निर्मल पुर्जालाई दोहोरो राहदानीमा कारबाही गर्न अध्यागमन र प्रहरीमा उजुरी, रविको छानबिन अझै टुङ्गिएन

उकेरा

काठमाडाैँ

सेलिब्रिटी पर्वतारोही निर्मल पुर्जाले दोहोरो राहदानी प्रयोग गरेको दाबी सहित अध्यागमन विभाग र प्रहरीमा निवेदन परेको छ। पुर्जा बेलायती नागरिक हुँदाहुँदै उनले नेपाली राहदानी समेत बनाएर प्रयोग गरेको दाबीसहित विभाग र जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन परेको हो।

दुवै निकायले निवेदनबारे जाँचबुझको काम सुरु गरिसकेको जनाएका छन्। पुर्जा बेलायत र नेपालको नागरिक रहेको र उनले त्यसैको आधारमा दोहोरो राहदानी बनाएकोबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

सन् २०१२ जुन २८ मा बेलायती नागरिकको हकमा बेलायती राहदानी बनाए पनि पुन सन् २०१५ मार्च १६ मा नेपाली राहदानी समेत बनाएका थिए।

कुनै नेपाली नागरिकले विदेशी नागरिकको कानुनी मान्यता पाए लगत्तै नेपाली नागरिकको कानुन हक निष्क्रिय हुने कानुनी व्यवस्था छ।

सो अनुसार पुर्जाको नेपाली नागरिकको हैसियत सन् २०१२ मै निष्क्रिय भए पनि त्यही निष्क्रिय नेपाली नागरिकताको प्रमाण पत्र पेस गरेर उनले नेपाली राहदानी निकालेका हुन्।

उकेराले पुर्जासँग दोहोरो नागरिकता रहेको प्रमाण सार्वजनिक गरेपछि उनी बेलायत गएर बेलायतमा रहेको नेपाली दूतावासमार्फत म्याग्दीबाट निकालेको नेपाली नागरिकता निष्क्रिय गराइसकेका छन्। तर राहदानी भने अझै सक्रिय नै छ।

प्रकाशित मिति: : 2023-03-15 17:06:00

प्रतिकृया दिनुहोस्