कराते महासङ्घको महाधिवेशन चितवनमा

फाइल तस्बिर
फाइल तस्बिर

नेपाल कराते महासङ्घको महाधिवेशन चितवनमा हुने भएको छ।

महाधिवेशन पटिहानीस्थित कबर्डहलमा शनिबार हुने भएको हो। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन समारोहका संयोजक किशोर भट्टराईले जानकारी दिए। महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरु चितवन आउने क्रम जारी छ। गत माघ १२ गते राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव युवराज लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने अधिकार दिएको थियो।

त्यहीअनुसार स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर साधारणसभा तथा अधिवेशन गर्न लागिएको अध्यक्ष लामाले जानकारी दिए। महाधिवेशनमा ७६ जना प्रतिनिधिसहित ८० जना सहभागी हुनेछन्। कराते महासङ्घको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना तथा महासङ्घमा आबद्ध चार विधाहरु (सितेरियो, गोजुरियो, वादुरियो र सोतोकान) करातेबाट पाँच–पाँचका दरले २० गरी कूल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउनेछन्।

करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ। तीमध्ये हरेक प्रदेशबाट एक–एक गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउने छ। महाधिवेशनले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना सदस्य रहेको समिति चयन गर्नेछ। विसं २०६९ सालमा महासङ्घ गठन भएको थियो।

प्रकाशित मिति: : 2023-03-24 20:16:00

प्रतिकृया दिनुहोस्