सुदूरपश्चिमकै सबैभन्दा अन्तमा पर्ने जाँत अर्थात मेला थियो सुवाकोट मेला वा दुर्गा जाँत। जुन यस वर्ष माघ २२ गते पर्न गएको थियो। धेरै वर्ष भयो उक्त जाँतमा सरिक हुने अवसर जुटेको थिएन। भगवतीको पूजा आराधाना गर्ने अवसर जुटेको थिएन। यस पटक जानुपर्छ भन्ने निधोको साथ हिँडियो।
सुवाकोटमा पुग्दा साँझको ६ बजिसेकेको थियो। चतुर्दशीको दिन दुर्गा भगवतीको पूजा गर्न मन्दिरमा सबै तयारी पूरा भइसकेको थियो। भगवतीको नासो चढाएर पूजा आराधानामा बसे। गाउँका सबै दाजुभाइहरूसँग भेटघाट भयो।
पूजा सकिएपछि मेलाबाट फर्किएर घरमा आइपुगेँ। घर सुनसान थियो। घरको दैलो उघारेँ। यताउति हेरेँ। सबै घर सुनसान छ। भएका भाँडाकुँडाहरू डोकोभित्र लुकाएर कपडाले ढाकेर राखिएका थिए। भकारीहरू सबै छेपेर राखिएका थिए। शायद भकारीभित्र अन्न थियो होला तर त्यो हेरिनँ। माटोले पोतेका बाहिर र भित्रका स-साना कोठाहरू, हावा नछिर्ने गरी बनाइएका साना झ्यालहरू निकै बेर नियालिरहेँ।
दुईटा कोठामा खटियामाथि विगतमा मैले ओढ्ने, ओछ्याउने गरेका कपडाहरू थिए। भित्री कोठामा एउटा टेबल थियो। टेबलमा दुई थान पुराना काला बाकसहरू, एक पुरानो सुटकेस। एकमाथि अर्को खप्ट्याएर राखिएका। घरका महिलाहरू देउतै हुँदा रहेछन्। घरका एकएक सामानहरू मिलाएर राख्न सिपालु।
घरका सामानहरू मिलाएर राख्न नजान्नेमा म जति हुस्सु मान्छे कोही छैन होला यो दुनियाँमा। कुनै सामान राख्यो भने त्यो सामान एक महिनापछि आफैँले खोज्दा समेत भेट्टाउदिनँ। यता कोठामा कपडादेखि किताबहरू अव्यवस्थित फालिएका हुन्छन्। श्रीमतीले कयौं पटक सम्झाउँछिन्, कयौं पटक गाली पनि गर्छिन्। सामान मिलाउनै आउँदैन। अब त उनले भन्न नै छोडिसकिन्। सानैदेखि लागेको बानी परिवर्तन गर्न मुस्किल पर्दो रहेछ। उसो त पुरुषको तुलनामा महिलाहरुमा सामान मिलाउने खुबी गज्जब कै देखिन्छ नै।
पुराना घरका कोठाको माथि समान राख्ने बनाइएको हुन्छ, जसलाई डोटेली भाषामा फलेणी भन्ने गरिन्छ। त्यसमा गोरु, भैसींलाई लगाउने पुराना घाणा (घण्टी), बुवाको तम्बाकु खाने सुल्पा र हुक्काचिलिम समेत राखिएका थिए। बुवाले धर्तीबाट बिदा लिएको दुई दशक बितिसक्दा पनि उहाँले प्रयोग गर्ने हुक्का चिलिम र सुल्पाले उहाँको सम्झनामा भावनाको दीप जलाइरह्यो। तम्बाखु खानु हुँदैन भनेर बुवासँग झगडा गरेको त्यो पल सम्झनामा आइरह्यो।
अश्रुपूर्ण नयनले कोठामा भएका सामानहरू नियालिरहेँ। भित्तामा टाँसिएको फोटो देखेँ। जुन २०५४ सालतिर काठमाडौंको एक जना साथीले मलाई हुलाकबाट मेरो जन्म दिनमा पठाएको गिफ्ट थियो। त्यो सम्झना पनि मानसपटलमा आइरह्यो। परिवारका १३ सदस्य एकै ठाउँमा उभिएको रंगिन तस्बिर नजिकै थियो। जुन २०५६ सालमा खिचाइएको थियो। फोटोमा खुब हेरेँ केबल कान्छा बा देखिनँ। २०५२ सालमै धर्ती छोडिसक्नुभएका कान्छा बा त्यहाँ देखिने कुरै भएन।
त्यो बेलासम्म हामी भाइबहिनी कसैको बिहे भएको थिएन। दुख सुख गरी काम गथ्यौं। मिठो मसिनो खान्थ्यौ। भाइबहिनीहरूलाई शिक्षा दिनुपर्ने जिम्मेवारी मेरै काँधमा थियो। घरमा जागिर गर्ने अर्थात दुइपैसा कमाउने म मात्रै थिएँ। परिवारका सदस्यहरू ममाथि आश्रित थिए।
एक पटक कपडा ल्यायो भने सबै भाइबहिनीहरू र बुवाआमाहरूलाई ल्याउनुपर्थ्याे। प्रायः होलेसेलमै कपडा ल्याउँथेँ। कपडाहरू एकैनास तर साइज मात्र फरक गरी ल्याउँथेँ। कपडा ल्याएको बेला सबै खुसी हुन्थे। खुसीयालीमा घरमा माणा (चामलको रोटी) पाक्थे। भाइबहिनी दुई घण्टा हिँडेर स्कुल पुग्थे। बेलुकी आएर अझ घरको काम गर्थे। दुख र सास्ती त उनीहरूलाई पनि निकै थियो। दशै जना भाइभहिनीहरू मिलेर बस्थे। झगडा गर्दैन थिए। घरमा पाहुनाहरू आए, क्षमताअनुसारको अतिथि सत्कार गरी हाल्थे। चाडपर्वमा गाउँकै दाजुभाइहरू आउँथे।
माओवादी युद्धकालमा माओवादीका कार्यकर्ताहरू निकै नै आउँथेँ। सबैलाई खाना खुवाउने काम घरका सदस्यहरूकै हुन्थ्यो। सयौं जनालाई निसंकोच खाना बनाउँथे। त्यतिबेला भाइबहिनीहरू सानै थिए तर पनि जिम्मेवार थिए। २०५९ मा मृत्युपूर्व बुवाले मलाई अन्तिमपटक दिनुभएको निर्देशन अर्थात अर्ती-उपदेश सम्झिएँ, ‘भाइबहिनीलाई नछोड्नू, तिनलाई शिक्षा दिनू, ज्ञानी बनाउनू र आफू पनि गलत कर्म नगर्नू। अनि बहिनीहरुको इज्जतका साथ विवाह गरी दिनू’। तस्बिरमा परिवारका सदस्यका साथै देखिनुभएका बुवाको मुहार कल्पेर आँखा रसाइरहे।
बुवाको वर्षदिनको कर्म सकेपश्चात मेरो विवाह भएको थियो। बिहेपछि मेरो बसाइँ सरेर डडेल्धुरा सदरमुकाम पुगेँ। सबै भाइबहिनीहरूलाई पढ्नका लागि सदरमुकाम पुर्याएँ। समयको प्रवाहसँगै विस्तारै बहिनीहरूको विवाह हुँदै गयो। भाइहरू आ-आफ्नो काममा तल्लीन भए।
एकदिन हजुरबुवाका पालाको पुरानो घरको छत भत्कियो। बुवाका सपनाहरू भत्किएझैँ ठानेर सोही ठाउँमा सानो घर बनाएँ। सोही सानो घर पनि छोडेर कान्छीआमा तराईतिर झर्नुभयो। हामी बाहिर-बहिरै छौं। गाउँमा निरीह बनेको घर छ। घरभित्र उस्तै निरीहपनका पुराना भाँडाकुँडा छन्।
त्यो रात विगतमा सुत्ने गरेको उही पुरानो खटियामा पल्टिएँ। ओढ्ने बिछ्याउने कपडामा अलिअलि ढुसी गन्हाएको थियो तथापि बेग्लै आनन्द थियो। एक अलौकिक सुगन्ध थियो। २०/२५ वर्षपछिको एक सुखमय बिस्तारा, जसले पुरानो भएर पनि मेरा जीवनका यादहरू सँगालेको थियो। त्यही भएर त्यो राति निदाउन सकिनँ। मनमा थुप्रै कुरा खेल्न थाले। रहरले हुन् वा बाध्यताले कयौंले गाउँ छोडिसके। अझै पनि गाउँ छोड्ने क्रम जारी नै छ। उहिलेको समयमा गाउँ छोड्ने एक/दुई जना मात्र हुने गर्थे तर अहिले प्राय मान्छेहरू गाउँ छोड्न बाध्य भएका देखिन्छन्। यसो सोच्छु, ‘बाध्यता पनि होला। आखिर, मैले पनि त गाउँ छोडेकै हो।’
गाउँमा विद्यालय भएर पनि गुणस्तरीय शिक्षा छैन। गुणस्तरीय औषधि उपचार गर्ने थलो छैन। आयआर्जनको श्रोत छैन। जुवा र रक्सी खेती मौलाउँदै गएको छ। युवाहरू भारतमा चौकीदारी गर्न गएका छन्। तिनका श्रीमतीहरू आफ्ना सन्तानको शिक्षाका लागि सदरमुकाममा भाडाको कोठामा बसेर नीजी विद्यालयमा महंगो शुल्क तिरिरहेका छन्। गाउँका शिक्षकहरू राजनीति गर्न र एकअर्कालाई लडाइ-भिडाइ आफ्नो फाइदाका लागि अनेकौं धन्दा अपनाइरहेका छन्।
हुनेखाने वर्गले हुँदा खाने वर्गलाई दुःख दिएकै छन्। गाउँमा पावरअनुसार योजना ल्याउने, काम नगरी बिल पेश गरी पैसामा मात्र कुम्ल्याउने दलालहरू च्याउँ उम्रेझैँ उम्रेका छन्। गाउँ केही सीमित व्यक्तिहरूको मठ्ठीभित्र कैद छ। गणतन्त्र आएपछि त झन् गाउँको यस्तो विकृत रुप निकै नै देखिन्छ। उत्तर आधुनिक पुँजीवादमा यस्तै हुने गर्छ भनि सुनेको थिएँ, साँच्चै रहेछ भन्ने महसुस भइरहेको छ। पैसा जति केही मुठ्ठीभरका मानिसहरूको कब्जामा रहन्छ। निरीह जनता ठगिएकै छन्।
पहिला-पहिला गाउँमा समाज थियो। सामाजिक संस्कार थियो। एकआपसमा सहयोगी भावना थियो। भावनाको कदर हुन्थ्यो। गाउँको बीचमा कचहरी लगाएर बस्ने बूढापाकाहरूको समूह हुन्थ्यो। हाँसो ठट्टा गरेर एकअर्कासँग जिस्किने बूढापाकाहरूका क्रियाकलाप हेर्नुको छुट्टै आनन्द हुन्थ्यो। गाउँका बूढापाकाहरू प्रायले सुल्पा वा हुक्कामा तम्बाखु तान्ने गर्थे। घरघरमा गाईभैंसी पालेकै हुन्थे। प्राय सबैको घरमा सितन भइ नै रहन्थ्यो। समस्या पर्दा एकअर्कासँग ऋण सापट मागी इमान्दारीपूर्वक समयमै बुझाउने परम्परा थियो। अर्मपर्म चलेकै हुन्थे।
अहिले आएर पुरानो सामाजिक संस्कार, रीतिथिति सबै हराउँदै गए। मानिसहरू आडम्बरी भए। एकअर्कामा सेवाभावको सोच नै रहेन। मध्यरातसम्म मनमा पल्टनका सिपाहीझैँ लस्करै आइरहे विगतका यस्तै यादहरू। मेलै १५ वर्ष लडिबुडी गरेको माटोको सुगन्ध लिँदै कल्पना र सम्झनाको दुनियाँमा हराउँदै गर्दा कुनबेला निन्द्रा लाग्यो थाहै भएन।
बिहान उठेर बाहिर निस्किँदा घर अगाडिको धारामा पानी बगिरहेको आवाज कानमा गुञ्जिन थाल्यो। घर वरिपरि हेरेँ। चारैतिर सिस्नु पलाएको थियो। झार उम्रिरहेकै थियो। सिस्नोको पाउडरले सुगर निको बनाउँछ भन्ने कतै सुनेको थिएँ। सिस्नुको धागोबाट कोटको कपडा बनाउन मिल्ने कुरा पनि नसुनिएको हैन। गाउँमा सिस्नु प्रशस्त मात्रामा पाइन्छ। नेपालको पूर्वी भूगोलमा वा विदेशतिर भएको भए यसको पाउडर उत्पादनदेखि कपडा बुन्ने कार्यको थालनी भइसक्थ्यो होला। तर, यहाँ त्यसै खेर गएको छ। गाउँमा जनचेतनाको अभाव र गरीबलाई गरिबीबाट मुक्त गराउने यस्ता सम्भावनाहरूका बारेमा न राज्यले सोचेको देखिन्छ, न त स्थानीय अगुवाहरूले नै।
निरन्तर बगिरहेको धाराको पानी तरकारी खेतीका लागि उपयोगी बन्न सक्थ्यो। तर, उपयोगमा आउन सकेको छैन। उत्पादनको सम्भावना छ तर भएका स्रोतहरूको समेत व्यवस्थापन गर्न नसक्दा मानिसहरु खासै काम गरिरहेका देखिँदैनन्। यो लाचारीपन हो वा आर्थिक चेतनाको अभाव हो थाहा छैन। एउटा कहावत सुनिन्थ्यो, ‘सुनको कचौरामा भिक माग्ने मानिस यसै देशमा छन्।’ कहिलेकाहीँ त्यो कुरा कुनै कहावत नभएर यथार्थता हो झैँ लाग्दछ।
समय अभावले होस् वा मानवीय जनशक्तिको अभावले यस्ता आयआर्जनका कार्य गर्नमा हामी कसैको पनि ध्यान गएको देखिँदैन। कलकल बगिरहने सोही धारामा नुहाएर मन्दिर गएँ। दिउँसो मेलाको रमाइलो हेरियो। बेलुकीपख त्यस्तो सुन्दर, आनन्ददायी भूमि छोडेर परेलीमा टल्पलाइरहेका आँसु लुकाइ फर्किएँ उही दलाल पुँजीवादबाट जर्जर रुपमा फसेको समाजविहीन समाजमा।