत ध्रुब जस्तै बनेका छन्। जे जस्तो भए पनि विगतका ती दिनहरू दुबै जनाले बिर्सिन सकेका छैनन्।
सुरुको भेटमा रमेश कुरा गर्न चाहन्थे तर रमिता लजाउँदै मुख छोप्ने गर्थिन। रमिताको आकर्षक जिउडाल र सुन्दरताले रमेशको मन पग्लिएको थियो। ऊ विवाहका लागि राजी पनि भयो। गाउँले परिवेश, प्रायः केटीहरू खुलेर बोल्न सक्दैनन्। रमितालाई पनि यस्तै थियो। आफ्नो चाहना नहुँदा नहुँदै पनि बुवा आमाका लागि मञ्जुर भैदिनुपर्ने थियो। वर्षौदेखि छोरी बिग्रिन्छे। कूलको इज्जत जान्छ भन्ने खालका नारा रटिरहेको गाउँ समाजमा उमेर नपुगेकी छोरीलाई विवाह गरी पठाउने चलन अझै पनि छदैँछ।
करिब सात वर्षअघि सामाजिक परम्पराअनुसार दुबैको विवाह भयो। उनीहरूकाे विवाह पश्चातका दिनहरू सुखदायी नै थिए। दुबै जना जहाँ जान्थे प्रायजसो सँगसँगै जान्थे। जीवनलाई खुसीसाथ ब्यतित गरिरहेका ती दुईले जवानीको प्रेमलाई गहिरो गरी अंकमाल गरिरहेका थिए। उनीहरूबीच यति गहिरो प्रेम थियो कि गाउँघरतिर प्रेमको उदाहरणका रुपमा तिनकै नाम उच्चारण हुने गर्थ्याे। उनीहरूका लागि प्रेम भनेको जीवन थियो र जीवन भनेको नै प्रेम थियो। रमिता खाना पकाउथिन्, रमेश गाई-भैंसी स्याहार्थे। रमिता पिठो मुछ्थिन रमेश तरकारी पकाउँथे। उनीहरूको सहकार्य अनुसरण गर्न लायक थियो।
समय बित्दै गयो। एक वर्षपछि रमिताले छोरो जन्माइन। बच्चा स्वस्थ थियो। पितृसत्तात्मक मान्यता बोकेको घर, समाजमा छोरो भएपछि खुसीयाली छाउने नै भयो। सबै खुसी भए। धुमधामसँग छोराको नामाकरण गरे। गाउँभरिका मानिसलाई निम्तो दिएर बडेमानको खसी ढाले। अर्थात्, गाउँलेलाई पुरानो चलनअनुसार ‘भात बाख्रो’ दिए। गाउँले खुसी भए।
रमेश घरको काम गर्ने गर्थ्याे, रमिता छोरा स्याहार्ने गर्थिन। बच्चाको स्वस्थ अवस्थाका लागि सरकारले भने बमोजिमका स्वास्थ्य सेवाहरूसमेत लिइरहेका थिए। दुबै जना बच्चाको स्वास्थ्यका लागि निकै नै सचेत थिए। बच्चा पनि राम्रोसँग हुर्कदै गयो।
बच्चा जन्मिएकाे वर्ष दिन बित्यो। रमेशको परिवारले विवाहदेखि छोराको नामाकरणसम्मको खर्च गाउँकै दाजु-भाइसँग ब्याजमा लिएका थिए। केही समय पश्चात ऋणीहरू आफूले दिएको ब्याजसहितको रकम फिर्ता माग्न थाले। साँवा र ब्याज जोडेर करिब पाँच लाख तिर्नुपर्ने देखियो। पैसा तिर्नकै लागि भए पनि रमेशलाई विदेश जानुपर्ने बाध्यता भयो। ऊ विदेश गयो। विदेशमा दुई/तीन वर्षको मेहनतपछि सबैको ऋण तिर्न सफल भयो। अलिक घरको आवश्यकता पूर्ति गर्न र श्रीमतीका लागि लुगा गहनाको जोहो गर्न एक वर्ष थप बस्ने निर्णय गर्याे। विदेशको थप एक वर्षको बसाइँमा कमाएको रकम ल्याएर ऊ घर फर्कियाे।
बिमारी बुवालाई भेट्न माइती घर पुगेकी रमिता पनि श्रीमान फर्किएको खबर पाएर घर फर्किइन। रमेशले घर परिवार सबैका लागि एक-एक जोर लुगा र श्रीमतीका लागि एकतोला सुनको सुनगढी, छोराका लागि खेलौनादेखि खाने कुरा ल्याएको थियो। वर्षौपछिको भेटले परिवारका सबै सदस्यको मुहारमा खुसी छाएको थियो। घर फर्केको १५ दिन नबित्दै रमेशले एकाएक भारत जाने निधो गर्यो। ऊ भारततिर लाग्यो। रमिता बुवालाई भेट्न पुनः माइती गइन। रमेश भारतमा चौकीदारको जागिर गर्न थाल्यो। रमिता एक महिना माइतीमा बसेर घर फर्किन।
दिन बित्दै गए। श्रीमानले घर छोडेको आठौं महिना भएको थियो। रमिताले अर्को सन्तानका रुपमा छोरी पाइन। गाउँलेहरू मुखामुख गर्न थाले। आठ महिनामा कसरी बच्चा जन्मियो भनेर रमितालाई शंकाका दृष्टिले हेर्न थाले। रमेशलाई गाउँलेले नानाथरी कुरा लगाए। रमेशलाई रिस उठ्यो। ऊ भारतको नाेकरी छोडेर गाउँ फर्कियाे। उसले श्रीमतीसँग बच्चाको विषयमा नानाथरी कुरा गर्न थाल्यो। श्रीमतीलाई अरुको पेट बोकेको आरोप लगाउन थाल्यो। विदेशबाट आएको तिथि, मिति र रमितासँग यौनसम्पर्क गरेको मितिसमेत कोट्याउन थाल्यो। कति महिनामा बच्चा जन्मने गर्छ भनी स्वास्थ्यकर्मीसँग परामर्श लिन थाल्यो। बच्चाको अनुहार र आफ्नो अनुहार नियाल्न थाल्यो। कुनै पनि हालतमा सन्तुष्ट नहुने भयो। भगवानको प्रतिरुप ठानिने बच्चामा राक्षसी रुप देख्न थाल्यो। उसले रमितालाई सयौं पल्ट सोध्यो यो बच्चा कसको हो ? कसको पेट बोकेकी ? जति पटक भने पनि श्रीमतीको एउटै उत्तर आउँथ्यो यो बच्चा तपाईंको हो।
उसले रमितालाई यातना दिन सुरु गर्यो। कयौं पटक थप्पड लगायो। लौरीले हिर्कायो। कपाल लुछ्यो। शारीरिक यातनासँगै मानसिक यातना दिँदै प्रश्न गरिरह्यो, यो बच्चा कसकाे हो ? रमिताको पनि एउटै उत्तर हुने गर्थ्याे, तपाईंकै हो। मेरो हो भने मैले तिमीलाई भेटेको मात्र आठ महिना भयो। आठ महिनामा कसरी जन्म्यो, बाघ गर्जेझैँ गर्जिन्थ्यो रमेश। आठ महिनामा कसरी जन्मियो भन्ने उत्तर थिएन रमितासँग। तीलको पहाड बन्ने क्रम चलिरह्यो। उक्साउनेहरू सक्रिए भइरहे। फलस्वरुप रमेशले रमितासँग सम्बन्धविच्छेदकाे कुरा राख्याे। रमिताले आनाकानी गरिरहि। उसले कुनै पनि हालतमा सम्बन्धविच्छेद नगर्ने वाचा गरी। रमेश कानुन विज्ञसँग परामर्श गर्न थाल्यो। अहिलेको कानुनमा पुरुषले पनि सम्बन्धविच्छेद गर्न पाउने बुँदा लेखेको भेट्यो। त्यही बुँदाका आधारमा रमेशले रमितालाई विभिन्न आरोप लगाई अदालतमा मुद्दा दर्ता गरायो। भए नभएका प्रमाणहरू अदालतमा पेश गरिए। दुई वर्षसम्म मुद्दा लम्बिरह्यो। रमितालाई श्रीमानले मुद्दा दायर गरेपश्चात घरमा बसिखान नदिएपछि उनी माइतीमा गएर बसिन। अन्तमा एकदिन अदालतले सम्बन्धविच्छेद गर्ने बाटो खोलिदियो।
सम्बन्धविच्छेदपछि पनि रमिता आफूलाई सोध्नेहरूसँग भन्ने गर्थिन्, ‘बच्चा केबल रमेश कै हो। मैलै बाहिर कही कतै यौन सम्पर्क गरेकै छैन। उहाँ विदेशबाट आएपछि उहाँसँग नै यौनसम्पर्क भएको हो। यौनसम्पर्क नभई बच्चा भयो भने मेरो भन्नु केही छैन नत्र मैले कसैसँग यौनसम्पर्क गरेकी छैन।’
आखिर बच्चा हो कसकाे ? यो गम्भीर प्रश्न सबै बौद्धिक वर्गलाई सोधिदैछ। कानुन अन्धो छ। कानुनका आँखामा पट्टी बाँधिएको छ। कानुनले किताबमा कोरिएका शब्दहरू मात्र जान्दछ, व्यवहार जान्दैन। मानिसको पीडा जान्दैन। महाभारतकी कुन्तीलाई पनि यही नै आरोप थियो कि कर्णका बुवा को हुन ? कर्णलाई पनि अन्जान पिताको पीडा नभएको होइन। अन्जान पिता भएकै कारणले अर्जुनसँगको प्रतिस्पर्धा गुमाउनु परेको थियो। यस्ता कयौंन श्रृखलाबद्ध घटनाहरू छन्, जसका बुवाको जानकारी छैन। बुवाको विषयमा आमालाई थाहा हुनुपर्ने हो तर कतिपय अवस्थामा आमाहरू भन्न मान्दैनन। पहिलेको जस्तो त्यति जटिलता पनि त छैन अहिले। डिएनए परीक्षण गर्दा सहजै थाहा हुन्छ। तर, दूरदराजका बस्तीका मान्छेलाई कानुनले पनि भनिदिँदैन डिएनए परीक्षण गर्न।
रमिताले दोस्रो सन्तानको पिता पनि स्वयं उनका आफ्नै श्रीमान हुन भनेर भनिरहँदा र कानुनले होइन है भन्दा रमितालाई कति दुख्यो होला ? यदि साँच्चै नै गल्ती गरेकी होइनन् भने उनलाई सामाजिक न्याय दिनुपर्ने अहिलेको बाध्यता हो। रमितालगायत थुप्रै यस्ता नारीहरू होलान जो पवित्रताको कसीमा आफ्नो ईमान राख्दाराख्दै पनि दुखिरहेका छन्। यदि कुनै महिलाबाट गलत नै भएछ र परपुरुषबाट बच्चा जन्मिएछ भने पनि त्यो जन्मिने बच्चाको कहाँ दोष हुन्छ र ? ऊ जन्मन्छ जसरी भगवानहरू जन्मने गर्छन्, एक आदर्शपन, भोलापन, निष्कपट र सुन्दर। त्यही भगवानरुपी बच्चामा यसरी आरोप थुपारिन्छ कि मानौं ऊ आमाको पेटभित्र नै भयङ्कर अपराध गरेर आएको एक अपराधी हो। ऊ जब बुझ्ने हुन्छ तब मानसिक यातना झेल्न थाल्छ। आफ्नो सन्तान हो कि होइन भनेर उसका अनुहारका केस्रा केस्रा हेरिन्छ। यो अपराधिक चरित्र भएको दुनियाँमा रमिताजस्ता नारीहरूले सधैं यातनाको सिकार भैरहनुपर्छ, कहिले गल्ती नै नगरेर त कहिले अनजानमा गल्ती हुन गएर। यहाँ मान्छेहरू कानुनले लेखेको कुरालाई व्याख्य त गर्छन् तर कानुनभन्दा बाहिर पनि एउटा दुनियाँ छ भन्ने कुरा मनन गर्दैनन्। त्यो कानुनभन्दा बाहिरको दुनियाँको नाम हो, मानवीय दुनियाँ। मानवले हरेक मानवको पीडा र मानवता बुझ्ने हो भने रमिताजस्ता पीडाको सिकार भएका महिलाहरूलाई सामाजिक न्याय मिलोस्। मानवीय न्याय मिलोस्। भोलेपनमा रहेको शिशुको आत्मा भगवानतुल्य ठानियोस्। बस यत्ति कामना।