सरकारमा जाने मन्त्रीहरुको विषयमा छलफल गर्न एकीकृत समाजवादीको बैठक जारी

File Photo
File Photo

सरकारमा जाने तयारीमा रहेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। सरकारमा सहभागी हुने मन्त्रीको नाम फाइनल गर्न बैठक बसेको हो।

आलोकानगरस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीति र सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावलीबारे छलफल हुने सो पार्टीका एक नेताले जानकारी दिएका छन्।

बैठकमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष डा. बेदुराम भुसाल, राजेन्द्र प्रसाद पाण्डे, महासचिव घनश्याम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, डा. गंगालाल तुलाधर, प्रकाश ज्वालालगायत सहभागी छन्।

प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादी गृहसहित तीनवटा मन्त्रालय दाबी गरिरहेको छ। तर, प्रधानमन्त्रीले दुईवटा लिएर सरकारमा आउन प्रस्ताव गरेका छन्।

आजको बैठकमा पार्टीको अडान र प्रधानमन्त्रीको प्रस्तावबारे छलफल गरी आवश्यक निर्णय लिने समाजवादीका नेताहरुले बताएका छन्। आजै चार बजे सत्तासाझेदार दलहरुको संयुक्त बैठक बालुवाटारमा बस्दैछ।

प्रकाशित मिति: : 2023-03-28 12:39:00

प्रतिकृया दिनुहोस्