भाइरल ट्राफिक दाइ: सडकमा राम्राे काम, टिकटकमा वाहावाही

उमेश थापा

काठमाडौं

पछिल्लाे समय ट्राफिक प्रहरीले आफ्ना कर्तव्यहरु इमान्तारितापूर्वक पूरा नगरेका गुनासाहरु ठुलाे मात्रामा आउन थालेका छन्। ट्राफिक प्रहरी आफ्नै कामका कारण आलाेचित हुनु परेकाे छ। चोक-चोकमा ट्राफिक प्रहरी नहुँदा चालकले जथाभावी सवारी साधन हुँइकाउने गर्छन्, जसका कारण दुर्घटनासमेत निम्ति रहेका छन्।

ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्नेको संख्या पनि उत्तिकै छ। कतिपय चोकमा तीनदेखि पाँच जनासम्म ट्राफिक खटिन्छन् तर पनि सवारी व्यवस्थापन गर्न निकै चुनौती छ।

सवारी साधनको संख्या दिनहुँ बढिरहेको छ। तर, त्यसको तुलनामा ट्राफिक दरबन्दी छैन्। काठमाडौँ उपत्यकामा मात्र नभई अन्य जिल्लामा पनि ट्राफिक व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको छ। भएका सिमित ट्राफिक प्रहरीले पनि राम्रोसँग जिम्मेवारी पूरा गर्न सकिरहेका छैनन्।

यसरी सिंगो ट्राफिक संगठन नै आलोचित बनिरहेको बेला महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी सहायक हवल्दार धिरेन्द्रकुमार अवस्थीको काम यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ। आफ्नो जिम्मेवारीलाई गम्भीर रुपमा लिने उनको चाैतर्फी तारिफ भइरहेको छ।

चाबहिल, बौद्ध, जोरपाटी, सुन्दरीजल र साँखु सडकखण्ड सबैभन्दा व्यस्त सडक खण्डमध्ये एक हो। सडक साँघुरो भएकाले त्यहाँ ट्राफिक व्यवस्थापन गर्न निकै कठिन छ।

पैदलयात्री र सवारी साधनको उत्तिकै चाप हुने सडकमा ड्युटी गर्न झनै कठिन छ। तर, अवस्थी ती सबै चुनौतीलाई पार लगाउँदै काममा खटिएका छन्। सडकमा निस्किसकेपछि उनलाई आफ्नो कामबाहेक अरु केही याद आउँदैन्।

अन्य ट्राफिकले टाइम पास गरिरहँदा उनी हात हल्लाउँदै र सिठ्ठी फुक्दै सवारी र पैदलयात्रीलाई वारपार लगाइराखेका हुन्छन्। पहिले पहिले ट्राफिक भन्ने बित्तिकै एकदमै गाह्रो कामको रुपमा लिइन्थ्यो।

किनकि, ट्राफिक प्रहरी एकदमै थकाउने काम हो। दिनभरि सडकमा उभिनुपर्ने भएकाले घामपानी र धुँवा-धुलो भन्न पाउँदैनन्। तर, ट्राफिक प्रहरीले आफ्नो ड्युटीलाई हलुका रुपमा लिँदा केही समययता सडक दुर्घटना हुने क्रम बढेको छ। ट्राफिक नियम उल्लङ्घन गर्नेहरुको लर्को लागेको छ।

पानी परेको समयमा सडकमा ट्राफिक नै देखिँदैनन्। चालकहरुले सोही मौकाको फाइदा उठाउँदै मनलाग्दी ठाउँबाट सवारी गुडाइदिन्छन्, जसले गर्दा घण्टौं जाम हुने गरेको छ।

अझ सिसीटिभी जडान नभएका ठाउँमा ट्राफिकलाई धेरै असहज छ। हाकिमको नजर नपर्ने र भीआईपी नबस्ने क्षेत्रका ट्राफिकलाई ड्युटी गरे पनि भो नगरे पनि भो। तर, यो सँग अवस्थीलाई कुनै सरोकार छैन्। घाम चर्कियोस् कि पानी दर्कियोस् उनले आफ्नो जिम्मेवारीसँग खेलबाड गर्दैनन्।

सामाजिक सञ्जालमा भाइरल बनेका उनको वाहवाही गर्नेको लर्को लागेको छ। सबै ट्राफिक प्रहरीले उनीजस्तै आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरिदिए सवारी दुर्घटना, ट्राफिक जाम र नियम उल्लङ्घनमा धेरै कमी आउने भनाइ धेरैले राखेका छन्।

हाल उनको कामको सर्वत्र प्रशंसा भइरहेको छ। फुर्व दोर्जे मोक्तानले तीन दिनअघि हालेको भिडियोमा कमेण्ट गर्नेहरुको ओइरो लागेको छ। कान्छीले लेखेकी छिन्,‘न हावा भन्नु छ न पानी भन्नु छ, सधैं खटिनुपर्छ। सलाम छ ट्राफिक प्रहरीलाई।’

त्यस्तै पल्लवी भुसालले भनेकी छिन्,‘घाम/पानी धुलो-धुँवा केही नभनि हाम्रो सुरक्षामा खटिन्छन्। हामीले नियमविपरीत काम गरेर राजस्व काट्दा पनि कति सराप्छौं। कति जोखिम मोलेर आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ।’

प्रकाशित मिति: : 2023-04-13 16:30:00

प्रतिकृया दिनुहोस्