टेक्सासका समाजसेवी कृष्ण लामिछानेको आत्महत्यापछि एकपछि अर्को गर्दै सार्वजनिक भएका भिडियोहरुले अमेरिका बस्ने नेपालीहरुमाझ ठुलो तरङ्ग पैदा गरेको छ। एक जना महिलासँग लेनदेनको हिसाब किताब नमिल्दा यौन जस्तो नितान्त व्यक्तिगत कुरासमेत टिकटकलगायत सामाजिक सञ्जालमा छताछुल्ल भएको तितो यथार्थ हो यो।
यो विषयमा महिला अधिकारकर्मीहरुसमेत मौन रहेको देखिन्छ। सायद यो विषय बोल्नुपर्ने र आवाज उठाउनुपर्ने विषय नठानेर पनि होला।
म अर्थशास्त्रको विद्यार्थी भएको नाताले मैले पढेको कुरा के हो भने विश्वभरका सबै मानिसहरु कुनै न कुनै रूपमा वस्तु र सेवाको उपभोग गरिरहेका हुन्छन्। र, सामान्य अर्थमा उपभोक्ताले कुनै पनि वस्तु वा सेवा लिइसकेपछि त्यसको सट्टामा मूल्य तिर्नुपर्छ। त्यो पैसा पनि हुनसक्छ वा अरु कुनै सेवाको कुरा पनि सट्टा भर्ना हुनसक्छ। त्यहाँ सम्मान र अधिकारको सिद्धान्त पनि लागु हुन्छ।
भिडियोअनुसार लामिछाने यौन उपभोक्ता थिए र उनले यौन सेवा लिए बापत केही पैसा दिएका रहेछन्। यदि सापटी वा ऋण भनेर दिइएको भए त्यो पैसा चुक्ता हुनुपर्छ। तर, वस्तु वा सेवा लिइसकेपछि दिएको पैसा फिर्ता माग्नु भनेको त्यो महिलामाथि गरिएको ठुलै अन्याय हो। गैरआवसीय नेपाली संघ (एनआरएन)जस्तो प्रतिष्ठित संस्थामा आवद्ध र सामाजिक अभियन्ताजस्ता सबैले माने गुनेका विवाहित अनि दुई छोरीका बाबुसमेत भइसकेका लामिछानेले विवाहाेत्तर सम्बन्ध राख्नु ठिक हो वा बेठिक भन्ने निर्णय उनको निजी विषय हो। अमेरिकामा यो अनैतिक कार्य हो तर गैरकानुनी भने होइन। त्यो बापत उनको परिवारले कति ठुलो क्षति बेहोर्नुपर्याे भन्ने कुराको त कुनै लेखा/जोखा नै छैन। तर, कसैसँग सम्बन्धको हात बढाइसकेपछि त्यहाँ भावना जोडिएको हुन्छ र लेनदेनका कुराहरु आउनु पनि स्वभाविक नै हो। पछि आफ्नो परिवारले थाहा पायो भनेर पछिहटेर दिइसकेको पैसा जति सबै फिर्ता गर भनेर भन्नु भनेको ती महिलामाथिको सरासर अन्याय हो।
कसैसँग मतभिन्नता उत्पन्न भएर सम्बन्ध बिग्रेपछि महिलाहरुले कति असुरक्षित अवस्था भोग्नुपर्छ भन्ने ज्वलन्त उदाहरण पनि हो लामिछाने प्रकरण।
अहिलेको युग भनेको डिजिटल युग हो। हरेक नागरिक सामाजिक सञ्जालको पहुँचसँग जोडिएको छ। फेसबुक, ह्वाट्सएप, भाइबर, इन्स्टाग्राम र ट्विटरमार्फत् जो कोही व्यक्ति पनि सजिलैसँग साथी बन्न र देश विदेशका जो कोही व्यक्तिसँग पनि अन्तरक्रिया गर्न, आत्मियता बढाउन, अपरिचित व्यक्तिसँग सम्बन्ध बढाउन र सहयोग लिन सक्छन्। दु:ख सुखका कुराहरु साटासाट गरेर मन हलुका पारिरहेका हुन्छन्। खुल्ला प्रेम सम्बन्धको विकास गर्ने अवसरको रुपमा यो सामाजिक सञ्जालको एकदमै सकारात्मक पक्ष पनि हो र जसले महिलाहरुलाई आधा हाेइन पूर्ण जिन्दगी बाँच्न सहयोग पनि गरेको छ। तर, यही सुविधाले आत्महत्याजस्ता यस्ता ठुल्ठुला समस्या सिर्जना भएपछि फेरि महिलाहरुले खुम्चनुपर्ने अवस्था सिर्जना भएको छ।
अहिले पनि ६५ प्रतिशत महिलाहरु आफूले गरेको काममा केही गल्ती होला र सम्पूर्ण दोष आफैंले भोग्नुपर्ला भनेर आफ्नो मनमा लागेको विचार नै प्रकट नगरिकन बस्छन्। आफ्नो इच्छा अनुरुपको काम नै गर्दैनन्। अझै पनि ३५ प्रतिशत महिलाहरु आफ्ना प्रेमीसँगै पनि कतै भेट्न, बस्न र कुराकानी गर्न पनि आफूलाई रोक्ने गर्छन्।
यस्ता लुकीछिपी चल्ने मौसमी मायाको आयु धेरै हुँदैन पनि। फेरि मान्छेहरुको निजी जीवनको जासुसी गर्ने र भिडियो रेकर्डिङ गरेर छताछुल्ल पार्ने कार्य पनि बहुत निन्दनीय कुरा हो।
जागिर, तलब र आफ्नै सम्पत्ति हुने महिलाहरुलाई हेर्ने हो भने उनीहरुको जिन्दगी रोमान्सले भरिएको हुन्छ र कसैको भर गर्नु पनि पर्दैन। आफ्नै मर्जिमा रमाएर आफैं बालबच्चा पनि हुर्काइरहेका हुन्छन्। तर, वैवाहिक सम्बन्धमा बाँधिएका विश्वास र माया दुबै नभएका थुप्रै महिला पुरुषहरु पनि घरमा भूत-प्रेत जस्तो टेलिभिजन वा मोबाइलमा एक्लै घोत्लिएर बसिरहेका हुन्छन्।
समाज एकातिर परम्परागत बन्धनबाट मुक्त छैन, अर्को सामाजिक सञ्जालले फड्को मारेर कुनै पनि घटना घट्नासाथ महिलाहरुले यस्ता हिंस्रक खालका प्रतिक्रियाहरुको सामना गर्नु परिरहेको छ।
महिला, महिला यौन, महिला अधिकारका कुराहरु र सामाजिक र सांस्कृतिक पक्षहरुमा अब नयाँ बहसको जरुरी हुन जरुरी छ। सामाजिक सञ्जालमा कुनै सेन्सरसीप पनि छैन। यसबाट निम्तिएको महिलाहरुको तनावपूर्ण अवस्था, भविष्यको चिन्ता र आर्थिक अस्थिरताले समाजमा अर्को भयावह स्थिति ल्याउन सक्छ। अमेरिका आइपुगेका महिलाहरुले आफ्नो आत्मनिर्भरताको आनन्द उठाइरहेका छन्। तर, नेपालमा बस्ने महिलाहरुलाई त्यस्तो अवसर सम्भव छैन।
थप सामाग्री पढ्नुहाेस्: