
हिमालको दृश्य र त्यहाँको सुन्दरतासंग नजिक भएको म बाल्यकालदेखि नै हो। हिमाल भनेपछि हुरुक्क हुने म आफ्नै गृह जिल्ला दार्चुलामा अवस्थित अपि हिमालको दर्शन गरिब १७ वर्षअघि नै गरेको छु। सञ्चार क्षेत्रमा लागेदेखि भुइँमान्छेका समाचार र त्यसमा पनि अझ खोजमुलक समाचार गर्न औधी मनपर्ने भएकाेले एक महिना अगाडि मनास्लु हिमालसम्म पुगेको थिएँ।
त्यसो त ६ वर्षको दौरानमा वृतचित्रकै लागि ५ पटकसम्म मनास्लुमुनिका विभिन्न गाउँबस्तीमा पुगिसकेको छु, तैपनि अझै त्यहाँको सुन्दरतासंग धित मरेको छैन। स्थानीयका अनुसार ३० वर्षअघि र अहिलेका देखिने हिमालहरुको रङमै परिवर्तन आइसकेको छ। हिमालमा आएको परिवर्तन दिनानुदिन बदलिँदो छ।
पर्यावरणसम्बधी वृतचित्र निर्माणका साथै मनास्लुको बेसक्याम्प पुग्ने पुरानो रहर मेट्नु पनि थियो। गएको असोज महिना दसैँको समय, काठमाडौँबाट आफ्नो गाउँ दार्चुला जान ठिक्क परेको मलाई उत्तरी गोरखास्थित ल्हो गाउँबाट समाजसेवी दाजु पेम्बा रेताको फोन आउँछ। मौसम सफा छ। फोटो, भिडियो खिच्न र हिमाल हेर्नेको सामागाउँमा भिड छ। गाउँमा दसैँ मान्न तयार मलाई हिमालको सुन्दरताले तानिहाल्यो।
असोज १५ गतेका दिन म क्यामेरा, ब्याग र चाहिने सामान तयार गरेर एयरपाेर्ट पुगी एभरेस्ट हेलिकप्टर चढेर सामागाउँ लागेँ। दिउँसो करिब ३ बजे समागाउँ पुगेको म अलिक सुस्ताएँ र भोलि मनास्लु आधार शिविर पुग्ने कल्पनामा रमाउन थालेँ। असोज १६ गते आइतबार बिहानै बेसक्याम्पमा हिम पहिरो आएर १५ वटा टेण्टमा क्षति भएपनि मानव क्षति हुनबाट भने बचेको खबरले मनमा चिसो पसिसकेको थियो। तैपनि त्यहाँ पुगे केही दृश्य खिच्न पाइने मनमा लोभ पनि थियो।
उकालोमा पैदल हिँडेरै ५ घण्टा लाग्ने भएकोले साथी खोज्दै थिएँ, यतिकैमा एकजनाले भने, 'बेसक्याम्पसम्म हेली जान्छ, कुरा मिल्यो भने लग्न सक्छन्। हेलिप्याडमा पुग्दा प्रभुको हेली जाँदै थियो, मैले आफ्नो उदेश्यसहित अनुरोध गरेपछि अनुमति पाएर उडिहालेँ। कहाँ ६ घण्टा हिँड्नु पनि परेन, ५ मिनेटमा मनास्लुको बेसक्याम्प ओर्लिएँ।
समय मध्याह्नको १२:३० भएको हुनुपर्छ। माथि क्याम्प ४ तिर एकजना गाइड हिम पहिरोमा परेर अलपत्र भएको खबर सेभेन समिट कम्पनीको रेडियो सेटमा गुन्जिरहेको थियाे। म आफ्नो काममा लागेँ, त्यही सेभेन समिटको क्याम्पमा एक जनको अन्तर्वार्ता लिएँ र ठिक पारी देखिएको हिम पहिरोले ढाकिएको टेण्टको दृश्य कैद गर्नमा व्यस्त भएँ। मेरो पछाडिपट्टि एकजना सानो भाइ आएर सोध्छन्, 'कुन मिडियाबाट हो दाइ? यति टाढा कसरी आइपुग्नुभयो? आज मनास्लु हिमालको मौसम बिग्रेको छ, यहीँ बस्नुहुने हो? फर्किने कि?'
मैले सोधिहालेँ, 'तिमी को हौ? किन यति सोधेको?' जवाफमा भन्छ, 'यसपाली खराब मौसमको कारण मनास्लुमा आरोहण गर्नेहरुको संख्या ३० प्रतिशत पनि सफल भएन। म चाहिँ समिट गरेर आएको।' ओहो! दुई दिन अगाडि १६ वर्षकै उमेरमा मनास्लु चढेर रेकर्ड कायम गर्ने भाइ निमारिन्जी शेर्पा यही हो भनेर मैले चिनिहालेँ र क्यामेरा तेर्स्याएँ।
अन्तर्वार्ता सकेर तल सामागाउँ फर्किनुपर्ने थियो। मलाई बाटो थाहा छैन। तल झर्दा जम्मा ३ घण्टा मात्रै लाग्छ भन्ने सुनेको छु। एक्लै हतार हतार हिउँमाथिको भिरालो बाटो पछ्याउँदै डरैडरले तल झरेको केही घण्टा बीचबाटोमा मान्छे पनि भेटेपछि ढुक्क हुँदै स्थानीय भरियासंगै साँझ ७ बजे सामागाउँ पुगेँ।
त्यसै राति टाउको, जिउ दुख्यो। मनास्लुको चिसो हिउँले होला १०३ डिग्री ज्वरोले च्याप्यो। खाना नखाइ सुतेको म बिहान त होटलको ओछ्यानबाट उठ्नै सकिनँ। कुरो १७ गते को हो। मेरो उदेश्य बेसक्याम्प पुग्नु थियो, पुगिहालेँ। अब हिँडेरै ५ दिनमा काठमाडौँ पुग्ने भनी सकिनसकी सामागाउँबाट चिनेको दाजु पेम्बा रेताको होटल आएँ, ज्वरोले च्यापेकै छ। सोचेँ, हिँडेर निको हुन्छ। त्यो रात खाना खान सकिनँ।
भोलि १८ गते बिहानै उठेर तल नामरुङसम्म पुग्ने प्लानिङ बनाएको थिएँ, एक्कासी ज्वरोले उग्ररुप लिन थालिसकेको छ। त्यही बिहानदेखि ४ दिनसम्म हिउँ-पानी परेर भित्रको मान्छे बाहिर हिँड्नै नसक्ने मौसम। फसादमा परियो। जाडोले थेग्न सकेको छैन। औषधि सिटामोलसम्म छैन। बसेको ठाउ नजिक मेडिकल छैन। औषधि लिन जाने कहाँ? मर्नुको विकल्प छैन।
टाउको दुखेर रात-दिउँसाे रोएको रोएैछु, आँखाका परेला सुनिएर हेर्नै नसकिने, भात नखाएको ४ दिन भैसकेको छ। मन आत्तिसक्यो, कमसेकम औषधि खाएर मर्न पाए पनि हुन्थ्यो भन्ने समेत भैसक्यो। चौबिसै घण्टा ज्वरो आएको छ, उठ्न सकेको छैन। राति भयो कि मरिने डरले सपना पनि डरलाग्दो, ऐठन भएको भएैछ।
रातको बीच समय-समयमा पेम्बा दाइ आएर राजेन्द्र कस्तो छ? भनेर सोध्छन्। मेरो औषधि र स्याहार गर्ने उनी एक्ला आफन्त थिए। उनले 'डराउनु पर्दैन भाइ भोलि मौसम सफा हुन्छ, आत्मबल बढाइराख' भन्दै कहिले त्यहाँको वनमा पाइने जडिबुटीको झोल त कहिले खोले बनाएर मलाई ढाडस दिइराखे।
१९ गते दसैँको दिन, त्यहाँ फोनको टावर छैन। एक त मैले बिरामी भएको कुरा ३ दिन अगाडि काठमाडौँमा मेरो श्रीमतीलाई खबर गरिसकेको थिएँ। ओछ्यानमा पल्टिएरै घरपरिवार, केटाकेटी र साथीभाइ सम्म्झिँदै रुँदैछु भने अर्को कुरा अब त प्राण त्यागिने भयो भनी झन डिप्रेसनमा पुगिसकेको मलाई भगवान पुकार्नुबाहेक कुनै विकल्प थिएन। त्यही दिन ओछ्यानबाट सकिनसकी उठेको मोबाइलमा सानो टावर देखियाे। अनि चिनेका र हेलीसंग सम्बन्धित मान्छेलाई कल गर्न थालेँ। म स्याला भन्ने ठाउँमा छु, पेम्बा दाइले मेरो स्वास्थ्य अवस्था गम्भीर भएको बुझिसकेका थिए। उनको मनमा पनि सायद डर थियो। उनले सामागाउँमा फोन गरेर वीरबहादुर लामा दाइलाई मेरो इतिवृतान्त बताइहाले। उनले भोलि बिहान राजेन्द्रलाई ल्याएर सामा फर्किनु भने। फेरि मौसमको ठेगान छैन।
२० गतेको बिहानको पर्खाइ, झन हिउँ र पानी परेर हिँड्नै नसकिने अवस्था छ। म त झन थला परेँ। हे भगवान! के गर्ने होला? एम्बा दाइ मसंगै बसेर सिरकमाथि सिरक खप्ट्याउँदै घरी अण्डा बोइल ल्याउँछन्, घरी उही खोले त घरी के के हो कुन्नी शुप ल्याइदिन्छन्। धन्य हो पेम्बा दाइ, धन्य हो। मेरो श्वास बचाएर राखिदिनु भएकोमा। उनी मेरो पीडामा छटपटिएको बुझिरहेको छु। हिउँ परेकै छ, बाहिर निस्किएर कहाँ हो कुन्नी गएर एउटा जीवनजल र दुई चक्की सिटामोल ल्याएर आउँछन्। 'यहाँ गाउँभरिमा यति रैछ' भनेर तातो पानीसंगै खुवाउँछन्।म खाँदै गर्दा उनको अनुहारमा सन्तोषको भाव देख्छु। ज्वरो कम हुने कुरै छैन।
भोलि २१ गतेको बिहान एक घण्टा हिँडेर पुगिने सामागाउँ आइपुग्न ३ घण्टा लाग्यो। शरीरले अन्न ग्रहण गर्न नपाएकै ५ दिन भैसकेको थियो। मौसम पनि थोरै खुलेकोले आशैआशमा सामाको स्वास्थ्य चौकी भवन पुगेँ। स्वास्थ्य चौकीमा पुगेर औषधि खाएँ, निबुलाइस्जर गरियो, नजिकै रहेको हेलिकप्टर बस्ने ठाउँसम्म जसोतसो पुगेँ।
हेलिप्याडमा हेलिकप्टर आएर बस्छ अनि विदेशीलाई ट्याप टिपेर लैजान्छ। त्यो देखेर अलिअलि साहस पनि आउँछ। विदेशीका लागि डलरमा रिजर्भ गरिएका हवाइ साधनमा मैले हेलीको पैसा तिरेर काठमाडौँ फर्किने कुरा गर्दा ३ दिन कुर्नुपर्ने जवाफ आउँछ। सुन्दै 'म त ढलेँ अब भने बाँचिँदैन' भन्ने भयाे। सामागाउँका होटल व्यवसायी वीरबहादुर दाइको सिफारिसले पनि आजको लागि काम नगर्ने बुझेपछि मेरो इहलिला सकियो।
वीरबहादुर समागाउँको अर्को ठुलो नाम हो। हेलिकप्टर साहु, आरोही दलका सम्पूर्णको बासस्थान उनैको होटल हो। उनी मेरै लागि आज होटलको काम छोडेर हेलिप्याडमा ३ पटक आइसकेका छन्। मनास्लु आइपुग्ने आरोही र पर्यटक तथा आगन्तुकका हातहरु वीरबहादुरका लागि जोडिन्छन् तर आज भने मेरै लागि अरुका अगाडि हात जोड्दै गरेको मेरो बिरामी आँखाले देखिरहेका छन्।
वीरबहादुर दाइले अन्तिममा केही नलागेपछि नेपालकै सबैभन्दा ठुलो माउन्टेनरिङ कम्पनी सेभेन समिट तथा एभरेस्ट हेलीका सञ्चालक मिङ्मा शेर्पालाई अनुरोध गरेछन्, 'एक जना सञ्चारकर्मी भाइको अवस्था नाजुक छ, सकिन्छ भने रेस्क्यु गर्दिनुपर्यो।' उनले हेरौँलासम्म भनेका रैछन्। निरास मुद्रामा म कहाँ आएर भने, 'राजेन्द्र भाइ तपाईं आफैँ त्यो मान्छेसंग कुरा गर्नु, उनको चित बुझ्यो भने सहयोग गर्छन् तर पैसा चाहिँ तिर्नुपर्छ।' मैले पनि बाँच्नको लागि 'पैसा ऋण लिएर भए पनि गर्छु तर मलाई यहाँबाट पठाइदिनुपर्यो' भनेँ।
एकछिनपछि म आफैँ तिनै मिङ्मा नाम गरेको दाइ नजिक गएर उभिएँ, कमजोर र जिर्ण शरीर लिएर ज्वरोले काम्दै भनिहालेँ, 'दाइ मलाई बचाउनोस्। म अब सक्दिनँ, मेरो अन्तिम समय हो जस्तो भैसक्यो। म आभारी हुनेछु, मलाई आज जसरी पनि रेस्क्यु गर्दिनोस्, मलाई बाँच्नु छ।' उदेश्यसहित सबै कुरा राखेपछि उनले 'उता आराम गर्नोस्' भने।
'आजको अन्तिम फ्लाइटमा पनि मलाई अस्पतालसम्म पुर्याउँछन्' भन्ने मनमा विश्वास लाग्यो। एक प्रकारले मलाई बचाउन त्यहाँ मेरो अगाडि भगवान प्रकट भएझैँ लाग्दैछ। पानी परेकै छ, ज्वरो १०३ आएकै छ। म ढुंगाको अडेस लाग्दै सुतेको थिएँ, १० मिनटपछि कसैले मलाई बोलायो, 'आउनोस्, ओहो!' उनको हेली एभरेस्ट ल्याण्ड भयो र मलाई हेलीमा राखियो। पैसा कति हो तिर्नुपर्ने भनेर उनका सहयोगीलाई भनेको, मिङ्मा सरले 'यो मान्छेबाट पैसा नलग्नु' भन्ने आदेश छ रे।
हेलीमा बसेपछि साँची मेरो लागि उनी साक्षात भगवान प्रकट भएको महशुस गरेँ। हेली स्टार्ट हुन्छ। भित्रबाट मेरा आँखा त्यही मान्छेलाई खोज्दै थियो, एक छिन उनलाई देखेँ र त आँखाबाट आँशुको धारा बगेर आयो। मलाई आधी घण्टाभित्रै पुग्नुपर्ने ठाउँ पुर्याइयो। म बाँचे, उनले मलाई बचाए। मेरो अर्को जुनी सुरु भयो। उनी त पैसाको मात्रै नभएर मनका पनि ठुला धनी रैछन्। कलियुगमा सबै राम नहोलान् तर उनी रामका अनुयायी हनुमान प्रकट भएर मेरो उद्दार गरिदिए।
१ .
२ .
३ .
४ .
५ .