‘झोला बोकेर कतै गइहालौँ जस्तो लाग्छ’

हेमन्त विवश

काठमाडौं

सपना, कल्पना र यथार्थका घुम्तीहरुले नै अडेस लगाइरहेका हुन्छन् मानवरुपी जिन्दगीलाई। त्यतै भेटिन्छन् अनुभव, अनुभूति र लेखनका विषयवस्तुहरू। यसरी लेखनका विषयवस्तुहरू खोज्दै जाने स्रष्टाहरुमध्ये एउटा नाम हो, नवराज लम्साल पनि। पछिल्लो समय धर्म, संस्कृति, दर्शन र इतिहासका पाटाहरु अटाउने हेतुले लेखन क्षेत्रमा तल्लीन देखिन्छन्, उनी।

एक समय थियो। जतिखेर रेडियो नेपाल र उनी एकअर्काका पर्यायवाची जस्तै बनेका थिए। लेखनकै लागि भनेर अनिवार्य रुपले अवकास पाउन समय बाँकी छँदै उनले रेडियो नेपालको कार्यक्रम शाखा निर्देशकको जागिर पनि छोडिदिए।

कर्ण, धरा र अग्नी गरी तीनवटा महाकाव्य प्रकाशित गरिसकेका लम्सालका तीनवटा कविता सङ्ग्रह र दुईवटा गीत सङ्ग्रहसमेत प्रकाशित छन्। तीन सयको हाराहारीमा विभिन्न गायकगायिकाका स्वरमा उनका गीतहरू स्वरबद्ध भई गुञ्जिरहेका छन्। २०७८ सालको मदन पुरस्कार पाउन सफल उनको अग्नी महाकाव्य नेपाली काव्य जगतमा एक नौलो प्रयोग हो।

नेपाली काव्यमा दलितका कथा व्यथाहरू निकै कम मात्रामा लेखिएका छन्। लेखिएकामा पनि भुलेर क्षणिक समयका लागि खोल्सातिर झुल्केको घाम जस्ता सामान्य प्रसंग मात्र उठाइएका छन्। लम्सालकै शब्दमा भन्नुपर्दा केवल दयामायाले लेखिएका छन्।


दुःखका चाङ छिचोलेर पी.एचडी. गर्ने गौरीको सपना


अग्नी महाकाव्यमा भने लुकेर बसेको एक गर्विलो इतिहासको पाटो देखाइएको छ। जहाँ उनले दलितको कथा मात्रै बोकेका छैनन्, एउटा सिङ्गो इतिहासलाई मनन् गर्न बाध्य तुल्याएका छन्। ऐतिहासिक दस्तावेजको रुपमा समेत हेर्न सकिने गरी पाठकसामु ल्याएका छन्, अग्नीलाई। जसभित्र नेपाल एकीकरणमा अहम भूमिका निर्वाह गरेर पनि कतै चर्चा नपाएको आरनको कथा छ। शालीन, सभ्य र सुन्दर प्रकृतिको विद्रोही चेत छ। अनि त्यो जीवन र मानवताको पाठ सिकाउने ज्ञानरुपी सुन्दर आरन छ।

मकवानपुरस्थित विश्वकर्माको आरनबाट तयार भएको जेठी तरबारले गोरखाको कालिका मन्दिरमा प्रवेश पाउँछ। त्यही तलबार पृथ्वीनारायाण शाहको नेपाल एकीकरणको आधार बन्छ। दलमर्दन शाह त्यही तरबार बोकेर पहिलो पटक नुवाकोटमा युद्ध गर्न पुग्छन्। नेपाल एकीकरणको बाटो खोल्ने अस्त्र बनिदिन्छ, त्यही तलबार र विश्वकर्माको उही आरन। तथापि कतै नामसम्म उच्चारण हुँदैन ती विश्वकर्माको।

लम्साल जीवन जिउने क्रममा देखापरेका भाव, अभाव, दुःख, पीडा, प्राप्ति, अप्राप्ति बोकेका ती दिनलाई सप्रेम सम्झनुपर्छ भन्ने मान्यता राख्छन्। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०५९ मा प्रथम बनेका उनले मुलुकभित्र र बाहिर थुप्रै ठाउँमा आफ्ना रचना पस्किसकेका छन्।

रेडियो नेपालको कार्यक्रम लेखबेंसीमार्फत सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका गाउँबस्तीका आवाज सुनाएका उनले बीबीसी नेपाली रेडियोमा १० वर्ष कला-साहित्य संवाददाता बनेर नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा काम गरे। बिहानीको शुभारम्भसँगै लयबद्ध ढंगले गीताका श्लोक उच्चारण गरी धार्मिक कार्यक्रम सञ्चालन गर्नेदेखि २०४६ को प्रजातन्त्रपछिको रेडियोको चर्चित कार्यक्रम ‘घटना र विचार’, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ‘जनतासँग प्रधानमन्त्री’ र पछिल्लो समयमा ‘मधुवन’ लगायतका लोकप्रिय कार्यक्रममार्फत आफ्नो कला र गला दूरदराजका भुइँ मान्छेदेखि सिंहदरबारका सम्राटहरूसामु पुर्याए। राउटे, सिमान्तकृत, आदिवासी, जनजाति, दलित सबैको आँगनमा पुगेर तिनका आवाज बोक्दै हिँडेका दिनले सम्राइ लगाइरन्छन् उनलाई।

काठमाडौंमा कमाउँदै पढ्दै गरेका लम्सालले नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय दुवैतिरबाट स्नातकोत्तर र ‘नेपाली लोकगीतमा रस विधान’ शीर्षकमा विद्यावारिधी गरेका छन्। श्रीमद्भगवत् गीता, महाभारत, श्रीमद्भागवत महापुराण, कालिदासका महाकाव्य र स्वयं वेद महत्वपूर्ण जीवनदर्शन र पौरस्त्यदर्शनको आधार ठान्ने लम्साल राम्रा लेखकका साथै लोकसाहित्यका अध्येयता, कुशल प्रशिक्षक, कार्यक्रम सञ्चालक र शिक्षक पनि हुन्।

प्रस्तुत छ उनै लम्सालसँग गरिएको छोटो कुराकानीकाे सम्पादित अंश:

बाल्यकाल कसरी सम्झिनु हुन्छ?

गाउँघरमा रमाएर, रमाइलो गरेर बित्यो। ज्योतिष, पण्डितको छोरा हुँ। जजमानी थियो पिताजीको, त्यसैमा सघाएँ। घाँस दाउरा गरेँ। गाईगोठालो गरेँ। स्कुल टाढा थियो, टाढासम्मै हिँडेर जान्थेँ। बिजुली थिएन। साँझ टुकी बालेर पढ्थेँ। मट्टितेल सकिएको साँझ नपढी सुत्थेँ। स्कुलमा पुग्दो डेस्क-बेन्च थिएनन्। जति थियो ठूला उमेरकाले कब्जा गर्थे। हामी अलि सानाहरू फलेक वा छपनी ओच्छ्याएर पढ्थ्यौँ। कक्षा ७ सकेपछि ८ कक्षा पढ्न २०४० सालमा काठमाडौँ आएँ। आजसम्म यतै छु, कर्मको खेत जोतिरहेछु।

अहिलेसम्मको दौरानमा घटित कुनै अविस्मरणीय घटनाहरुलाई सम्झिनुपर्दा ?

धेरै छन्। स्कुल पढ्दा, कलेज पढ्दा। जागिर गर्दा। देशविदेश घुम्दा। फरकफरक सन्दर्भमा फरकफरक किसिमका थुप्रै घटनाहरु छन्। अहिले सम्झिरहेछु, फ्रान्स जाँदाको एउटा घटना। दक्षिण फ्रान्सको नान्ट सहरमा एउटा कार्यक्रम थियो, युरोपीयन युथ एक्सचेन्ज प्रोग्राम। यो २०४८ को कुरो हो। इटालीबाट एउटी केटी आएकी थिइन्। उसको नाम पाउला थियो। १५ दिनकाे बसाइपछि उसले भनी, ‘नवराज तिमीलाई म एउटा इटालियन नाम दिन्छु ल’? मैले हुन्छ भनेँ। उसले भनी रब्यातो। रब्यातो भनेको माया लाग्दो अर्थात् मायालु रहेछ। मलाई पनि उनलाई एउटा नेपाली नाम दिन मन लाग्यो। मैले सजिलो नाम खोजेर भनेँ, ‘ म पनि तिमीलाई एउटा नाम दिऊँ? उनको स्वीकृतिपछि मैले भनेँ – तिम्रो नाम रुपा ! उनले अँध्यारो मुख लगाइन्। किन? के भो? मैले सोधेँ। इटालिययन भाषामा रुपा भनेको चोर रहेछ।

यो ठाउँसम्म आइपुग्दा कतिको सङ्घर्ष गर्नुपर्यो ?

सुदूर गाउँबाट सहर पस्ने सबैको कथा एउटै हो। काठमाडौँ बसेर जिन्दगीको उज्यालो खोज्दाको कथा त्यति उज्यालो सबैको हुँदैन होला। म पनि त्यही र त्यस्तै पात्र हुँ। भाव पनि अभाव पनि, दुःख पनि पीडा पनि, प्राप्ति पनि अप्राप्ति पनि निकै भए तर आज ती दिनलाई सप्रेम सम्झनुपर्छ। दुःखको गीत गाएर केही अर्थ छैन। कहिलेकाहीँ लाग्थ्यो, दुःख देखेर दुःख आफैँ दुःखी हुन्थ्यो होला।

रुचिका विषयहरू के के हुन्?

लेख्नु, पढ्नु, घुम्नु, एकान्तमा रमाउनु, सङ्गीत सुन्नु आदि हुन्। सबैभन्दा बढी शान्त, एकान्त ठाउँमा बसेर आफूलाई आफैँभित्र खोज्नु र त्यतै हराउनुको मजा बेग्लै छ। त्यो अवस्था कविताको मूल पनि हो। अहिले पनि फुर्सद हुने बित्तिकै झोला बोकेर कतै गइहालौँ जस्तो लाग्छ।

खानाका परिकारहरु मध्ये कुनै औधी मनपर्ने खालका पनि छन्?

मलाई नमिठो लाग्ने कुनै खानेकुरा छैन। सफा हुनुपर्छ, बस् पुग्यो। खानामा रौँ र बियाँ भेटियो भने त वान्तै आउँछ, थामिन सक्तिनँ। यही खान पाए हुन्थ्यो, यो चाहिँ मीठो, यो नमिठो भन्ने छैन तर पनि भुटेको गेडागुडी र खसीको मासुतिर अलि बढी मन जान्छ। स्थानीय तहमा पुग्दा त्यहीँको परिकार मीठो मानेर खान्छु। हाम्रो देश प्रकृतिले मात्र होइन, परिकारले पनि सुन्दर छ। जहाँ पुग्छु, त्यहीँको खाना खान्छु र रमाउँछु।

मुलुकभित्र कत्तिको घुमफिर गर्नुहुन्छ?

आजसम्म मनाङ, मुस्ताङ र हुम्ला जाने संयोग जुरेको छैन। बाँकी सबै जिल्लामा हातमा माइक बोकेरै पुगेको छु। त्यहाँको संस्कृति, प्रकृति, जीवनशैली र मान्छेको स्वभाव पढ्न खुब मनपर्छ।

नेपालमा यति सुन्दर र यति फरक दृश्यका ठाउँहरू छन् कि कुनै ठाउँको तुलना कुनै पनि ठाउँसँग हुनै सक्तैन। सबै राम्रा सबै प्रिय। खप्तडको तुलना स्वर्गद्वारीसँग हुन्न। सोलुको तुलना जनकपुरसँग हुन्न। धरानको तुलना पोखरासँग हुन्न। लुम्बिनीको तुलना नेपालगञ्जसँग हुन्न र दार्चुलाको तुलना ताप्लेजुङसँग हुन्न। सबै राम्रा, सबै सुन्दर, सबै उत्कृष्ट।

कुन विषयका कस्ता पुस्तक पढ्न मन पराउनुहुन्छ?

संस्कृतिसँग, दर्शनसँग र इतिहाससँग जोडिएका पुस्तकहरू मन पर्छन्। साहित्य र साहित्यिक पुस्तक त मूल विधा नै भइगयो। कविता, काव्य झन् बढी पढ्छु, पढ्न मन पराउँछु। प्राय राति र फुर्सद मिलेको बेला जुनसुकै समयमा पनि पढ्न मजा लाग्छ। यही समय भन्ने नै छैन।

साहित्य र पत्रकारितामा सँगै हुनुहुन्छ। प्रेरणा छ कि कुनै?

साहित्य सानैदेखिको रुचि हो। सानै उमेरदेखि कविता र गीतसँग रम्दै रमाउँदै आएँ। २०४१ मा पहिलो पटक कविता छापिएको हो। हालसम्म यही यात्रामा छु। ३ महाकाव्य, ३ कवितासङ्ग्रह र २ गीतसङ्ग्रह छन्। पत्रकारिता संयोग हो।

एसएलसी दिने बित्तिकै समय दैनिकमा काम गरेँ। २०५१ वैशाखदेखि रेडियो नेपाल पुगेँ। रेडियो नेपालको यात्रा ३० वर्ष भयो। बीबीसीमा १० वर्ष काम गरेँ। अन्य पत्रपत्रिकामा कहीँ न कहीँ केही न केही लेखिरहेकै छु। यात्रा जारी छ, निरन्तर निरन्तर।

टेप रेकर्डर बजाउँदै गाउँ-गाउँमा क्यासेट बेच्ने गायक

प्रकाशित मिति: : 2023-04-11 20:20:00

प्रतिकृया दिनुहोस्