‘मिन्झारी’ले सबै उमेर समूहका पाठकलाई तान्छ

म स्वभावले अलि अल्छि छु। तर, कुनै कुरा मनपर्छ भने त्यो काममा अलि बढी नै चासो दिन्छु। अर्थात्, मन लगाउँछु।

याे एकादेशकाे कुरा हाेइन। एकदिनको कुरा हो। चैत मासको टन्टलापुर घाममा म अल्छिएरै बसेको थिएँ। त्यसै बेला मेरो हातमा पर्‍यो एउटा उपन्यास। जसलाई मैले त्यो साँझ चार बजेबाट पढ्न सुरु गरेर रातिको दुई बजे नै पढी सिद्धाएँ।

किताब ल्याउँदा सोचेको थिएँ अलि-अलि गर्दै पढौँला। तर, जब पढ्न सुरु गरेँ खाना खान पनि बिर्सेँ। समय के भएछ भनेर पनि सोचिनँ। पढी सकेर मात्र समय हेरेको रातकाे २:०० बजेको रहेछ।  सोचिराख्नु भएको होला त्यस्तो कुन उपन्यास रहेछ ? महेन्द्र उपाध्यायद्वारा लिखित 'मिन्झारी'। यही उपन्यास हो मैले पढेको।

'मिन्झारी' थारुहरुको मुल देवता बस्ने घर रहेछ। त्यसलाई हामी थान भन्छाैं। मिन्झारीकाे देउता बाघ रहेछ। जसलाई गाईको दुधको भोग चढाउनुपर्ने रहेछ। यही उपन्यास पढेर बुझेँ मिन्झारीको अर्थ।

मिन्झारी पढिरहँदा कुनै चलचित्र हेरिरहेछु जस्ताे लाग्याे। आँखै अगाडि तस्बिरहरु झल्किन थाले। किनकी यसमा प्रेम छ। रोमान्स छ। गीतहरु छन्। आफ्नो हक र अधिकारको लडाइँ छ। कथाको सुरुवात पनि अनौठो छ, अन्तिममा पनि अब के हुन्छ होला ? भन्ने खुल्दुली लागिरहन्छ। अर्थात्, यसमा क्लाइमेक्स पनि छ। त्यसैले लाग्यो कुनै चलचित्र हेरिरहेछु।

पढी सकेर पनि भोलिपल्ट मन परेका केही अंशहरु फेरि दोहोर्‍याएर पढेँ। कुरा के लुकाउनु मलाई मन परेको भनेको शिव र केशरीको सम्बन्धको प्रेमसम्बन्धको विषय हाे। यसमा यस्ता चाख लाग्ने कुराहरु त धेरै नै छन्। जस्ताे रामशंकर भैया। कस्मेटिक बैनी, सचिव कुलमान सिंह, लब खड्का, कुमारमान शाहीका कुराहरु। यिनीहरुले समाज बाेल्छन्। समाजकाे चरित्र बाेक्छन्।

उपन्यासकाे मुख्य पात्रको रूपमा शिव देखिन्छ। ऊ युवा अवस्थाकाे छ। अवश्य पनि युवा अवस्थामा रहेका हरेक युवा युवतीलाई मनपर्ने भनेकै प्रेमसम्बन्ध हो। म पनि त युवा अवस्थाकाे परेँ।

लेखकले यसमा मुख्य पात्रलाई बच्चा उमेरमा आफूले गरेका केही नयाँ काम, देखेका ठाउँहरुको बारेमा आफ्ना साथीहरूलाई सुनाउने र उनीहरूको प्रतिक्रिया सुनेर खुसी हुनेदेखि लिएर ठुलो भएर गर्नुपर्ने संघर्षको बारेमा लेखेका छन्।

उपन्यासमा समाजमा निच देखाइने धेरै कुराहरुलाई उजागर गरिएको छ। जस्तोकि कमलरी वा कमैया प्रथा, दलित समुदायप्रति कथित माथिल्लो जातकाले देखाउने हेपाह प्रवृत्ति आदि।

दलितसम्बन्धी कानुन आएयता केही सुधारहरु त भएका छन् तर पूर्णरुपमा पालना भएको जस्तो चाहिँ मलाई लाग्दैन। खैर म त उपन्यासको बारेमा लेखिरहेको थिएँ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधताले भरिपूर्ण राष्ट्र हो। त्यसैले लेखकले यस उपन्यासमा कल्लुलाई एउटा अंशमा ईसाई खडा गराएका छन्।

मलाई अझै यसमा राम्रो लागेको भनेको प्रत्येक प्रसंगको सुरुवातमा गरिएका बड्को र अंकल बीचको संम्बाद हाे।

बड्को:- ‘ठुलो हावाहुरी आएको थियो। मेरी मालिक्नी एक्लै छाउगोठमा सुतेकी थिइन्।’ 

अंकल:- ‘अनि के भयो बड्का ?’ 

बड्को:- ‘भनें त, मेरी मालिक्नी एक्लै छाउगोठमा सुतेकी थिइन्।’

रामशंकर भैयाको डायलग, ‘राजा खाए गाँजा........।’ सचिव कुलमान सिंहको परिचय, ‘नमस्कार, म आगे से कुलमान। पिछे से सलमान खान। रक्सी खाइसकेपछि......।’ र, यसमा भएका देउडा गीतहरूले पाठकलाई तान्न भरपुर प्रयत्न गरेका छन्।

तर, मलाई एउटा मन नपरेको कुरा के भने, म पात्र अर्थात् शिव सुरुवातमा केशरी जातकी केटीबाहेक अरु कसैलाई राम्राे देख्दैन थियाे। जब उसको कुमारीत्व तोड्न सकेन तबबाट उसलाई अन्तिमसम्म पनि ‘हिजडा’ नै भनिरहेछ।

उपन्यास पढ्दै गर्दा के‌ केशरी साँच्चिकै ‘हिजडा’ नै हो ? बड्को एक्कासी कहाँबाट आयो ? त्यो घरबाट गएदेखि कहाँ थियो ? के फेरि कल्लु कमैया बस्न लागेको हो ? भन्ने प्रश्नहरु मनमा थिए। लेखकले यसकाे दाेस्राे भाग पाे लेख्छन् कि भन्ने पनि लागेकाे थियाे।

तर, एचए पढेकी केशरीले शिवलाई इग्नाेर गर्नुकाे कारण उसले यात उपचार गराइ नभए ऊ ‘हिजडा’ नै हाेइन। सधैं कालाे मात्रै लगाउने बड्काे अन्तिममा आउँदा सेताे लगाएर आएकाे हुन्छ। याे एक विद्राेह हाे। कल्लु हेर्दा उपन्यासकाे सबैभन्दा निरीह पात्र देखिन्छ। तर, उसैले बेलबेला माैन विद्राेहहरु गरेकाे छ।

जस्ताेकि, कमैया मुक्ति घाेषणा हुँदा ऊ अरु कमैया जस्ताे मालिककाे घर छाेडेर हिँडेन। मालिकलाई गाली गरेन। तर, पढ्ने महत्त्वकांक्षा प्रस्तुत गरेर कमैयाबाट कामदार हुन सक्याे। घरकाे चुलाे बाल्ने र पढाइ अगाडि बढाउने कुटनीतिक खेलमा ऊ सफल भयाे। त्यसैले लेखकले मिहिन रुपमा उसलाई विद्राेही पात्रकाे रुपमा उभ्याउने काेसिस गरेका छन्। याे निकै सह्रानीय कुरा हाे।

उपन्यासकाे प्रस्तुति सरल छ। भाषा सलल बगेकाे छ। यसमा पश्चिमकाे लवज छ। पूर्वलाई याे कुरा गाह्राे लाग्न सक्छ। भाषा र लवज त ठाउँपिच्छे फरक-फरक हुन्छ नै। हामीलाई सेताे घर्तीकाे लवज पनि सुरुसुरुमा अप्ठ्यारो लागेकाे थियाे। त्यसकारण आञ्चलिकलाई ग्रहण गर्न सक्नुपर्छ।

लेखकले कमजाेर देखाएका पात्र पनि कुनै न कुनै रुपमा बलिया देखाएका छन्। जस्ताेकि केशरी सुरुमा आफ्नाे प्रेम पाउन जस्ताे सुकै सम्बन्ध राख्न तयार हुन्छे। तर, शिवलाई परेकाे बेला ऊ गुत्पाङ्ग देखाउनसमेत अनेक खालका प्रश्न गर्न सक्षम भएकी छ।

याे मेराे उमेर समूहका पाठकलाई तान्ने साहित्य भए पनि यसले सबै पुस्ताका पाठकलाई आकर्षण गर्न सक्छ भन्ने लाग्छ। जस्ताेकि एउटा पक्की भान्साकाे कल्पना। श्रीमानकाे लास अगाडि बसेकी कल्लुकी आमा अर्थात् छाेट्कीकाे चाहना र बजैमा देखिने कठाेरपना र काेमलता। त्यसैले मिन्झारी सबै उमेर समूहका पाठकलाई तान्न सक्ने उपन्यास हाे। यस्ताे उपन्यासका लागि लेखकलाई साधुवाद।

प्रकाशित मिति: : 2023-04-15 12:44:00

प्रतिकृया दिनुहोस्