वि.स. २०७९ बिदा हुन अब केही दिन मात्र बाँकी छ। वैशाख १ बाट सुरू भएको यो सालको चक्र चैत ३१ मा सकिन्छ।
पाठकहरूसम्म यो स्तम्भका अक्षरहरू आइपुग्दा चैत २८ गते भइसकेको हुनेछ। त्यसपछि अरू तीन बिहान आएपछि २०७९ का अरू कुनै बिहान यो धरतीमा फेरि आउने छैनन्। अर्थात्, विक्रम संवत् २०७९ हामीबाट सदाका लागि बिदा हुने छ।
२०७९ बिदा हुन लागेको यतिबेला यसको वर्ष–मूल्यांकन सुरू भएको छ। वर्षभरि विविध क्षेत्रमा भएका सकारात्मक एवं नकारात्मक पक्षको सांगोपांगो लेखाजोखा गर्ने यो एक किसिमको सनातनी नै हो। अर्को शब्दमा भन्दा २०७९ साल इतिहासमा कसरी उल्लेख हुन्छ, त्यसका लागि गरिने यो एक किसिमको इतिहासको टिपोट नै हो।
२०७९ साल इतिहासमा केही चुनिँदा घटनामार्फत सम्झिने हो। त्यस्ता घटनाको सूची बनाउँदा स्थानीय निर्वाचन र संसदीय तथा प्रदेशका आवधिक निर्वाचनलाई शीर्षपंक्तिमा राख्नुपर्ने हुन्छ। नेपालमा गणतान्त्रिक संविधान जारी भएपछि दोस्रोपटक भएका यी निर्वाचनमा नेपाली जनताले आफ्नो सार्वभौम मतमार्फत मन बदले।
पाँच वर्षअघि वैचारिक कित्ताका आधारमा वामपन्थीमय बनाइदिएको देशलाई यसपटक ओलीको अहंकारले झालेमाले बनाइदिए। पहिला वामपन्थीहरू राजनीतिक स्थायित्वका लागि भन्दै गठबन्धन बनाएर जनतामाझ गएका थिए।
जनतालाई पनि विचारका आधारमा मत बनाउन सजिलो भयो। राजनीतिक स्थायित्वमार्फत समृद्ध नेपाल, सुखी नेपाली बनाउने भनेपछि जनताले पनि हो मा हो मिलाउँदै उनीहरूलाई प्रचण्ड बहुमत दिए। तर, ओलीले जहाज डुबाइदिए।
तर, दुर्भाग्य राजनीतिक स्थायित्वमार्फत देशको आर्थिक विकासका लागि दिइएको त्यो बहुमत बाँदरका हातमा नरिवलजस्तै भयो। उनीहरूले जनताको त्यो आदेशलाई दुत्कारेनन् मात्र, उल्टो गठबन्धन हुँदै बनेको नेपाल कम्युनिष्ट पार्टीलाई तीन टुक्रा बनाइदिए। एक टुक्रो एमालेका रूपमा सत्ताबाट बढारियो भने दुई टुक्रा माओवादी र एकीकृत समाजवादीका रूपमा दक्षिणपन्थी कांग्रेससँग सत्ता गठबन्धनमा रहेर निर्वाचनमा गए।
गैरवैचारिक आधारमा बनेको सत्ता गठबन्धनलाई मात्र बहुमत नदिएका हैनन् कि राजावादी राप्रपालगायतका बाँकी दलसँग उस्तै गैरवैचारिक तालमेल गर्ने प्रतिपक्षी एमालेलाई जनताले दुत्कारीदिए।
पाँच वर्षअघि आफूले अनुमोदन गरेका दलको मैमहत्तावादलाई साइजमा ल्याउन जनताले राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीजस्ता नयाँ पार्टीलाई विकल्पका रूपमा उभ्याए। यसअघिको सानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ठूलो बनाइदिए।
त्यतिमात्र गरेनन्, पहिलो पार्टी एमालेलाई दोस्रो र यसअघि दोस्रो भएको पार्टी कांग्रेसलाई अंकगिणतमा पहिलो पार्टी बनाइदिए। माओवादी तेस्रो स्थानमा याथवाथ रहेपनि कमजोर बनाइदिए।
जनताले यो अंकगणितमा कुनै पनि पार्टी र चुनावी गठबन्धनलाई बहुमत नदिएर त्रिशंकु संसद् बनाइदिए। एक किसिमले भन्ने हो भने यसअघिको आम निर्वाचनमा स्थिरताका लागि मतदान गरेका जनताले यसपटक अस्थिरताका लागि मतदान गरे।
वास्तवमा यो समस्याको समाधान थिएन, समस्यालाई अरू गहिर्याउने कदम थियो। त्यसका प्रष्ट संकेत नयाँ संसद्को मधुमासमै देखिसकिएको छ। यो क्रम संसद्को पूरा कार्यकालभरि नै अरू जटिल हुँदै अगाडि बढ्ने छ वा बीचमै संसद् भंग हुने अवस्था पनि आउन सक्ने छ। यसबारेमा अहिले नै यसै भन्न सकिने छैन।
जे भएपनि यसबाट मुलुकमा राजनीतिक अस्थिरता अरू बढ्ने छ। यो अस्थिरताले मुलुकको सार्वभौमिकता कमजोर हुने छ, छिमेकीलगायतका शक्ति राष्ट्रहरूको डंका बज्ने छ।
यसबाट राजनीतिक प्रणालीप्रति नै प्रश्नहरू उब्जने छन्। विकासको गति अवरुद्ध हुने छ। जनतामा अरू आक्रोश, निराशा र कुण्ठा बढ्ने छ। प्रकारान्तरमा, मुलुक २०७९ को निर्वाचनले दिएको गलगाँड बोकेर अरू पाँच वर्षका लागि अप्रिय यात्रामा निस्कनुपर्ने छ।
२०७९ सालमै नेपालमा दलीय व्यवस्थामाथि नै प्रश्नचिन्ह लगाउने काम पनि भयो। खासगरी स्थानीय निर्वाचनमा केही सहरी जनता स्वतन्त्र उम्मेदवारको पक्षमा उभिए। राजधानी काठमाडौँलगायत पूर्वको धरान र सुदूरपश्चिमको धनगढीजस्ता महत्वपूर्ण सहरका मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए।
एक किसिमको आवेगले सिर्जना गरेको यो परिस्थितिका कारण आज ती सहर अभिभावकविहीनजस्तै भएका छन्। दलीय मूल्य, मान्यताबिनाका स्वतन्त्र मेयरको लोकरिझ्याइँ र मनोमानीले गर्दा तिनीहरू मूलधारबाट एक्लिएका छन्। आफूले विकल्पका लागि रोजेका मेयरहरू अपेक्षाअनुसार खह्रो उत्रन नसक्दा उनीहरूप्रति वितृष्णा बढेको छ भने मेयरहरूमा दिक्दारी र मनोमानी बढेको देखिन्छ।
वास्तवमा दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवार विकल्प नै होइन। संविधानदेखि सारा विधि–विधान, प्रणाली र प्रक्रिया दलीय हुने अनि कुनै एक निकायको नेतृत्वमा दलविहीनलाई पुयाएर सारा समस्याको समाधान खोज्ने, यो भनेको ‘टाउको दुखेको दबाई नाइटामा लगाई’ भनेजस्तै हो। त्यसैले, नेपालका केही सहरी मतदाताले वितृष्णा देखाउन गलत प्रयोग गरेर पछुताउनुपर्ने अवस्था सिर्जना भएको वर्षको रूपमा पनि २०७९ इतिहासमा अंकित हुने छ।
राजनीतिकै कुरा गर्दा वर्ष २०७९ एक विवादास्पद राष्ट्रपतिको छवि बनाएर विद्या भण्डारी बिदा भएको वर्षको रूपमा पनि सम्झिनेछ। उनले संसद्ले दुई दुई पटक संसदीय प्रक्रिया पूरा गरेर प्रमाणीकरणका लागि पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई तुहाइदिए।
संविधानको संरक्षक भनिएको राष्ट्रपति पदबाट आफ्नै संरक्षणमा रहेको संविधानको गला निमोठेको यो अप्रिय घटना नेपालको इतिहासमै कालो अक्षरले लेखिने छ।
भण्डारीका उत्तराधिकारीका रूपमा रामचन्द्र पौडेलको कार्यकाल पनि यही वर्ष सुरू भएको छ। नेपालको गणतन्त्रलाई नै प्रश्नको घेरामुनि पुर्याएर बिदा भएका भण्डारीको अलोकप्रिय काम–कारबाहीबाट पाठ सिकेर अघि बढ्लान् भन्ने जनअपेक्षामा उनी पनि खासै खह्रो उत्रन सकेका छैनन्।
पहिलो गाँसमा झिंगा भनेझै उनी हिन्दू राजाजस्तै दर्शनमा लिप्त देखिएका छन् भने शीतलनिवासलाई कांग्रेसी भर्तीकेन्द्र बनाएर राष्ट्रदोहनमा लागेका छन्। अझ, त्यसमा पनि सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरेर लाजशरम सबै पचाइदिए।
उनको यो सुरूआती कुकर्मले बिहानीले दिउँसोको संकेत गर्छ भन्ने अर्थमा खासै सुखद् संकेत गरिरहेको छैन। यसरी नै अगाडि बढ्दै जाने हो भने उनी त अलोकप्रिय हुन्छन् नै, नेपालको गणतन्त्र पनि अरू प्रश्नको घेरातिर धकेलिन्छ। मान्छेहरूले अहिले नै प्रश्न गरिरहेकै छन्, राजाजस्तै राष्ट्रपति हुने हो भने नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहका सन्तानलाई नै राष्ट्रप्रमुख किन नबनाउने ?
यो वर्ष राजनीतिक प्रणालीप्रति प्रश्न नै प्रश्नहरू तेर्सिए। दलीय व्यवस्थामाथि नै प्रश्नचिन्ह लगाउने काम पनि भयो। जनतामा आक्रोश, निराशा र कुण्ठा बढ्यो। प्रकारान्तरमा २०७९ को निर्वाचनले दिएको गलगाँड बोकेर अरू पाँच वर्षका लागि अप्रिय यात्रामा निस्कनुपर्ने छ।
राजनीतिकै कुरा गर्दा एमाले अध्यक्ष ओली सत्ता नजिक पुगेर पनि टाढा पुगेका छन्। राजनीतिक जीवनको उत्तराद्र्धमा रहेका ओली आफ्नो राजनीतिक बिदाइ सकारात्मक नोटका साथ लिन चाहन्छन्। तर, उनी आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने रोगबाट बाहिर निस्कन नसक्दा राजनेता हुने मौका लगातार गुमाइरहेका छन्।
अहिले उनी एक किसिमले भन्ने हो भने विक्षिप्त अवस्थामा पुगेका छन्। उनका असंगतिपूर्ण बोली र व्यवहार त्यही तथ्यको साक्षी बसिरहेका छन्। त्यसको प्रभाव आउने वर्षहरूमा अरू विषाक्तरूपमा देखिँदा त्यसको असर देशलाई पनि पर्ने सम्भावना देखिन्छ।
वर्ष २०७९ मै प्रभावशालीरूपमा नेपाली राजनीतिमा उदाएका रवि लामिछाने यही वर्ष अप्रत्यासितरूपमा गृह मन्त्रालयको बागडोरसहित उपप्रधानमन्त्री भए। ४२ दिनपछि उनकै भाषामा अनागरिक हुँदा उनले धेरै गुमाएर नाटकीय रूपमा सडकमा पुगे।
संसद्को चौथो ठूलो दलका सभापति अझै पनि अनेकखाले पर्दा हालेको जीवन बाँचिरहेका छन् र कुनै पनि बेला पर्दाफास हुँदा नांगेझार हुने अवस्थामा पुग्नेछन्। अहिले उनी सत्तासँग सौदाबाजी गरेर दोहोरो राहदानीको मुद्दा सरकारीस्तरमा मुल्तबीमा राख्न सफल भएका छन्। अदालतमा यो मुद्दा जारी भएकाले कुनै पनि बेला गम्भीर समस्यामा पर्ने सम्भावना ज्यूँकात्यूँ छ।
रवि आफ्नै विवादास्पद विगतका कारण नेपालका लागि समस्या हुन्, समाधान होइनन्। उनी एक किसिमको बन्सो हुन्। यो थाहा हुँदाहुँदै पनि नेपालका ठूला दलहरू किन यो बन्सोको संरक्षण र खेती गरिरहेका छन्, बुझिनसक्नु छ। भोलि आफ्नै पार्टीलाई खुम्च्याउने यो बन्सोको संरक्षण गर्न छाडेको दिन रवि अरू केही समयका लागि समस्या भए पनि अन्ततः एक आयाराम गयाराम नै हुनेछन्। वर्ष २०७९ रवि लामिछानेका रूपमा एउटा राष्ट्रिय समस्या थपिएको वर्षका रूपमा पनि इतिहासमा टिपोट हुने छ।
बालेन शाह, हर्क साम्पाङहरू पनि नेपालको मूलधारे राजनीतिका सानातिना थुम्के समस्या नै हुन्। दलीय व्यवस्थाको मेसिनमा फिट नहुने यी निर्दलीय पूर्जाहरू लोकरिझ्याइँका लागि धेरै तलसम्म गिर्ने भएकाले समस्या सिर्जना हुने हो।
सिंहदरबारको फोहर नउठाएर बालेनले आफ्नो सक्कली अनुहार देखाउन थालेका छन्। नजिककाहरूले नै ब्यसनी भन्ने गरिएका बालेनको सनक उनका लागि त समस्या हो नै, जननिर्वाचित मेयर भएकाले संघीय राजधानी सहर र सिंगो व्यवस्थाकै लागि पनि समस्या हो। बालेनका अनुपातमा हर्क खासै समस्या हैनन्, यद्यपि उनको उटपट्याङपन पनि आफैंमा समाधान चाहिँ हैन।
यी त भए राजनीतिक समस्या। आर्थिक समस्या, नैतिक मूल्य र मान्यतामा ह्रास र सामाजिक विचलनको गति पनि २०७९ मा अत्यन्तै तीव्र बन्यो। नेपाल चरम आर्थिक दुरावस्थामा रहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपरिरहेको खुलासा स्वयं जिम्मेवार व्यक्तिहरू गरिरहेका छन्।
सेलिब्रेटी बलात्कार, बढ्दो भ्रष्ट आचरण, उत्ताउलो आधुनिकता डरलाग्दो अवतारमा देखिएको छ। विप्रेषणका लागि लाठेहरू विदेशिँदा उनीहरूका जीवनसाथी र परिवारमा देखिएको सामाजिक विचलन अनुमानबाहिर पुगेको छ।
देश छाडेर विदेशिनेको संख्या बढ्दो छ। यसरी विदेशिनेहरू नेपाली नागरिकता त्यागेर विदेशी नागरिक हुने क्रम पनि उसैगरी बढेको छ। किशोर तथा युवाहरू विद्यार्थी बनेर उतै बसोबासको व्यवस्था गर्ने मन बनाएर विदेशिँदै छन्। ब्रेनब्याक आँखातरि मर भएको छ भने ब्रेनड्रेन बढ्दो छ।
यी सबै परिस्थितिलाई सम्बोधन गर्नुपर्ने मुलुकको राजनीति बिटुलिएको छ। राजनीतिक दलहरू सिद्धान्त, मूल्य र मान्यतबाट स्खलित हुँदैछन्। नेताहरू विश्वासको कशीमा खह्रो उत्रन नसक्दा आफ्नै उचाइ घटाएर बामपुड्के हुँदैछन्।
राज्यका सारा संयन्त्रहरू डेलिभरी गर्न असमर्थ भएर बेकामे हुँदैछन्। उनीहरूको निष्पक्षता र क्षमतामाथि लाग्ने प्रश्नचिह्नहरूको संख्या र आकार बढ्दैछ। सरकार त बेथितिको कारखानाजस्तै भएको छ।
प्रकारान्तरमा राज्य असफल हुने दिशातिर तीव्रगतिमा हुँइकिरहेको छ। २०७९ साल इतिहासमा जनताले गल्ती गर्दा देशले नोक्सान भोग्नुपरेको वर्षका रूपमा अंकित हुनेछ।
प्रस्तुत पृष्ठभूमिमा नेपाल विक्रम संवत् २०८० मा प्रवेश गर्दैछ। पृष्ठभूमिलाई मात्र हेर्दा नेपाल र नेपालीका लागि वर्ष २०८० मा खासै सुदिनको वर्ष होलाजस्तो छैन।
तर, पनि एउटा प्रिय कामनाचाहिँ गर्नैपर्छ, त्यो के हो भने परिस्थितिले नाटकीय मोड लिओस्, नेपाल समृद्ध र नेपाली सुखी हुने बाटोतिर मोडियोस्। घरदेशमा समृद्धि छायो र सुखका दिन आए भने स्वभावतः परदेशमा बस्ने नेपालीले पनि सत्यम्, शिवम्, सुन्दरमको अनुभूति गर्न पाउनेछन्।