तिलगङ्गामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

काठमाडौं महानगरपालिका–९ तिलगङ्गामा ना३ख ६०६४ नंको गाडीको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ। 

गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौंको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो। 

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए।

यसैबीच काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छिन्। मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइनसहित बर्दिया मधुवन गाउँपालिका–६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ख ३५३१ नंको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।  

प्रकाशित मिति: : 2023-03-18 19:03:00

प्रतिकृया दिनुहोस्