इरानले साउदी अरबसँग सम्बन्ध सामान्यीकरण गर्न तयारः इरानी सञ्चारमाध्यम

रियादले मङ्गलबार सौहार्दपूर्ण वार्ताबारे सकारात्मक सङ्केत पठाएपछि इरानले साउदी अरबसँग द्विपक्षीय सम्बन्ध सामान्यीकरणका लागि थप वार्ताको स्वागत गरेको जनाएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) सँग सम्बद्ध नूर न्यूजले एक ट्वीटमा भनेको छ, 'इरान वार्ताको निरन्तरताको स्वागत गर्दछ र सम्झौतामा पुग्न तयार छ।'

इरानी सञ्चारमाध्यमले भनेको छ, 'साउदी अरबका विदेशमन्त्रीले इरानसँग पुनः वार्ताका लागि तयार रहेको घोषणा गर्नुभएको छ। पाँच चरणको वार्ताले चासोका विषयहरूलाई पूर्णरूपमा स्पष्ट पारेको छ।'

साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले मङ्गलबार लण्डनमा पत्रकारहरूसँग कुरा गर्दै साउदी अरब इरानसँग वार्ताका लागि तयार रहेको बताएका थिए। 

साउदी अरबले सन् २०१६ को सुरुमा इरानस्थित साउदी कूटनीतिक नियोगमा एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि भएको आक्रमणको प्रतिक्रियास्वरूप इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो। द्विपक्षीय सम्बन्ध सुधार गर्न र क्षेत्रीय तनाव कम गर्न इराकको मध्यस्थतामा सन् २०२१ मा इरान र साउदी अरबबीच चार चरणको प्रत्यक्ष वार्ता आयोजना गरिएको थियो भने गत वर्ष अप्रिलमा पाँचौँ चरणको प्रत्यक्ष वार्ता आयोजना गरिएको थियो।

प्रकाशित मिति: : 2023-03-09 05:55:00

प्रतिकृया दिनुहोस्