सन् २०२१, अगष्ट १५ (काबुल)। त्यो दिन मेरो लागि एकदमै दुखद् दिन थियो। म काममा थिएँ। बिहानको ११ बजे एक्कासी मेरो म्यानेजरले अवस्था नाजुक भएकाे बताउँदै छिटोभन्दा छिटो घर जाउ भनेर फिर्ता पठाइदिनुभयो।
डेरा गरेर बसेको एउटा सानो कोठामा म फर्किएँ। मेरो कोठा एकदम अँध्यारो थियो, बोल्ने काेही पनि थिएन। कोठाका भित्ताहरू मेरो मुटुको कम्पन र डरले गुन्जिरहेका थिए। मैले झ्याल बन्द गरेँ र पर्दा लगाएँ। कसैलाई फोन गर्ने अवस्था पनि थिएन।
मलाई त्यो समयमा केवल मेरो नजिक काेही बसेर 'सबै ठिक हुन्छ, तिमी चिन्ता नगर' भन्ने एउटा आशाको किरण चाहिएको थियो तर मेरो शरीर डरले काँपिरहेको थियो। केही घण्टापछि त मैले केही महसुस पनि गर्न सकेकी थिइनँ। भोक, तिर्खा, निन्द्रा केही थिएन। मनमा सिर्फ बेचैनी र डर मात्र थियो।
तालिबानले म बसेको घरमा पो आक्रमण गरे कि भनेर म बारम्बार आफ्नो झ्यालबाट चियाउँथे। सानो अँध्यारो कोठामा म एउटी निहत्ता महिला, न काेही परिवार छ न त साथी। चिन्ताले मानसिक रूपमा थकित भइसकेकी थिएँ। रातभरि ब्युँझिएर बसेपनि मलाई निन्द्रा लागेन।
कोठामा खानलाई एक टुक्रा पाउरोटी पनि थिएन तर बेकरीसम्म गएर ल्याउन मनले मानेको थिएन। मलाई भोक पनि लागेको थिएन, त्यसैले तालिबानले काबुल कब्जा गरेको तेश्रो दिनसम्म पनि केही नखाई बसेँ। मेरो शरीर पूर्ण रूपमा त्राशको नियन्त्रणमा थियो। डर र त्रासले खोक्रो बनाइसकेको शरीर थकित हुँदै गइरहेको थियो र म सिर्फ त्यो कोठाबाट निस्किन चाहन्थेँ। खाटमा पल्टेर म यहाँबाट कसरी निस्कूँ। कहाँ जाउँ र कसरी जाउँ भन्ने सोचिरहेकी थिएँ।
मेरो छिमेकीहरू एकदम असल मानिसहरू हुन्। तीन दिनदेखि केही खाएको छैन भन्ने थाहा पाएर एक महिलाले मलाई उनको घरबाट केही खानेकुरा बाेकेर आइन्। मैले खाँदिन भन्दा उनले सान्त्वना दिएर मलाई खुवाइन्। १-२ गाँसपछि मेरो हात खुट्टामा बल्ल उर्जा आएजस्तो भयो। मलाई त्यसपछि महसुस भयो म थकित हुनुको कारण भोकै बसेर रहेछ। मैले ती महिलालाई मेरोबारेमा तालिबानलाई नभनिदिन आग्रह गरेँ। काबुलमा एक्लै बसेर काम गर्दै परिवार पालेको कुरा उनलाई सम्झाएँ। उनले भनिन्, 'तिमी हाम्रो परिवारको एक सदस्यजस्तै भइसकेउ। चिन्ता नगर हामी तालिबानलाई तिम्रो बारेमा भन्दैनौँ।'
त्यो एक्लो र अँध्यारो कोठामा म एक हप्ता बसेँ। काबुल विश्वविद्यालयमा पढ्ने मेरो दुईजना 'रूममेट' हरू आफ्नो घर गइसकेका थिए।
सात सदस्यीय परिवारको एकमात्र कमाउने व्यक्ति भएको कारण म चाहिँ काबुलमै बस्नु परेको हो। बाम्यान विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री लिए पनि बाम्यानमा काम नपाएर काबुल आएकी थिएँ। एउटा गैरसरकारी संस्थाको मुख्यालयमा सन् २०१८ मा काम पाएपछि म काबुल आएकी हुँ। मेरो तलब मासिक १८ हजार अफगानी थियो। आफ्नो खर्च टारेर बाँकी रहेको पैसा म घर पठाउने गर्थें। बुवाको उमेर ढल्केको हुनाले अरूको खेतमा काम गरेर धेरै कमाउन सक्नु हुँदैन। धेरै जसो मैले पठाएको पैसाले नै घर चल्थ्याे।
तीन वर्षसम्म म आरामले काबुलमा बसेँ। त्यसपछि २०२१ को अगष्ट आयो। तालिबानले अफगानिस्तान कब्जा गरेको एक हप्तापछि म अफिस गएँ। आँखाबाहेक शरीरको सबै अंग ढाक्ने गरी हिजाब लगाए पनि मेरो कपडाको बारेमा निकै नै चियोचर्चो हुन्थ्यो। काम र पैसाको आवश्यकता भएको हुनाले तालिबानको 'अन्डर' मा काम गरेँ।
तालिबानले हरेक घर छापा मार्दा म एक सातासम्म त्रासमा बाँचे। मेरो साथमा 'महरम' (श्रीमान) नरहेको वा म एक्लै बस्ने थाहा पाए तालिबानले मलाई के सजाए दिने थियो मलाई थाहा थिएन। मेरो अवस्थाको कारण बम्यानबाट बुवा काबुल आउनुभयो र हामीसँगै घर फर्कियौं। तर एक महिनापछि पैसाको आभावको कारण म फेरि काबुलमा आफूले काम गरिरहेको गैरसरकारी संस्थामै फर्किएँ।
सन् २०२२, डिसेम्बर २५ मा तालिबानले महिलालाई गैरसरकारी संस्थामा काम गर्न रोक लगाइदियो। अफिसको म्यानेजरले प्रतिबन्ध नखुल्ने समयसम्म कामबाट बर्खास्त गरेको सूचना दियो।
म अझै काबुल मै छु तर अलिअलि बचेको पैसा सकिँदै गइरहेको छ। कामबाट निकालिएको कारण म अरू काम खोज्दै छु। काबुलको यो एउटा सानो कोठाको भाँडा पनि तिर्नुपर्ने छ। महिलालाई आजकल कसैले काम दिँदैन। घरमा कसैलाई पैसा उधारो लिदिनु भनेको थिएँ तर उहाँहरूले सक्नुभएन। तालिबानले महिलाहरूलाई काम गर्नुबाट प्रतिबन्ध लगाउनु भन्दा अघि पठाएको पैसा पनि सकिसकेछ।
काम पाओस् र कोठा भाँडा तिर्न सकूँ भनेर हरेक रात म अल्लाहलाई प्रार्थना गर्छु। हिजो मैले बेकरीबाट पाउरोटी किनेँ। मासिक बेकरीलाई पैसा तिर्दा दैनिक एउटा पाउरोटी मात्र पाउँछु। अघिल्लो तीन दिनदेखि मैले सिर्फ चिया र पाउरोटी मात्र खाएको छु। मसँग अब केवल दुइटा प्याज र अलिकति तेल छ। यसरी कति दिन बाँच्न सक्छु, पत्ताे छैन।
(अफगानिस्तानमा विद्राेही तालिबान सत्तामा फर्किएपछि एउटी एक्ली युवतीले भाेग्दै आएकाे कहालीलाग्दाे कथा हाे। यो सामग्री जान टाइम्सको सहयोगमा तयार पारिएको हो।)