बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविकमललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो।
बुटवल उपमहानगरपालिका–१४ मोतीगञ्जमा शनिबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्जमकै पकेट सञ्चालन समन्वय समितिलाई उपकरण तथा सामग्री हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा नगरप्रमुख पाण्डेयले तिनाउ पश्चिमका वडालाई कृषि उत्पादनमा अब्बल बनाउनका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताएका छन्। नगरप्रमुख पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राख्ने बताएका छन्।
बुटवल उपमहानगरपालिकाले रु ११ लाख २२ हजार अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले बताए। उनले मकै पकेट विकास कार्यक्रममा आवद्ध किसानलाई मल, बीउ, कृषियन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको बताए।
मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी तीन जातका हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकैखेती राम्रो उत्पादन भएको बताएका छन्।