डडेल्धुरा बजारस्थित एउटा चिया पसल। उक्त चियापसलमा जम्काभेट हुन्छ एक जना जल्दाबल्दा माननीयसँग। जसलाई म सानैदेखि चिन्दै आएको छु। ती माननीयसँग केही समर्थन र केही बिमतिका बहसहरू दिनहुँ जस्तो चलिरहन्छन्। उनी एक फकीर जस्ता देखिन्छन्, निरपेक्ष फकीर। उनले समाजका लागि त केही गर्न सक्दैनन्। आफ्ना लागि पनि केही गर्न नसक्ने खालका छन्। त्यसैले मैले निरपेक्ष फकीर भनेको हुँ।
समाजमा पीरै पीर छन्। समाज र संस्कृतिका परिभाषाहरू रटेका उनको व्यवहार विज्ञानको पाटोको विषयमा एकलकाटे देखिन्छ। समाजमा थुप्रै बहसका बीचमा समाजवादका सिद्धान्तलाई धारा प्रवाह व्याख्या गरिरहेका उनलाई केही प्रश्नहरू सोध्न मन छ। जो वास्तविक व्यवहारसँग सम्बन्धित छन्। उत्तरका लागि प्रतिक्षारत त रहने छु तर उत्तर आउने सम्भावना देखिँदैन किनकि निरपेक्ष फकीरले घटनाक्रमको उत्तर दिन सक्दैन। केवल आत्मसन्तुष्टि लिनसक्छ/दिनसक्छ। तथापि उत्तरको प्रतीक्षा गरिरहेकै छु।
घटना न १ पुष्पा (नाम परिवर्तन), २० वर्ष भएकी केटी। बच्चपनादेखि अहिलेसम्म नै झोक्राएर बसेकी छन्। कसैसँग बोल्दिनन्। पाँच पटक बोलाएपछि एकपटक मात्र उत्तर दिन्छिन्। शरीरतिर ध्यान रहँदैन। कुनबेला महिनावारी हुन्छ, थाहा छैन। उनको शरीरको सरसफाइ आमाले नै गरिदिनुपर्छ। छोरीको उमेर दिन प्रतिदिन बढ्दै जाँदासमेत महिनावारीसम्मको ख्याल राख्न नसक्ने छोरीको रेखदेख गर्नु भनेको कम्ति चुनौतीको विषय होइन, एक आमाका लागि।
आमा आँखामा आँसु टल्पलाउँदै मेरो कोठामा पुग्छिन्। छोरीको उपचारको भिख माग्छिन्। उनी कुन हालतमा थिइन्, मलाई मात्रै थाहा छ तर बयान गर्न गाह्रो छ। आँखा रसाउँछन्। उनको पीडा पोख्दै गर्दा नजिकमा मान्छेले महान ठानेर सधैँ पुज्ने गरेका कुनै भगवान हुन्थे भने, ती पनि रुन्थे होलान्। पीडा पोख्न नपाउँदै तथास्तु भनी मुक्ति दिन्थे कि दिँदैन थिए, यो केवल कल्पनाको विषय भैहाल्यो।
अहिले या त भगवान नै छैनन् त्यस्ता पीडाका गाथाहरू सुन्ने, या त भगवान भएर पनि उनलाई फुर्सद छैन गरीबका पीडा सुन्न। आजकाल भगवान पनि स्वार्थमा बिलिन भैसके। हुनेखाने वर्गको कहानीमा रम्ने गर्छन् र मोजको दुनियाँमा बाँच्न चाहन्छन्। भोला रिजालका शब्दहरू याद आउँछ 'गरीबको चमेली रोई दिने कोई छैन'। पुष्पाकी आमाले आएर आफ्नो जीवनको बिलौना पोखेपछि मलाई असह्य पीडा भयो। उनको रोदनले मन छोयो, मस्तिष्क छोयो। उनीभित्रको पीडा आफूले बोक्नु पर्दाको कल्पना गर्न थालेँ। यदि आमाको सट्टा स्याहार गर्ने म भइदिएको भए, त्यो पीडा मैले सहनु पर्दो हो।
अकालमै श्रीमान गुमाएकी ती आमासँग न भविष्यको आश देखिन्छ, न त वर्तमानको खुसी। उनी केवल निरीह जीवन व्यतित गर्दैछिन्, छोरीको दर्दयुक्त घाउ मेटाउन। उनलाई सहयोग गर्ने यो दुनियाँमा कोही छैन। यौवनारुढ छोरीको मानसिक अवस्था गुम्दाको पीडा मेरा लागि कल्पना बाहिरको पीडा हो। यस्तो कुनै दुस्मनलाई पनि नहोस्।
सामाजिक सुरक्षाअन्तर्गत विपन्न नागरिक औषधि उपचारका लागि राज्यले निश्चित विमार भएकाहरूलाई एक लाखसम्म औषधोपचार निशुल्क गर्ने गर्दछ। टाउकोको चोट, फोक्सोको रोग, मुटुरोग, मृगौला, पार्किन्सस रोग, कलेजो रोग, स्पाइनल ईन्जुरी र क्यान्सर जस्ता घातक रोगहरूका लागि निशुल्क सिफारिस हुने सरकारको नीति नियममा उल्लेख छ। तर मानसिक रोग भएकाहरूको निशुल्क सिफारिस गरी विपन्नलाई राहत दिनुपर्छ भन्ने कानुनको अभावका कारण पुष्पा जस्ता मानसिक रोगी र उनकी आमा जस्ता निरीह विपन्न नागरिकहरू राज्यको स्वास्थ्य सेवाको पहुँचमा कहिले पुग्ने होलान माननीयज्यू? नीति नियम बनाउने माननीयज्युहरूलाई मेरो प्रश्न छ- पुष्पाले उपचार कहिले पाउँछिन्?
घटना नं.२ रमेश (नाम परिवर्तन) एक पार्टीको कार्यकर्ता। ग्रामीण रुपमा थर्काउन सक्ने कार्यकर्ताहरूलाई कैयौंले गाउँका लागि सुकिलो-मुकिलो नेता नै हो भनेर चिनिन्छन्। ग्रामीण आवाजहरू बन्द भएको अवस्थामा आवाजहरू घन्काउने कोही हुन्छ भने त्यो नै गाउँको गन्यमान्य नेता हुने गर्दछ। रमेश पनि गाउँमा सबैसामु ठूलो स्वरले आफ्नो आवाज बुलन्द गर्न सक्ने राजनीतिक र सामाजिक गरामा उम्रँदै गइरहेको नेता हुन्।
रमेश मेरो कार्यकक्षमा स्थानीय वडाको सिफारिस ल्याएर आउँछन्। उनकी श्रीमतीलाई थाइराइड भएकाले प्रदेश मन्त्रालयमा मेलै सिफारिस गरी दिनुपर्ने हुन्छ। उनकी श्रीमतीको रोगको सिफारिस गर्न कानुनले दिँदैन। उनकी श्रीमतीको रोग कार्यविधिले निशुल्क सिफारिस गर्नुपर्ने भन्दा बाहिरको रोग हो वा भनौँ एक सामान्य रोग।
मैले सिफारिस गर्न अस्वीकार गरेलगत्तै मेरै अड्डाको कुनै जिम्मेवार जनप्रतिनिधिको फोन आइहाल्यो। फोन उठाएर हलो भन्न नपाउँदै ठाडो निर्देशन सुनियो, ‘रमेशले भनेमुताविक गरी दिनू।’ उनको कुरा ठाडै इन्कार गर्छु। केही समयपश्चात तालकुदार मन्त्रीको फोन आउँछ। मन्त्रीले फोनबाटै भनिहाले, ‘उसको सिफारिस गरी दिनू। पैसा दिने तपाईंले हैन हामीले हो। सिफारिस गर्दैमा तपाईंको के नै जान्छ र?’
नेताको चाप र दबाव धान्न नसकेपछि मैले मन्त्रालयमा सिफारिस गरी दिएँ। १० दिनपछि सुन्नमा आयो, ती महामहिमले औषधि उपचार वापतमा एक लाख पचास हजार पाएछन्। हुँदै नभएको र कार्यविधिविपरीत पैसा दिइयो। राज्यको पैसा गरीबी उन्मुलनका लागि भन्दा कार्यकर्ता पोस्नका लागि नै उपयोग भएको देखियो। यस्तो विधि शास्त्रमा चलेको गाउँ, समाज र देशका नेता-कार्यकर्ताको व्यवस्थानमा को दोषी हो भन्ने उत्तर दिन गाह्रो भएको छ। यसमा दोष कसको छ माननीयज्यू?
घटना नं. ३ शमसेर (नाम परिवर्तन) का ६५ वर्षीय बुवा सिकिस्त बिमारी भई अस्पताल भर्ना भए। डाक्टरहरूले जाँच गर्दा असामान्य जस्तो लागेर धनगढी रेफर गरियो। धनगढीस्थित निजी अस्पतालमा भर्ना गरियो। ७ दिन आईसियुमा राखेपश्चात अप्रेसन गर्ने भनियो। आईसियुदेखि अप्रेसन पूर्वसम्म करिब ४ लाख सकियो। उनको अवस्था झनझन जटिल बन्दै गयो। बरेली रेफर गरियो। बरेलीको गंगाशरण अस्पतालको आईसियुमा भर्ना गरियो। ५ दिन आईसियुमा राख्दा ३ लाख भारतीय रुपैयाँ सकियो। ५औं दिनमा उनको देहान्त भयो। आफ्नै मसानघाटमा शव ल्याउन खोज्दा पुनः ५० हजार तिर्नु पर्यो। एकै पटकमा सबै स्वाहा भयो। उनीसँग केही रहेन। कंगाल भयो। उसलाई कङ्गाल बनाउनमा दोषी को थियो होला, माननीय ज्यू?
घटना नं. ४ केही दिन पहिला मात्र माननीय चन्द्र भण्डारीको घरमा विपत आइलाग्यो। ग्यासमा आगो लागेर आमाको देहान्त भयो उनलाई यएर एम्बुलेन्समा मुम्बैको बर्न केयर अस्पतालमा लगियो। उनको उपचार त्यहाँ हुँदैछ। उनको उपचारका लागि राज्य सक्रिय रह्यो। सबै अस्पताल खर्च राज्यका तर्फबाट तिरिदिन पहल हुँदैछ। त्यसको दुइदिन पछी त्यस्तै किसिमको घटना दाङमा घट्यो। ग्याँसकै आगलागिमा २ जना घाइते भए राज्य बेखबर रह्यो। आखिर माननीय चन्द्र भण्डारी र दाङका ती घाइते नेपाली नै हुन्। सबैको उपचार एकै दर्जामा हुनु पर्ने हो। असमानताको सीमा यति नाध्यो कि हुनेखाने र पहुँच भएका वर्गको राज्यमा अधिपत्य हुँदैछ तर आवाज विहीनहरू, पहुँच विहीनहरू अनागरिक जस्ता हुँदैछन्। यस्तो भेदभावको श्रृङखला कहिलेसम्म चल्छ माननीयज्यू ?
घटना नं. ५ माओवादी जनयुद्धताका गाउँगाउँमा झोला बोकेर हिँड्ने र हामीबाट नै जुत्ताचप्पल चन्दा माग्ने एकजना कार्यकर्ता क. सुवास (परिवर्तित नाम) जनयुद्धको अन्तिम समयतिर बिमारी हुन्छन्। हामीले चन्दा उठाएर उनको उपचारका गर्यौं। उनी निको भए। माओवादी पार्टी सरकारमा गएपश्चात उनी पहुँचको आधारमा सत्ताको समिपमा बस्न सफल बने। मन्त्री र सत्ताको चरम दुरुपयोग गर्न उद्दत भए। सुकिला-मुकिला दलालहरूको संगतमा परे।
१५ वर्ष पछाडि आजका दिनमा राजधानीमा आलिसानको घर पार्किङ्गमा राखिएको BMW कारसहित फुर्माइसको जीवन छ। म २७ वर्षे जागिर अवधिमा एक घर बनाउन नसक्ने अवस्था छु। ती महान कमरेडलाई १५ वर्षको दौरानमा यत्रो सम्पत्ति कहाँबाट प्राप्त भयो होला? आयश्रोत के थियो होला? के अकुत सम्पत्तिको अंसियार बन्नका लागि सबै आम जनताले क्रमश: नेता र कार्यकर्ता नै हुनुपर्ने हो?
उत्पादन प्रणाली र अर्थ प्रणाली दलालीकरणमा मात्रै लाग्ने हो? यसो हो भने देशका कृषक र श्रमिकहरूको अस्तित्व त खाडीको ५० डिग्री तापक्रममा मात्रै हुँदोरहेछ भन्ने बुझ्नुपर्ने भयो। यो देशमा कृषकले उत्पादन गरेको खाना र श्रमिकको हातका फोडाहरू बेचेर दलालहरू पुँजी जति आफैं कुम्ल्याउनेमा व्यस्त छन्। मैले चिनेका ती कमरेडले यस्तो गरे भने सबै पार्टीका सयौं नेता कार्यकर्तामा यस्तो अकुत सम्पत्तिको आडम्बरता छ। यो सम्भव कसरी भयो होला माननीय ज्यू?
घटना नं. ६ एउटा पालिका सरकारले असल नियतका लागि जनताको जीवनस्तर उकास्न र आर्थिक समृद्धिका लागि रक्सी जुवातासदेखि सबै अवैध धन्दाहरू बन्द गर्ने निर्णय गर्यो। त्यो निर्णय सबै वडाहरूमा लागु भयो। पालिका सरकारकै मुखिया आफ्नो पालिकाको सिमानामा अर्को पालिकामा बसेर अवैधरुपमा रक्सी भित्र्याउने कार्य गरिरहे। जनताहरूलाई प्रलोभनमा पारेर सस्तो र गुणस्तरहीन रक्सीको चंगुलमा फसाएर जनताको आर्थिक उत्पादन सकेर गरीबमा झन् गरीब बनाउने कार्य गरिरहे। रक्सी सेवनकै कारण भीरबाट लडेर मृत्युको मुखमा परेका गंगादाइ (नाम परिवर्तन) को उक्त घटना पनि बिर्सेका छैनन् जनताले। सबै गरिबीको उपजमा ती समाजका अग्रज भनाउँदाले सरकारी रकममा लुट मच्चाइरहे। चाहे उपभोक्ता समिति हुन् वा कोटेसन ठेक्का।
निरीह गरीबहरूका मुख बन्द भए, दिमाग लठ्ठिए। जनता भनेका त निरपेक्ष र असल र इमानदार व्यक्ति हुन्। जनता पानीको वहावजस्तो समाजमा बगिरहन्छ सधैँभरि। जनतालाई समाज र सामाजिक परिवेशले जता डोर्यायो, त्यतै जाने गर्छन्। समाज र नेतृत्व राम्रो भयो भने जनता समृद्ध हुने हुन्। समाज र नेतृत्व खराब भयो भने जनता सधैँ गरीब र ओझेलमा पर्ने गर्छन्। त्यो पालिकामा भएको त्यही हो। नेता भनेका जनताको आर्थिक समृद्धिका लागि बनेका हुन् भन्ने मान्यता बिर्सेर जनताको ढाडमा टेकेर आफ्नो समृद्धिका लागि मुर्खतापूर्ण कार्यमा लम्केकाहरूको बाहुल्यता छ यहाँ। यो परम्परा सधैँभरि कायम रहे, देश कहाँ पुग्ला? जनता कहाँ पुग्लान् माननीयज्यू?
समाजमा विकृत मनहरू धेरै छन्। विकृतिका जराहरू गहिरा छन्। हरेक प्रकारका विकृतिले मान्छेलाई पालैपालो अँगालिरहेछ। समुदाय र पाठशालामा विकृत शिक्षा लादिएको छ। आजकाल प्रत्येक मानिसलाई धन कमाउने सजिलो बुद्धि चाहिएको छ। दुःख नगरेरै विलासिता र ऐयासी गर्न लायक सम्पत्ति चाहिएको छ। नेतालाई भने समाजमा कङ्गाल भएका मानिसहरूको समृद्ध मालिक हुनु परेको छ।
हाम्रो देशका माननीयहरूले बनाएको छिद्रै छिद्र भएको कानुनलाई टेकी कालो भए पनि कमाउनका लागि अकुत धन चाहिएको छ। यो प्रथा जबसम्म रहन्छ, आर्थिक समृद्धि त केवल गाउँदेखि केन्द्रसम्मका नेताहरूको मात्र हुने देखिन्छ। प्रेम आचार्य जस्ता अझ धेरै जनताहरूले जल्नुपर्ने दिन बाँकी नै छन्।
त्यसैले गाउँ गाउँमा खोक्रा भाषणहरू छाँटेर जितेका नेताहरूलाई सुझाव छ- गाउँदेखि सहरसम्म समृद्धिको कल्पना नगर्दा नै ठिक होला। तपाईं समृद्धि बनाउँछु भन्ने कल्पनाका साथ चुनावी मैदानमा जानुभयो होला। जित्नु पनि भयो। अब बग्नोस् जता पापीहरू र पिपासुहरू बग्दैछन्। तपाईं पनि यी यस्ता घटनाहरूप्रति अनभिज्ञ र हुनुहुन्न। समाजका वर्गदुस्मन दलालबारे अज्ञानी हुनुहुन्न। तर पनि सबै प्रश्नको उत्तर दिन किन सक्नु हुन्न। के तमीसँग ती प्रश्नहरुका उत्तर छन् माननीयज्यू ?
लेखकलाई प्रतिक्रिया दिनुहाेस्: gnbista@gmail.com