बागमती प्रदेश सभाको बैठक बस्दै

आज बागमती प्रदेश सभाकाे बैठक बस्दै छ। बैठमा दिउँसो १ बजे बोलाइएको छ।

अघिल्लो पटक गत बुधबारको दिन बैठकमा बोलाइएको थियो, तर त्यो दिन बैठक बस्न सकेन। सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले बैठकमा उपस्थित नहुने भनेपछि शुक्रबारका लागि सारिएको थियो। बुधबारकै दिन काठमाडौंमा बसेको बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो।

अब बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरिरहेका छन्।

नेकपा माओवादी केन्द्रका नेता जम्कट्टेल गत पुस २५ गते कांग्रेस, एमाले, राप्रपासहित ६ दलका १०५ सांसदको समर्थन पाएर मुख्यमन्त्री नियुक्त भएका थिए। उनले माघ ३ गते विश्वासको मत लिएका थिए। त्यतिबेला दिएको समर्थन राप्रपाले फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन्।

बागमती प्रदेश सभामा ११० जना सांसद छन्। विश्वासको मतका लागि ५६ जना सांसदले साथ दिनुपर्छ। बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन्। यसैगरी नेकपा एमालेका २७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

प्रकाशित मिति: : 2023-03-24 08:11:00

प्रतिकृया दिनुहोस्