तपाईको मूल्य कति, मेरो मूल्य कति? पीएको मूल्य कति, अधिकृतको मूल्य कति? सांसदको मूल्य कति, आखिर मन्त्रीको मूल्य कति— ‘हजार, लाख, बीस लाख, साठी लाख, करोड, दुई करोड, दश करोड। कति करोड? कि करोडै–करोड! अर्थात् सत्तरी करोड?’
कर्मचारी घुस खान्छन्, नेताका पीएम पनि घुस लिन्छन्। दलाल र माफियाहरू हाँसी–हाँसी घुस दिन्छन्। सांसद र मन्त्रीपनि ‘हात्ती’मै बिक्छन्— यो सुनिआएको स्थापित मान्यता हो। खासै, नयाँ हाेइन।
कसले खाँदैन घुस? मानिसहरू भन्छन्— मरेको मान्छेले मात्र खाँदैन घुस। कसले छाड्न पैसा, को उम्केँला पैसाको अखडाबाट? खान्छन्, हजुर सबजनाले मिलाएर खान्छन्।
तर, कसरी?
हिजोआज एउटा नयाँ काण्ड एकदमै भाइरल छ। त्योपनि अडियो काण्ड। चिया–चौतारीदेखि सामाजिक सञ्जालसम्म छ्यापछ्याप्ती छ। बगिरहेका छन्, मानिसहरू। सुनिरहेका छन्, वैकल्पिक राजनैतिक शक्तिको ‘नयाँ शक्ति’। वाह! दादा, वाह!
के छ, त्यो अडियो काण्डमा—
एकाबिहानै एकजना सांसदले ‘मेडिकल माफिया’सँग फोनमार्फत् दुई करोड घुस माग्छन्।
किन?
माननीयज्यूलाई एकाएक मन्त्री बन्ने झोक चलेछ, अनि मन्त्री बन्नका लागि ‘सुप्रोमो महोदय’को कोरटीमलाई दुई करोड भेटी चढाउनुपर्दो रहेछ!
अरे, अरे। यस्तो पनि चलन छ र?
कसले भन्छ छैन। छ। रहेछ। त्यो गौरवशाली पार्टीका महान नेताले आफूले पो घुस खान्न भनेका हुन्, अरुमार्फत् त खाँदा रहेछन् नि! नपत्याएर, ढाकाराम सरलाई सोध्नू। सरी—सरी ढाकाकुमार माननीयज्यूलाई दर्शन गर्नू।
चुनाउताका हल्ला थियो, त्यो पार्टीमा सबैभन्दा धेरै जसले हात्ती चढाउँछ, त्यो एकैपटकमा सांसद हुन्छ रे!
तर, हल्लाको पछि लागिएन। मलाई थाहा थियो, उनीहरूले जान्नेलाई छान्छन्। अर्थात्, जसले घुस माग्न जानेको उसैलाई घुस माग्ने जिम्मेवारी दिन्छन्। जो म्यानपावर एजेन्ट छ, उसैलाई श्रममन्त्रालय दिन्छन्। अरु त धेरै के बोल्नू— सबै देखिएकै छ, सुनिएकै छ।
राजनीतिक बजारमा एउटा चर्चा छ— के अहिले दुई करोडमै मन्त्री पाइन्छ?
हत्तेरीका कति सस्तो?
भाइरल दादाले बाबाहरूबाट केही त सिक्नेपर्छ। नसिकेरै, नजानेरै कसरी चल्छ, राजनीतिको आडमा कमाऊ धन्दा। सिक रे, दादा! केही त पक्कै सिक!