नेपाल–अमेरिकाबीच सोमबारदेखि काठमाडौंमा ‘सैनिक संवाद’

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका
 नेपाल–अमेरिका ल्यान्ड फोर्स टक तेस्रो संस्करण, हवाइ अमेरिका : फाइल फोटो
 नेपाल–अमेरिका ल्यान्ड फोर्स टक तेस्रो संस्करण, हवाइ अमेरिका : फाइल फोटो

काठमाडौैंमा सोमबारदेखि तीनदिने नेपाल–अमेरिका ल्यान्ड फोर्स टक (एलएफटी)को चौथो संस्करण आयोजना हुँदैछ। २०७५ सालयता लगभग हरेक वर्ष हुँदै आएको यो संस्करणमा सहभागी हुन २२ सदस्यीय अमेरिकी टोली काठमाडौं पुगिसकेको छ। टोलीको नेतृत्व अमेरिकी सेनाको प्यासिफिक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गरेका छन् ।

सम्बादमा नेपाली टोलीको नेतृत्व नेपाली सेनाका उपरथी अशोकराज सिग्देलले गर्नेछन्। उनको नेतृत्वको १४ सदस्यी नेपाली टोलीमा सैनिक तथा गैरसैनिक अधिकारीहरू रहनेछन्। गैरसैनिक अधिकारीहरूमा  रक्षा, परराष्ट्र र अर्थ मन्त्रालयका सहसचिव र उपसिचवहरू रहनेछन्।

सम्वादमा शान्ति मिसन, मानवीय सहायता र विपद् व्यवस्थापन, तालिम तथा विषयवस्तुबारे विज्ञता गरी चार विषय समावेश गरिएका छन्। 

यसअघि यो सम्वादको पहिलो संस्करण २०७५ जेठ २३ र २४ मा र दोस्रो संस्करण २०७६ कात्तिक ६ र ७ मा काठमाडौंमा भएको थियो भने तेस्रो संस्करण २०७८ चैत ६–१० मा अमेरिकाको हवाईमा भएको थियो। २०१९ मा भने कोभिडका कारण यो आदानप्रदान कार्यक्रम नै भएन।

नेपाल र अमेरिकाका सैनिकबीच यो सम्वाद आदानप्रदानका अतिरिक्त संयुक्त तालिमअन्तर्गत ‘ब्यालेन्स नेल’ र ‘टिक नेल’ पनि सञ्चालन हुँदै आएका छन् ।

नेपाल अमेरिकी सुरक्षा राडरमा पर्दैगएको गाइँगुइँ चलेको बेला हुन लागेको यो संवाललाई लिएर पनि प्रश्नहरू उठेका छन्। तर, अमेरिकी रक्षा विभाग पेन्टागनका एक अधिकारीले यसलाई ‘दुई पक्षले एक अर्कासँग भएका क्षमता र विज्ञता आदानप्रदान गर्ने'  प्लेटफर्मा मात्र भएको बताएका छन्। उनले थप स्पष्ट पार्दै ब्रेक एन लिंक्सलाई भने,   ‘यो संवाद कुनै पनि सुरक्षामा सामेल हुने वा सम्झौता गर्ने प्रयोजनका लागि हैन।'

प्रकाशित मिति: : 2023-03-26 23:19:00

प्रतिकृया दिनुहोस्