कला–संस्कृति र सभ्यताको धनी मुलुक हो– नेपाल। विश्वमानचित्रमा हिमालको देश भन्ने चिनारी बनाएको छ यसले।
वास्तवमा दुनियाँले चिनेको नेपाली पर्यटन क्षेत्रलाई नेपालले नै राम्रोसँग चिन्न सकेको छैन भन्दा फरक नपर्ला। सेता हिमालमा फुल्ने लालीगुराँस अनि पहाडमा फुल्ने चम्पा–चमेली र तराईमा झुल्ने धानबालीले सम्पूर्ण नेपालको भौगोलिक प्रतिनिधित्व गर्दछ।
नेपालको पर्यटन क्षेत्रलाई संसारले चिन्ने प्रयास जति गरेको छ, राज्यले त्यो पनि नगरेको सुदूर-पश्चिम प्रदेशको दार्चुला जिल्लास्थित अपी हिमालको 'क्लाइम्बिङ' इतिहास हेर्दा थाहा हुन्छ। ७१३२ मिटर उचाइ भएको यो हिमाल जिल्लाको उत्तर पश्चिममा अवस्थित छ।
अपी हिमालसँगै उभिएर बसेको अर्को हिमाल हो– नाम्पा। व्यास गाउँपालिका–१ऽ छाङ्ग्रु गाउँको अगाडि ठिङ्ग उभिएका सुन्दर अपी-नाम्पा हिमालहरू सुन्दर मात्रै हैन, त्यो क्षेत्रको गहनाको रुपमा समेत परिचित छ।
आजभन्दा १२२ वर्षअघि अपी हिमाल आरोहणका लागि सन् १८९९, १९०५, १९३६ पर्वतारोहीहरू अपी 'बेस–क्याम्प' सम्म पुगेको अभिलेखले बताउँछ। अपी हिमाल नेपालका अन्य हिमालभन्दा आरोहणका लागि केही कठिन मानिन्छ। त्यसैले आरोहण 'टीम' अनुसन्धान मात्र गरेर फर्किएको थियो।
बाटो अभावका कारण त्यति बेला दार्चुला सदरमुकामबाट छाङ्ग्रु पुग्न मात्रै १५ दिन जति लाग्थ्यो। आरोहण दलले अपी हिमाल, त्यसको भूगोल र हिमाल चढ्दा आउनसक्ने कठिनाइका साथै त्यसको रुट अनुसन्धानमै करिब ३७ वर्षलामो समय खर्च गरे।
सन् १९५३ मा जोहन टाइसनसँगै स्कटल्याण्डका नागरिक डब्लु एच मुर्रे लगायतको आरोहण दलद्वारा हिमाल चढ्ने पहिलो प्रयास गरियो तर त्यो पनि सफल भएन। फर्किएर आयो।
अर्को वर्ष सन् १९५४ मा इटालियन नागरिकसहितको पर्वतारोही आरोहण दलले प्रयास गरे पनि दुई जनाको हिमालमै मृत्यु भएको थियो। नेपाली पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने कुरा सय वर्षअघि राणा सरकार र सरकारमा रहेकाहरूको कतिको दूरदृष्टि रहेछ भन्ने कुरा साबित गर्छ।
अपी हिमालको आरोहण इतिहास हेर्दा सन् १९६० मा पहिलो चढाइ 'द डोसिसा अल्पाइन सोसाइटी अफ जापान' का आरोहीहरू कत्सुतोसी इराबयासी, ग्याल्जेन नोर्बु, एम. तेरासी र वाई च्सुदाहरूले सफलताका साथ अपी हिमाल चुमेको अभिलेख छ।
अपी हिमाल आरोहणको ६० वर्ष पूरा गरिसकेको छ तर पछिलो ३८ वर्षदेखि कुनै एउटा पनि पर्वतारोही त्यहाँ पुग्न नसकेको पर्यटन विभागको एउटा रिपोर्टले बताउँछ। पर्यटनको प्रचूर संभावना भएको देश नेपाल भन्दै प्रचार गर्ने सरकारले यी र यस्तै अन्य सुन्दर सेता हिमालहरूलाई अँध्यारोतर्फ डोर्याउँदै पो छ कि भन्ने आशंका देखिन्छ।
त्यति खेरसम्म अपी हिमाल चर्चाको विषय भइसकेको माथिको तथ्याङ्कले प्रष्ट पार्छ। अपी हिमाल त्यति खेर विदेशीहरूको नजरमा परिसकेको कुरा राज्यले बुझेकैले आरोहण दलका पर्वतारोहीलाई तत्कालीन सरकारले हिमाल चढ्न नि:शुल्क गरिदिएको थियो।
सात समुद्रपारिबाट नेपाल आउन यहाँ हवाई सेवा थिएन। महिनौँलामो पानी जहाजको यात्रा गरेर कोलकाता पुगिन्थ्यो। नेपाल–भारत सीमाबाट काठमाडौंसम्म पैदलै आउने गर्थे। हिमाल कहिल्यै देख्न नपाएकाहरू नेपालका हिमाल हेर्न मात्रै आउँथे भने पर्वतारोही भने हिमाल चढ्न सकसपूर्ण यात्रा तय गरेर काठमाडौंबाट फेरि महिनौसम्मको यात्रा तय गर्दै दार्चुला पुग्थे।
त्यतिखेर दार्चुलाबाट राजधानी आउनेको सङ्ख्या औँलामा गन्न सकिन्थ्यो। राजधानी आउने मान्छेलाई 'नैपाली' भन्थे किनभने त्यो बेला गाउँका मानिस काठमाडौंलाई नेपाल भन्ने चलन थियो। दार्चुलाबाट राजधानी पैदलै आउनुपर्ने कुरा अहिले पनि बूढापाकाहरू सुनाउँछन्।
राज्य त्यो बेला पनि नेपाली पर्यटन प्रवर्द्धन गर्न तल्लिन थियो भन्ने उदाहरण हो– सुदूरको जिल्ला दार्चुलासम्म विदेशी पर्यटक पुग्नु। आजभन्दा १२० वर्षअघि पनि दार्चुलाले पर्यटक धानेको रहेछ तर अहिले भने अपी हिमालको नाम सुन्नुबाहेक पर्यटन विभागसँग त्यसको एउटा रिपोर्टसम्म नहुनु दु:खद् कुरा हो। राज्यले कैयौँपटक पर्यटन वर्ष बनाइरहँदा अपी हिमालले कहिल्यै गुनासो गरेन।
त्यति मात्रै हैन, ऊ आफैँमा गुमनाम थियो। उसलाई राज्यले चिन्ने प्रयाससमेत गरेन। पर्यटन वर्ष काठमाडौंका होटलहरूमा सेमिनार गरेर मनायो। चिनिएका हिमालहरूको प्रचार गर्न उद्दत भयो।
राज्यले वर्षेनी करोडौँको रकम पर्यटन प्रवर्द्धनका लागि खर्च गर्छ। त्यसमध्ये अपी र साइपालको लागि कति खर्च गर्छ, त्यो हिसाब न पर्यटन बोर्डले देखायो न पर्यटन विभागले । न त पर्यटन मन्त्रालयले नै देखायो।
पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई अपी हिमालको रेकर्ड माग्नुभयो भने पुरानो कुनै फाइल आफूसँग नभएको बताउँछन् । १० वर्षदेखिको रेकर्ड मात्रै रहेको जानकारी दिन्छन्।
नेपाल पर्यटन क्षेत्रबाट मात्रै आयआर्जन गर्नसक्छ भन्ने विज्ञहरू पनि यो विषयमा चुकेको भान हुन्छ। व्यास गाउँपालिका र अपी गाउँपालिकाको मध्ये रेखामा उपस्थित हिमाल सुन्दर मात्रै छैन, यो दार्चुलाकै धरोहर र पहिचानको रुपमा उभिएको छ।
व्यासस्थित छाङ्ग्रु गाउँको आँगनमा अवस्थित अपी हिमालको दोश्रो चढाइ सन् १९७८ मा सोही टीमले गरेको आरोहण गरेको थियो। त्यसपछिका वर्षहरूमा पनि कैयौँ प्रयास भए पनि सबै असफल भएको थियो।
तेश्रो सफलता भने सन् १९८३ सिम्बर जाडो महिनाको थियो, जुन 'विण्टर सिजन' को पहिलो सफल प्रयास मानिछ। यो टीमका ११ जना पर्वतारोहीको नेतृत्व पोलिस नागरिक पिओत्रोव्स्कीका साथै आन्द्रेज बिएलुन, ज्बिन्यु तेर्लिकोस्कीहरूले शिखर चुम्न सफल भएका थिए।
त्यस बेला एउटा डर लाग्दो घटना घटेको थियो। समय रातिको ७ बजेको थियो। चीसो हावाको बेग र अँध्यारोको कारण बाटो बिराएपछि चिप्लिएर १५० फिट तल अँध्यारो ओडार (black whole) मा खसेका तेर्लिकोस्की चोटपटक लागे पनि २४ डिसेम्बरको 'क्रिसमस इभ' त्यही मनाएको कुरा उल्लेख गरिएको छ।
भोलि पल्ट सहजै क्याम्पमा फर्किए पनि आन्द्रेज बिएलुनको मृत्यु भएको कुरा उनका सहकर्मीले बताएका थिए, जुन सन् १९८४ को एक अमेरिकी पत्रिकामा छापिएको थियो। सन् १९८४ डिसेम्बर २४ क्रिसमसको राति अपी हिमालमा जीवनअर्पण गर्ने आन्द्रेज बिएलुनलाई हार्दिक श्रद्धाञ्जलिका साथै शिखर चुमेर फर्किंदा हिउँको खर्पसमा (black whole) खसेर अध्याँरोमा त्यही क्रिसमस इभ मनाउनुहुने ज्बिन्यु तेर्लिकोस्की र अर्का आरोही पोलिस नागरिक पिओत्रोस्किकलाई ह्यापी क्रिसमस डे !
हिमालका कुरा गरेर कहिल्यै नथाक्ने राज्यले सुदुरका हिमालहरू किन देख्दैन अथवा उसका बारेमा किन बहस गर्दैनन्, ताजुब लागेर आउँछ। हिमाल चढेको करबाटै राज्यले पर्यटन क्षेत्र धानेको भए पनि अपी-सैपालजस्ता हिमालको कहिँ कतै छलफल तथा बहससमेत भएको देखिँदैन।
हुन् त् स्थानीय स्तरमा पर्यटनको विषयलाई त्यतै चासोका साथ हेरेको देखिँदैन तर पनि राज्यले त कमसे कम पनि त्यो क्षेत्रमा अधिकतम खर्च गर्नुपर्छ। अन्य क्षेत्रमा अथवा दुनियाँले जानेका र चिनेका क्षेत्रभन्दा पनि ऊ बेला आजभन्दा १२२ वर्षअघि निकै चर्चामा रहेको हिमाल अपी आज सम्बन्धित निकायलगायत राज्यको लापर्वाहीले गुप्त बासझैँ अवस्थामा छ।
साढे तीन महिनाको पैदल यात्रा गरेर अपी पुग्ने यात्रीहरू किन त्यहाँ पुग्थे ? अथवा किन विदेशी पर्यटक र पर्वतारोहीहरू त्यो ठाउँ नै रोज्थे ? यो विषयमा कुनै पनि निकाय गम्भीर नदेखिएको बुझिन्छ। अझ स्थानीय निकाय प्रदेश सरकार र संघीय सरकार यसमा दोषी देखिन्छन्।
अन्तिम समय सन् १९८३ सम्म हिमाल आरोहण गरेको पाइए पनि त्यसपछिको समयमा कोही पनि नपुगेकाले सम्पूर्ण निकाय निकम्मा भएका हुन् कि ? एउटा बुझ्नुपर्ने कुरा, यदि एउटा आरोहीले अपी हिमाल आरोहण गर्छ भने ऊबाट राज्य उठाउने करको २५ प्रतिशत स्थानीय तहले, २५ प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत कर संघीय सरकारले पाउने कुरा जना स्तरमा बुझाउने प्रयास गरे मुनाफा हुने विश्वाशमा स्थानीय पनि अवश्य जुरामुराउने थिए। अब समय ढुङ्गे युगबाट वैज्ञानिक युगमा पुगिसकेकाले पर्यटनको क्षेत्रमा सबैले हस्टेमा हस्ते गर्नुको विकल्प छैन।