रवि लामिछानेको सत्तामोह: बाध्यता कि आवश्यकता ?

गएको २० माघमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिनुको मुख्य कारण गृहमन्त्रालय नपाउनु थियो। नागरिकता प्रकरणमा १३ माघमा रास्वपाका सभापति तथा तत्कालिन गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएपछि सरकारसँग रास्वपाको माग मिलेन।

लामिछाने पुनः गैरसांसदको रुपमा गृहमन्त्रालयमा फर्किने वा लामिछानेलाई गृहमन्त्री नबनाए आफ्ना अन्य सांसदलाई गृहमन्त्री बनाउनुपर्ने रास्वापको माग थियो। तर, दुबै माग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नमानेपछि अन्ततः रास्वपा सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारमा सहभागी भएको ४२औँ दिनमा बाहिरियो।

१० पुसमा एमालेको कित्तामा उभिदै रास्वपा सरकारमा सहभागी भएको थियो। ठुला दल र तिनका नेताको चर्को आलोचना गर्दै संसदमा २० सिटसहित पुगेको रास्वपालाई पहिलो पटक नै सरकारमा सहभागी नहुन कतिपयले आग्रह गरेका थिए। तर, रास्वपा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भयो।

त्यसपछि रास्वपाको आलोचना भइरहेको छ। २५ माघमा राष्ट्रपतिमा सत्तापक्षका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेपछि रास्वपाको आलोचना थप बढेको छ। रास्वपालाई सत्ता भोगी भन्न थालिएको छ। कतिपयले त रास्वपा प्रचण्ड पथमा पुगेको बताउँछन्।

सामाजिक सञ्जालको मतलाई आधार मान्ने लामिछानेलाई अहिले सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ। राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएपछि उनले दिएको बधाईमा लामिछाने जता सत्ता उतै टाँसिएको आरोपसहितको प्रतिक्रिया धेरै छन्। कमेन्टमा हरि निरौलाले लेखेका छन्, ‘तिम्रो राजनीति सकियो, जता सत्ता उता लिप्त।’

अर्का कमेन्टकर्ता सहदेव थापाले भनेका छन्, ‘रास्वपाले यो देशको अस्तित्व जोगाउँछ जस्तो लागेको थियो तर आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई गुड बाई।’ यस्तै चिरञ्जीवी न्यौपानेले रविलाई सत्तालिप्सा भनेका छन्। उनले लेखेका छन्, ‘सत्तालिप्सा प्रस्ट देखियो महोदय, तपाईंलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको घोषणा गर्दछु।’

सत्ताको पछि लागेको आरोपसहित आएको कमेन्टमा जस्तै पछिल्लो समय रास्वपाको गतिविधिले पनि सत्ताविना बाँच्न नसक्ने देखिएको छ। अहिले काँग्रेस, रास्वपा, जसपा, नेकपा एस, लोसपा, नागरिक उन्मुक्तिलगायत १० दलीय गठबन्धनको सरकार छ।

कुल २५ मन्त्रालयमा २२ मन्त्रालयको भागबण्डा मिलेको छ। तर, अझै रास्वपाका लागि प्रधानमन्त्रीले तीन मन्त्रालय आफैंसँग राखेका छन्। अघिल्लो पाँच दलीय गठबन्धनमा गृह नपाएको झोकमा सरकारबाट बाहिरिएको रास्वपा अहिले गृहविना नै सरकारमा सहभागी हुन खोजिरहेको छ।

जसका कारण पनि रास्वपा सत्ताविना बाँच्न नसक्ने आमरुपमा भएको आलोचनलाई बल पुर्‍याएको छ। राजनीतिक विश्लेषक सालिकराम शर्मा रवि व्यत्तिगत स्वार्थका लागि सरकारमा सहभागी हुन खोजेको बताउँछन्। रवि सरकारमा सहभागी हुन खोज्नु आवश्यक्ता कि बाध्यता भन्ने बिएल नेपाली सेवाको प्रश्नमा उनले भने,‘सरकारमा जानु रास्वपाको आवश्यकता बाध्यता केही पनि होइन्। व्यत्तिगत स्वार्थका लागि सरकारमा गएका हुन्।’

शर्माले रास्वपामा देखिएको सत्तामोहले रवि वैशाख १० मा हुन उपनिर्वाचनमा पराजित हुन सक्ने समेतको आँकल गरे। उनले भने, ‘रवि अहिले सत्तामोहमा लागेको र बोलेका कुरा भुल्न खोजेकाले अब आउँने उपनिर्वाचनमा चितवनमा विजयी हुनसमेत मुस्किल देखिन्छ।’

यस्तै अर्का राजनीतिक विश्लेषक मुमाराम खनालले रास्वपा अन्य पार्टीभन्दा फरक नदेखिएको बताउँदै सरकारमा सहभागी हुनु रास्वपाको गल्ती रहेको बताए। ‘रास्वपा सरकारमा जानु गल्ती हो। किनभने उनीहरुले गरेको आलोचना अहिले उनीहरुले भोग्नु परेको छ,’ खनालले भने, ‘आलोचना गरेर मत लिने फेरि सत्ता बार्गेनिङ गर्नु राम्रो होइन। उनीहरु प्रतिपक्षमा बसेर सत्ता पक्षलाई प्रश्न गर्नुपथ्र्यो।’

संसदीय व्यवस्थाको मान्यतासमेत हराउने गरेर सानो पार्टीले बार्गेनिङ गर्दै ठुलो पार्टीलाई सरकार चलाउनबाट बञ्चित गरेको उनको भनाइ छ। साना पार्टी नै सरकार जानु उनीहरु स्वयम जनतम गुमाउनुरहेको खनालले बताए। उनले भने,‘ठुला पार्टीसँग सत्ताको बार्गेनिङ गरेर उनीहरुलाई सघाउनु भोलि साना पार्टीहरुप्रति पनि नागरिक निरास हुनु हो। भोलि साना पार्टी पनि उस्तै त हुन भन्ने नागरिकमा पर्न सक्छ र उनीहरुलाई भोट नदिन सक्छन्।’

रास्वपा सांसद पराजुली भन्छन्– सरकारको स्थायित्वका लागि हाम्रो समर्थन हो

रास्वपा सांसद गणेश पराजुलीले सरकारको स्थायीत्वका लागि सरकारालाई समर्थन गरेको बताए। बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, ‘हामीले उठाएका मुद्धाहरु लागु गर्न र स्थायी सरकारको आवश्यक रहेकाले सरकार अस्थिर नहोस् भन्नका लागि, जनताको आवश्यकता विकास निमार्णका लागि राम्रो भूमिका खेल्न सकियोस् भनेर सरकारलाई सर्मथन गरेका हौँ।’

पराजुलीले अन्य पार्टीजस्तै आफूहरु नरहेको बताए। भने,‘हामी एक्लै चुनावमा गएर पाएको मतअनुसार सहभागी जनाएको हो। हामी पुरानो दल जस्तै सत्ताविना बाच्न नसक्ने भन्नेकुरा गलत हो।’

सांसद पराजुलीको भनाइ जस्तो त्यस्तैः

हामीले सरकारलाई दिएको समर्थन यथावत छ। किनभने सरकारमा न्यूनतम साझा कार्यक्रममा हाम्रा मुद्धाहरु समावेश भएकाले समर्थन यथावत राखेका हौँ। सरकार निमार्णको विषयमा कुनै पनि छलफल नभएकाले अहिले सरकारमा जान्छौँ भन्न सकिन्न। हामी अहिले सरकार भन्दा पनि उपनिर्वाचनमा खटिएका छौँ।

सरकारमा जाने कुरा तपाईंले भनेको जस्तै बार्गेनिङ गरेर गएका छैनौँ। वर्तमान अवस्थामा कुनै पनि दलले संविधानको धारा ७६ को उपधारा १ अनुसार हेर्ने हो भने सरकोरको नेतृत्व गर्ने शक्ति कसैलाई पनि प्राप्त गरेको छैन्। हामी देशको चौंथो दल भएकाले तेस्रो दल अर्थात् ३२ सिट भएको पार्टी माओवादीबाट प्रधानमन्त्री बनेर सरकार गठन गर्नु र हामी २० सिटको शक्तिले सरकार निमार्ण प्रक्रियामा भाग लिनु ठिक वा बेठिक तपाईंहरुलाई नै जिम्मा दिएँ।

सुरुवाती चरणमा रास्वपा सरकारमा जानैपर्छ भनेर हामी लागेकै होइन। जब राजनीतिक दलले सरकार निमार्ण प्रक्रियामा अगाडि जान खोज्दा रास्वपा नभई नहुने भएकाले हाम्रो कार्यकारी भूमिका आवश्यक रहेकाले सरकारमा भाग लिएका हौँ। त्यसपछिको घटनाक्रम सबैलाई थाहा छ नै। आम जनताका जनजिवनका कुरालाई कसरी मिलाएर लैजानेबारे एकीकृत गरेर कसरी जान सकिन्छ भन्दै जाँदा जनताको आवश्यकता पूरा गर्ने ठाउँ सरकार भएकाले सरकारमा गएका हौँ।

जनताको विषयलाई उठाउनुपर्नेे भूमिकाले सरकारमा रहेकाले हामी जनताको काम गर्न आएका हौँ। सरकारमा जाने कुरा स्वभाविक रहन्छ। सरकारलाई स्थायित्व दिन र जनतासँग वाचा गरेका कुरालाई लागु गर्न सरकारमा जानुपर्ने देखियो। हामीले उठाएका मुद्धाहरु लागु गर्न स्थायित्व सरकार आवश्यक रहेकाले सरकार अस्थिर नहोस् भन्नका लागि जनताको आवश्यकता विकास निमार्णका लागि राम्रो भूमिका खेल्न सकोस् भनेर सरकारलाई सर्मथन गरेका हौँ।

एमाले र माओवादी अझ सरकारविना चल्नै नसक्ने तपाईंहरुले भाष्य निर्माण गरिदिएकाले यस्तो समस्या आएको हो। चुनावभन्दा पहिले उनीहरुसँग हामीले सहकार्य गरेका होइनौँ। हामी एक्लै चुनावमा गएर पाएको मतअनुसार सहभागी जनाएको हो। हामी पुरानो दलजस्तै सत्ताविना बाँच्न नसक्ने भन्नेकुरा गलत हो।

अहिले बाहिर सत्तासँग पासपाेर्ट साटेको भन्ने कुरा गलत हो। राजनीतिक र कानुनी विषय निकै फरक छ। कानुनी प्रक्रियामा चलेको मुद्धालाई सरकार निमार्णमा समावेश गरिएको भन्नै मिल्दैन।

हामीले उठाएका जनताको मुद्धाहरु सरकारले कसरी सम्बोधन गर्छ त्यसको आधारमा हामी सरकारमा जाने, नजानेबारे निर्णय गर्छौँ। हामी भागबण्डाका लागि मात्र सरकारमा सामेल हुने कुरा आए प्रतिप्रक्षमा बस्छौँ।

प्रकाशित मिति: : 2023-03-29 22:10:00

प्रतिकृया दिनुहोस्