हिमाकाे पाँच नम्बर वडाका सबै बालबालिका विद्यालयमा

जुम्लाकाे हिमा गाउँपालिकाकाे ५ नम्बर वडाका सबै बालबालिका विद्यालय जान थालेका छन्। यही खुसियालीमा गाउँपालिकाले वडाभित्र रहेका ४ देखि १६ वर्षमुनिका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेकाे औपचारिक घाेषणा गरेकाे छ।

शुक्रबार शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको वडाका रुपमा हिमा ५ लाई घोषणा गरिएको हो। साे अवसरमा जिल्लामा अहिले पनि हारिज लाउने र पढाइ हुने अलगअलग विद्यालय छन् भन्ने बुझाई भएकाेले हिमाकाे पाँच नम्बर वडाले नयाँ सन्देश दिएकाे जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए।

'कुनै पनि बालबालिका विद्यालय बाहिर हुन नदिनु अहिलेको अपरिहार्यता हाे,' उनले भने, 'बालबालिका विद्यालय भर्ना भएर मात्रै नहुने हुँदैन। गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा जिम्मेवार बन्न पनि पर्छ।' हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले शिक्षा संसार हेर्ने झ्याल भएकाे बताए।

'सबै बालबालिका विद्यालयमा भर्ना गराउने काम संसारकाे सबैभन्दा उत्तम काम हाे,' उनले भने, 'हामीले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका छाैं। याे हाम्राे लागि संसारकाे सबैभन्दा विकसित देशले हासिल गरेकाे उपलब्धि भन्दा ठूलो कुरा हाे।'

प्रमुख अतिथिसमेत रहेका समन्वय प्रमुख आचार्य, पालिका अध्यक्ष शाही र प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले संयुक्त रुपमा सबै बालबालिका विद्यालय भर्ना भएको वडाका रुपमा हिमा -५ लाई घोषणा गरेका हुन्।

हिमाकाे शैक्षिक अवस्था दिनदिनै सुधार हुँदै गएकाे प्रजिअ केशरीले बताए। 'विद्यालयको पहुँचमा सबै बालबालिका पुग्नुपर्ने अभियान जिल्लाभर चलाइनुपर्छ,' उनले भने, 'शिक्षकको सक्रियता, विद्यार्थीको लगनशिलता र अभिभावकको बालबालिकाप्रतिको चिन्ताले मात्रै गुणस्तरीय शिक्षा हासिल गर्न सकिन्छ।'

हिमा-५ मा बाँजागाड र बुअ दुई गाउँ छन्। दुई गाउँले पढ्ने रुपाकोट आधारभूत विद्यालय बाँजागाड र कालिका माध्यमिक विद्यालयमा शतप्रतिशत बालबालिका भर्ना भएको पालिकाकाे शिक्षा शाखा प्रमुख दन्तराज रावतले बताए। 'वडाभित्र ३ सय ३० घर छन्। सबै घरका बालबालिका विद्यालयसम्म पुगेका छन्,' उनले भने।

हिमा गाउँपालिका, किर्डाक नेपालको र प्लान नेपालकाे समन्वयमा विद्यालय भर्ना अभियान सुरु भएदेखि नै बालबालिका विद्यालयको पहुँचमा पुर्‍याउन विभिन्न क्रियाकलाप गरिएको थियो।

गत माघ २५ देखि विद्यालय भर्ना अभियान सुरु भएकोमा प्रत्येक बालबालिकाको घरघरमा पुगेर विद्यालय बालबालिका पठाउन हरेक अभिभावकलाई आग्रह गरिएको थियो।

कालिका माविमा ६३० जना विद्यार्थी भर्ना भएकामा रुपाकोट आधारभूत विद्यालयमा २८३ विद्यार्थी भर्ना भएका हुन्। यससँगै ४ वर्षदेखि माथि १६ वर्षदेखि मुनि उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन्।

हिमाको शिक्षा शाखाका कर्मचारीहरु, शिक्षकहरु, किर्डाक नेपालका कर्मचारीहरु र जनप्रतिनिधिहरु प्रत्येक घरदैलोमा पुगेर अभिभावकलाई शैक्षिक चेतना जागृत गराएका थिए। फलस्वरुप सबै बालबालिका विद्यालयको पहुँचमा पुर्‍याउने वडाको रुपमा चिनिएको जनप्रतिनिधिहरूले बताए।

'पहिलो पटक हिमा ५ शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडाका रुपमा घोषणा भएको छ,' अध्यक्ष शाहीले भने, 'अब सबै वडाहरुमा घनिभुत रुपमा कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने हिसाबले अभियान चलाइनेछ।'

हिमालाई शिक्षा क्षेत्रको उत्कृष्ट पालिका स्थापित गर्न स्थानीय सरकार लागिपरेको वडा नम्बर एकका अध्यक्ष तथा हिमाका प्रवक्ता रतन बहादुर शाहीले बताए।

'विद्यालय भर्ना अभियानका क्रममा केही सूचकहरु बनाइएको थियाे,' उनले भने, 'ती सूचकमा विदयलाय उमेर समुहका बालबालिकालाई विद्यालामा भन्दा भएका सम्बन्धि निर्देशिका २०७९ र तथ्यासंकलन फर्मलाई प्रमुख मानिएकाे थियाे।'

प्रकाशित मिति: : 2023-03-18 12:24:00

प्रतिकृया दिनुहोस्