गत २५ फागुनमा काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आउने बित्तिकै नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)ले सम्पूर्ण जहाज ग्राउन्डेड गर्यो। तर, समस्या त्यही भैरहवा उडेको जहाजमा मात्रै थियो।
प्राधिकरणका प्राविधिक टोलीले श्री एयरलाइन्स सबै जहाजको डकुमेन्ट मगाएर अनुसन्धान गरेपछि बेलुका मात्रै अन्य जहाजलाई उडान अनुमति दियो।
त्यस्तै चैत ४ गते काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या देखियो। क्यानले बुद्ध एयरका अन्य जहाजलाई ग्राउन्डेड पनि गराएन र अनुसन्धान पनि गरेन।
यी दुई घटनाबाट क्यानको नेतृत्वका बुद्ध एयरप्रतिको लगाव र झुकाव प्रष्ट हुन्छ। ९ दिनअघि अर्को कम्पनीको जहाजमा समस्या देखिँदा सबै जहाज ग्राउन्डेड हुने तर ९ दिनपछि अर्को कम्पनीको जहाजमा समस्या देखिँदा समस्या देखिएको बाहेक जहाज ग्राउन्डेड नहुनुले नियामक निकायले बुद्ध एयरलाई काखा र श्री एयरलाई पाखा गरेको देखिएको छ।
‘क्यानले कि श्री एयरका अन्य जहाज ग्राउन्डेड गर्नु हुँदैथ्याे कि चैत ४ गते बुद्धका पनि सबै जहाज ग्राउन्डेड गरेर अनुसन्धान पनि मात्रै उडान अनुमति दिनुपर्थ्यो,’ प्राधिकरणका एक पूर्व महानिर्देशकले भने,‘क्यानले बुद्धलाई देखिने गरी काखी च्यापेको देखिन्छ।’
नियामक निकायले एउटा सेवा प्रदायकलाई च्याप्ने र अर्कोलाई पेल्ने नीति ल्याउनु कदापी राम्रो नभएको ती महानिर्देशकको भनाइ छ। ती अधिकारीकाअनुसार क्यानले पटक-पटक बुद्ध र यती एयरप्रति उदारता देखाएको पाइन्छ।
‘क्यानका नेतृत्वकाे ती कम्पनीसँग कस्तो खाले सम्बन्ध छ, त्यसबारे मलाई केही जानकारी छैन् तर जे जस्ता हर्कत गरेका छन्, त्यो रहस्मय देखिन्छ,’ उनले भने।
क्यानका महानिर्देशक प्रदीप अधिकारीले नियामकीय अधिकार प्रयोग गरेर बुद्धलाई न्याय र श्रीलाई अन्याय गरेकाे स्पष्ट भएकाे छ।
पूर्व महानिर्देशकका अनुसार एक पटक मात्रै होइन्, बारम्बार अधिकारीले बुद्ध र यतीलाई समान व्यवहार र श्रीलाई अर्कै व्यवहार गरेका कयौं उदाहरण छन्।
‘यदि क्यानले एउटा जहाजमा समस्या देखिँदा सबै जहाज परीक्षण गर्ने नीति लिएको भए बुद्धका हकमा त्यही लागु गर्नुपर्ने थियो। तर, त्यसो गरेको देखिएन,’ ती महानिर्देशकले भने,‘बिनास्वार्थ एउटा कम्पनीलाई च्याप्ने र अर्कोलाई फ्याक्ने गरिँदैन।’