पात्र नं.१: वास्तविक नाम रेनोल्ड र बोलाउने नाम रेनु, जाे जर्जियाको रोस्भिल्लाको स्थायी बासिन्दा हुन्। यही जन्मिएर यही हुर्किएकका ५० वर्षीय रेनु जर्जिया राज्यस्तरीय बेसबलकाे पूर्वखलाडी समेत हुन्।
यस्तै खेलाडीहरुको आर्थिक अवस्था निकै राम्रो हुनुपर्ने हो। तर, ऊ सँग खाने पैसा हुँदैन। धारा र बत्तिकाे बिल नियमित चुक्ता नगरेकाे कारण उसकाे घरमा पानी र बत्ति छैन। पटक–पटक प्रहरीले पक्राउ गरेर जेल जानु र दुई/चार दिनमा छुटेर बाहिर आउनु, उसको नियमित आकस्मिकता हो। उसलाई प्रहरीले किन पक्राउ गर्छ ? र फेरि ऊ किन छुट्छ ? त्यो पंक्तिकारलाई जानकारी हुने कुरा भएन। तर, बढो अच्चम भने लाग्छ। प्रहरीको रेकर्ड राम्रो नभएको कारण उसलाई कसैले काम र पैसा दिने कुरा भएन तर उसले आफ्नो जिविका कसरी चलाएको छ, त्यो अर्को अच्चमकाे कुरा हो। के तपाईं कल्पना गर्न सक्नुहुन्छ, अमेरिकामा कोही पानी र बत्ति बिना बसेकाे छ ?
पात्र नं. २: पंक्तिकारले काम गर्ने संस्थामा गाईको दूध पुर्याउन आउने पंक्तिकारलाई उसको नाम थाहा छैन। ऊ सँग काम पर्दा ‘ओ माइ फ्रेन्ड’ भनेर काम चलाउने ऊ कहिले पनि स्नान गर्दैन। गाईको दूधसँग दैनिक काम गर्ने र वर्षौसम्म ननुहाउने ऊसँग दुई मिनेट कुरा गर्दा पनि बेहोस होला जस्तो हुन्छ। एकपटक पंक्तिकारले यस बारेमा जिज्ञासा राख्दा ऊ रिसायो र उस्ले नुहाउनु नै पर्छ भन्ने अमेरिकाको कानुनमा नभएको बतायो। अर्थात्, उसलाई मेरो कुरा मन नपरेको प्रष्ट भयो। के तपाईं कल्पना गर्न सक्नुहुन्छ, अमेरिकाको नागरिक तर उसले वर्षौसम्म नुहाएको छैन र त्यसमा उसलाई रुचि पनि छैन ?
पात्र नं. ३: करिब ३० वर्षीया कार्ला विलियम्सलाई बाहिरबाट हेर्याे भने कुनै सिनेमाको नायिका वा स्वर्गको अप्सरा जस्तो लाग्छ। एक छाक खान पनि आफ्नो शरिर बेच्नुपर्ने उसको बाबु–आमा, परिवार र घर केही पनि छैन। दुई/चार महिना एउटासँग र दुई/चार महिना अर्कोसँग बसेर उसलाई आफ्नो शरिर बेचेर जीवन बिताउनुपर्ने बाध्यता छ। यहाँ बाध्यता पंक्तिकारको निजी बिचार हो तर उसलाई सधै चुरोटको धुँवा उडाएर हाँसी–हाँसी गफ गरेको देख्दा यो उसको बाध्यता नभएर शोख जस्तो लाग्छ। के तपाईं कल्पना गर्न सक्नुहुन्छ, अमेरिकामा पनि यति गरीब मान्छे हुन्छन् ?
पंक्तिकार नेपालमै भएको भए यी माथिका तीनै प्रसङ्गमाथि विश्वास गर्थेन। र, अहिले पनि नेपालमा बसेर यो कुरालाई विश्वास नगर्ने अरु पनि होलान् तर यी तीनै प्रसङ्ग शतप्रतिसत सत्य हुन्। पंक्तिकार जस्तो गरीब र अविकसित देशको नगरिकलाई अमेरिकाका सबै मान्छेहरु खुशी, धनी र पढेलेखेका होलान् जस्तो लाग्छ तर यहाँका मान्छेहरुको गरिबी देख्दा मनै सिरिङ्ग हुन्छ अर्थात् गरिबीको पराकाष्टा छ यहाँ। अझै रोचक कुरा त के हो भने पंक्तिकारले यहाँ अर्थात् रोस्भिल्लामा लेख्न र पढ्न नसक्ने निरक्षर मान्छे पनि भेटेको छ। अब कसैलाई यो कुरामा विश्वास लाग्दैन भने त्यो उसको स्वतन्त्रता हो।
अरुको कुरा सुनेको र अंग्रेजी सिनेमा हेरेको भरमा अमेरिकाप्रति आफ्नो दृष्टिकोण बनाउने मान्छेहरुको कुनै कमी छैन तर त्यो उनीहरुको निजी विचार वास्तविकतासँग मेल खाँदैन। पंक्तिकारलाई केवल नकारात्मक मात्र लेख्छ भन्ने आरोप लाग्ने गरेको छ। आफू बस्ने कर्मदेश जसमा बसेर व्यक्तिगत नै भए पनि केही उन्नति गर्न सकिएको छ, त्यहाँको समाजको बारेमा झुटो र नकारात्मक लेख्ने पंक्तिकारलाई न रुचि छ न आवश्यकता। आफूले देखेको र भोगेको विषय वा घटनालाई जानकारीको लागि पाठकसमक्ष पस्किनु पंक्तिकारको धर्म हो। अब कसैलाई यो कुरामा विश्वास लाग्दैन भने के नै गर्न सकिन्छ र ?