मिडियाले रास्वपाबारे भ्रम फैलाइरहेका छन्: बिनिता कठायत (अन्तर्वार्ता)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिए पनि सरकारमा समेल छैन। ‘बा’हरुले देश चलाएकाले देशमा सुशासन कायम भएन, नीति, विधि, प्रद्धति कायम भएन भन्दै निर्वाचनमा हाेमिएको रास्वपा त्यही ‘बा’हरुसँग मिलेर सरकारको जोड–घटाउमा ढोक्सा थापिरहेको छ।

उपनिर्वाचनको नतिजापछि सरकारमा जाने बताइरहेको रास्वपा जनताहरुले सत्ता मोहित भएको आरोपसमेत लगाइरहेका छन्। केही दिन पहिले मात्र रास्वपा एक सांसद मन्त्रीपदको लागि दुई करोडको ‘बार्गेनिङ’ गरेको अडियो सर्वजनिक भएपछि ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने प्रष्ट भएको छ। उनीहरुको सत्तामा देखाएको लोलुपता, विश्वासको मत दिए पनि सरकारमा नजानुका कारण र अहिले चर्चामा रहेका रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको विषय लगायतका समसामयिक विषयमा कुरा गरेका छौँ।

प्रस्तुत छ, बिएल नेपाली सेवाका लागि रास्वपाकी सांसद बिनिता कठायतसँग ध्रुब बस्यालले गरेको कुराकानीको सम्पादित अंश:


राष्ट्रिय स्वतन्त्र पार्टी सुशासनका कुरा गर्दै संसद छिर्‍यो, संसद छिरेको तीन महिनामै अरु दलभन्दा फरक नभएको जस्तो देखिएको छ नि ?

जनताको भावना रास्वपा सरकारमा नगएको भए हुने भन्ने नै थियो। त्यो हामीले बुझेका छौँ। तर, जनताले सरकार सञ्चालनका लागि कुनै एक दललाई मत नदिएकाले रास्वपा पनि देशको चौंथो ठुलो दल भइसकेपछि सरकारमा गएको हो। र, सरकारमा सहभागी भएर जनतालाई सेवा दिनुपर्छ भन्ने उदेश्यले उपप्रधानसहित गृह मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय र स्वास्थ्य राज्य मन्त्रालय लिएर हामी सरकारमा सामेल पनि भएका हौँ।

छोटो समय सरकारमा रहे पनि हाम्रा मन्त्रीहरुले सक्ने जत्ति राम्रो काम गरेको यहाँहरुलाई अवगत नै छ। तर, पछि हाम्रो सभापति रवि लामिछानेको नागरिकता र राहादानीको कुरा निस्किएपछि हामीले लिएको सबै मन्त्रालयबाट राजीनामा दियौँ। र, सरकारबाट बाहिरिए पनि सरकारलाई निरन्तरताको लागि विश्वासको मत भने यथावत राख्यौँ। तर, हामी पुराना दलभन्दा फरक नै छौँ।

तपाईंको पार्टीका सभापतिको पासपोर्ट विवाद लुकाउन रास्वपाले सरकारलाई विश्वासको मत दिएको हो भन्ने चर्चा छ नि ?  

विश्वासको मत र राहादानीको विषय फरक हो। यस्ता विभिन्न आरोप लगाउनेहरु आफ्नो आरोपको जिम्मेवार आफैं हुनुहुन्छ। हाम्रो पार्टी जुनसुकै विषयमा संसदीय दलको बैठक बसेर मात्रै निर्णय गर्छ। सभापतिले आफ्नो व्यक्तिगत विषयको समाधान आफैं गर्छु भन्नुहुन्छ। आफ्नो व्यक्तिगत विवादले अरु सांसदहरु विवादमा पर्नु हुँदैन भन्ने मान्यता उहाँले राख्नुहुन्छ।

बजारमा पासपोर्टसँग विश्वासको मत साटेको कुरा कसरी आयो ? विपक्षीहरु र मिडियाले भ्रम फैलाइरहेका छन्। हामी पार्टीको बैठकमा बसिरहेका हुन्छौँ, हामीले निर्णय नगर्दै मिडियाले लेखिसकेको हुन्छन्। त्यसैले त्यस्ता भ्रमात्मक कुराहरु जसले गर्छ उनैले जानुन्।

यसरी व्यतिगत विवादसँग पार्टीको कुरा जोड्नु राम्रो होइन। सभापतिले हामीलाई जनताको कुरा लगेर सदनमा जानुस् भन्नुहुन्छ। व्यत्तिगत विवादको कुरामा नअल्झिनसमेत आग्रह गर्नुहुन्छ। आरोप लगाउनेहरु नै आरोपको जिम्मेवार हुनुहुन्छ।

पार्टीका बैठकमा त सभापतिका मात्रै कुरा सुनिन्छ रे त, तपाईंहरुका कुराको सुनुवाइ नै हुँदैन भन्ने सुनिन्छ ?

रवि लामिछाने हाम्रो पार्टीको अभिभावक हो। किनभने, उहाँको १० वर्षदेखिको लगानीका कारण आज रास्वपा यो स्थानमा छ। सभापतिको योगदान र जनताको प्रेम, सद्भाव, विश्वासले नै पार्टी आज यो स्थानमा छ। आज म सांसद छु, यो रविजीको कारणले हो।

त्यसैले हामीले कुनै निर्णय गर्नुभन्दा पहिले अभिभावक भएका कारण सभापतिलाई सोध्नुपर्छ, त्यो स्वभाविक हो। जुन सभापतिले भनेर सरकार छाडेको भन्ने कुरा छ, त्यस्तो होइन। सरकार छाड्ने निर्णय पार्टीले गरेको हो। नयाँ दल, नयाँ सांसद भएकाले सभापतिको लिडरसीपमा काम गर्ने कुरा स्वभाविक रहन्छ।

दोस्रो पटक पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभयो तर सरकारमा जानुभएन, किन ?

हामी देशको सुशासन र नीति सुधारका लागि राजनीतिमा आएका हौँ। त्यसैले सरकारलाई विश्वासको मत दिनुको कारण भनेको सरकार अडिग होस् भन्ने हो। अन्य दलजस्तै हामी सरकारमा सत्ताका लागि मात्र जादैनौँ। अझै उपनिर्वाचन भइसकेको छैन। उपनिर्वाचनपछि सरकारमा जाने नजानेबारे पनि छलफल गर्छौँ।

...भनेपछि सभापतिले निर्वाचन जितेर आएपछि उहाँकै नेतृत्वमा सरकारमा जान्छ रास्वपा ?

सरकारमा जाँदा सभापतिको नेतृत्व हुन्छ भन्न मिल्दैन। सभापति उपनिर्वाचन जितेर आउनुहुन्छ भने अन्य दुई वटा क्षेत्रमा पनि उम्मेदवारहरुले जितेर आएपछि हाम्रो संसदीय दलको बैठक बसेर सबैको विचारलाई सुनेर कसको नेतृत्वमा सरकारमा जाने त्यतिबेला नै थाहा हुन्छ।
उपनिर्वाचनपछि तपाईं कुन मन्त्री बन्ने ?

सांसद भएपछि जुन मन्त्रालय सम्हाल्ने जिम्मेवारी आए पनि सम्हाल्न सक्नुपर्छ। स्वास्थ्य मन्त्रालय आउँदा भने मेरो दाबी हुँदैन किनभने स्वास्थ्यका बारेमा काम गरेका थुप्रै सांसदहरु हुनुहुन्छ। जो जुन क्षेत्रको बारेमा सक्षम छ त्यही मन्त्रालय लिएर जाँदा राम्रो हुन्छ। म मन्त्री हुने कुरा सोचेको पनि छैन। त्यतातिर मेरो ध्यान पनि छैन। म सांसदको रुपमै मेरो क्षेत्रको स्वास्थ्य, शिक्षालाई कसरी सुधार गर्ने भन्नेतिर ध्यान छ।

...भनेपछि तपाईंसँग अहिले नै मन्त्रालय सम्हाल्ने क्षमता छैन ?

होइन, म सांसद भएका कारण प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्षमता पनि छ। सांसद हुनु प्रधानमन्त्री हुन सक्ने क्षमता राख्नु पनि हो। आफ्नो अनुभवका आधारमा मन्त्री बने मात्र राम्रो काम गर्न सकिन्छ। मलाई तत्काल नै मन्त्री बन्नु छैन। अहिले त जे गर्दा पनि जस मिल्दैन। गर्दा महत्वकांक्षा बढी भयो भन्दिन्छन्, नगर्दा पनि क्षमता छैन भन्दिने प्रवृत्ति छ।

तपाईंको पार्टीमा मन्त्री पद त निकै महंगो रहिछ, ढाकाकुमारसँग स्वास्थ्य मन्त्री बन्न २ करोड मागियो रे, कि तपाईं पनि सभापतिलाई पैसा दिन नसकेर पहिला मन्त्री बन्न नपाएको त होइन ?

सांसद ढाकाकुमार श्रेष्ठको चर्चा चलिरहेको बेला यो प्रश्न स्वभाविक नै हो। तर, हाम्रो पार्टी मेरो कुरा गर्दा मसँग कसैले एक रुपे पैसा पनि मागेको छैन। मलाई मन्त्री बन्न यत्ति पैसा देऊ भनेको पनि छैन। कुरा रह्यो, सांसद ढाकाकुमार क्षेष्ठको मलाई त्यति धेरै जानकारी छैन।

पार्टी कार्यलयबाट कसैले पैसा माग्यो होला भन्ने पनि लाग्दैन। किनभने, म सांसद बनिरहँदै गर्दा मसँग कसैले पैसा मागेको छैन। पैसा तिर्नु परेको छैन। ढाका कुमारको कुरा त आइसक्यो अब यसलाई कसरी समाधान गर्ने छलफल पनि भैसक्यो।

छानबिन हुँदैछ दोषी देखिए कारबाही हुन्छ। अरुको पार्टी जसरी उहाँलाई मिनाहा हुँदैन। उहाँले पाउनुपर्ने सजाय पार्टीले दिन्छ। अनि जसले पैसा तिर्न सक्ने उसलाई अफर गर्ने भए मलाई किन आएन अफर ? पार्टी भित्रबाट मन्त्री बन्न पैसाको अफर भने आउँदैन।

ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग बार्गेनिङ गरेका अडियो आइसक्यो कसरी होइन भन्न सक्नुहुन्छ ?

दुर्गा प्रसाईंको बारेमा मलाई कुनै टिप्पणी गर्नु छैन। मलाई मेरो पार्टी र सभापतिप्रति विश्वास छ, पार्टीमा यस्तो हुँदैन। सभापतिसँग अहिले मात्र होइन पहिल्यैदेखि संगत गरेकाले राम्रोसँग चिन्छु। हाम्रो संगठनमा आएको भोट ‘आशावाला मत’ हो, कसैले पैसामा किनेर ल्याएको होइन।

संसदमा आफ्नो जिम्मेवारी पूरा गर्न सकेकोजस्तो लाग्छ ?

हामी सांसद बनेर आएको केही समय मात्र भएको छ। अरुले के गरे त्यो कुरा नगरौँ। हामीले हाम्रो जिम्मेवारी निभाएकै छौँ। किनभने, जनताको आवाज बोकेर हामी सदनमा बोलेकै छौँ। संदनभित्र भएकाहरुले हाम्रो उत्तर नदिएकाले यस्तो समस्या आएको हो। हामी हरेकदिन बहस गर्छौँ। संचारमन्त्री र नागरिक उड्यन मन्त्री नियमित उपस्थित हुनुहुन्छ। बाँकी मन्त्रीलाई देख्नसमेत कठिन रहेको पनि छ।

संसदमा रहेका सबै युवा किन मिलेर अगाडि जान सक्दैनन् ?

यो निकै दुःखलाग्दो विषय हो। सदनको नियम भनेको पक्ष र प्रतिपक्ष हुन्छ। त्यो भित्र पक्ष वा विपक्षले बालेका राम्रो कुराको सर्मथन गर्न नसक्ने अवस्था छ। समग्र सदनभन्दा बाहिरको कुरा गर्दा हामी जुम्लाबाट ४ जना सांसद छौँ। सबैले बसेर कर्णालीका ठुला योजनालाई कसरी अगाडि लिन सकिन्छ ? यो पटकको बजेटमा एउटै आवाज हुनुपर्छ भन्ने सहमति भएको छ।

हामी जुम्लाका चेला/चेली हौँ। विकासका कुरामा हामी पार्टी भुलेर काम गर्छौँ। हामी जुम्लाबाट विभिन्न क्षेत्रमा काम गरेको अनुभवी सांसदहरु छौँ। कर्णालीका दुख हामीले बुझेका छौँ। के गर्ने भन्नेसमेत हामीले बुझेकाले पाँच वर्षमा काम गर्ने भनेरै लागि परेका छौँ। तीन महिनामा अहिले नै केही गरेन भनेर मुल्याङकन नगरेकै राम्रो होला।

उपनिर्वाचनको तयारी रास्वपाले कसरी गरिरहेको छ ?

तपाईंहरु पनि उपनिर्वाचनको माहोल देखिरहनु भएकै छ। मेरो पार्टीले तीन ठाउँमै उम्मेदवारी दिएकाले तीन ठाउँ नै जित निश्चित छ। तीन क्षेत्रमध्ये म चितवन मात्र पुगेको छु। जनता हाम्रो उम्मेदवारप्रति पोजेटिभ नै हुनुहुन्छ।

अन्य दलहरुले खुट्टा तान्न खोजे पनि हामीप्रति जनता पोजेटिभ (सकारात्मक) छन्। रविलाई हराउन विभिन्न काण्डहरु निकालेर हराउन खोजिएको छ। तर, सम्भव छैन, रविजीलाई षड्यन्त्रपूर्वक फसाउन खोजेको जनताले थाहा पाइसकेको छन्, जितवनका जनतासँग भेट्दा लाग्छ– जित निश्चित छ।

प्रकाशित मिति: : 2023-04-12 20:20:00

प्रतिकृया दिनुहोस्