विगतका वर्षहरूमा हिउँदका महिनाहरू चिनिन्थे घाम ताप्ने महिनाका रुपमा। फुर्सदिला देखिन्थे मान्छेहरू। हिउँद सुरु नहुँदै दरवानी गर्ने उद्देश्यले भारततिर हिँडिसकेका हुन्थे मध्य तथा सुदूरपश्चिमका पुरुषहरू। जताततै डाँडाकाँडामा हिउँ फुलेको देखिन्थ्यो। सेताम्ये डाँडाहरूबाट आइरहन्थ्यो सिरसिरे चिसो बतास।
हिजोआज यी सब कुरा बद्लिँदै गइरहेका छन्। तर बद्लिन नसकेको एउटै कुरा छ, विदेशिनु। भारततिर लम्किरहेकै छन् पाइलाहरू। खाडी मुलुकतिरको यात्राका लागि उत्तिकै मोह छ युवाहरूमा। १२ कक्षा उत्तीर्ण हुने बित्तिकै विदेशको सपना देख्नेको संख्या उत्तिकै बढिरहेको छ। गाउँ रित्ता बन्दैछन्। निराशाको बादल मडारिन थालेको छ। देशको राजनीतिले उदास र चिन्तित तुल्याएका मनहरू एत्रतत्र भेटिन्छन्। मेरो देश चिन्ता फलाउने, निराशाको बादल देखाउने, झोलेहरू जन्माउने, दलाल र भ्रष्ट सम्राटहरूको मुलुकको पगडी गुथेर देखापरिरहेको छ। जहाँ पसलमा जिरा धनियाँ खरिद गरेझैँ खरिद गरिन्छ भोट।
जिल्लामा अचेल मौनता छाएको छ। प्रदेश राजधानी कैलाली पुगेपछि दिन प्रतिदिन मुर्झाउँदै गएको फूलको थुङ्गाझैं बनेको छ यहाँको परिवेश। रानो बिनाका माहुरी जस्ता उदास मनहरू छन्। वर्षौंदेखि परदेशी छोराको आँगमनको गोरेटो हेर्दाहेर्दा निराश बनेका वृद्ध आमा-बुवाजस्ता विकासका नाराहरू छन्।
ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसाबले सम्भावना बोकेको भूमि निरीह बनेको छ। स्थानीय तहहरूमा गएको बजेटको उपलब्धि देखिँदैन। प्रदेश र केन्द्रको चुनाव जितेकाहरूको अनुहार देखिँदैन। यहाँ विकासमा हिउँद लागेको छ। आशामा तुवालो लागेको छ। मानवतामा ढुसी लागेको छ, जताततै अमानवीयता र गतिहिनताको जालो बढिरहेकै छ।
झण्डै ६० वर्षअघि बनेको विमानस्थल केही वर्षअघि मात्रै पुनः कालोपत्रे गरिएको थियो। दिपायलको उक्त विमानस्थल संग्रहालय जस्तो पनि देखिँदैन किनकि संग्रहालय हेर्न त मान्छेहरूको आवतजावत भइरहन्छ। यसलाई त कोही हेर्नसम्म पनि आउँदैनन्। मात्र उत्तानो परेर चिहाइरहेको छ आकाशतिर। विमानस्थल माथि परेड खेलिरहन्छन् कहिलेकाहीँ कागहरू। आउँदैनन् राज्यका कागरुपी कुनै प्लेनहरू।
अहिले वसन्त ऋतुको आगमनको बेला हो। वसन्त ऋतुको आगमनसँगै त्यही एयरपोर्ट नजिक देखिन्छ मान्छेको सानोतिनो भीड। उक्त भीडको नाम दिइएको छ तेस्राे प्रादेशिक डोटी महोत्सव। त्यो महोत्सवमा के के पाइन्छ? कस-कसलाई महोत्सवको बारेमा जानकारी छ? महोत्सवको अर्थ र उद्देश्य के हो? यसले दिने सन्देश के हुनुपर्छ? स्वयम आयोजकलाई नै थाहा नभएजस्तो। लहैलहैमा अरुको देखासिकीमै तय गरिएको उद्देश्यविहीन कार्यक्रम जस्तो। केही टाठाबाठाहरूले पैसा कमाउने गतिलो योजना तय गरेजस्तो। भीडसँग विवेक हुँदैन। शायद मात्र भीड बटुल्ने सोच बोकेका आयोजकले पनि गुमाउन पुगेछन् विवेक।
भीड जम्मा गर्ने पद्धतिको नाम डोटी महोत्सव राखिएको छ। तर, एक हिस्सा पनि समेट्न सकेको छैन डोटेलीपन। डोटेली परिकारदेखि डोटेली उत्पादनका समग्रीहरू छैनन्। डोटेली नवप्रतिभाको खोजी गर्ने खालको सोच देखिँदैन। मौलिकताको खडेरी देखिन्छ त्यहाँ। तर पनि चलिरहेको छ महोत्सव।
डोटेली सभ्यता र संस्कृतिको पहिचान बोकेको सामान्य सङ्ग्रहालयसम्म बनाउने सोच छैन जिल्लाका अगुवाहरूमा। सर्वसाधारण जनताले खरिद गरेको टिकटको रकम केवल सेता तिर्धाधारीलाई बुझाउँदै संस्कृति संरक्षणको पगडी गुथिन्छ। हामीले महोत्सव मनायौं भनेर फुर्ति लडाइन्छ। कति दयनीय छ अवस्था।
महोत्सव शब्दले निकैबेर सोच्न बाध्य तुल्याइरह्यो। मनमनै आफैँले आफैंसँग बात मार्न पुगेँ। गहिराइमा गएर महोत्सवको अर्थ खोज्ने हो भने त महोत्सव ज्ञानीहरूका लागि बनेको शब्द हो। परमात्मामा लिन हुनेहरूका जीवनमा सधैँ नै महोत्सव आइरहेको हुन्छ। उल्लास र उमंगको हावा चलिरहेकै हुन्छ। तर, हामी जस्ता सामान्य मनुवाका लागि महोत्सवको अर्थ र गरिमा त्यतिबेला झल्किन्छ, जतिबेला हामी जिल्लामा कृषि क्रान्ति गर्न सक्छौं। अर्थात कृषि क्षेत्रमा फड्को मारी उदाहरणीय बन्न सक्छौं।
किसानले आफ्ना उत्पादन बेच्नुका साथै उक्त उत्पादनको प्रचारप्रसार गर्ने ठाउँको रुपमा प्रयोग गर्न सक्छ महोत्सव स्थललाई। हाम्रा पुराना र नयाँ घरेलु व्यवसायहरूको संरक्षण गरी ती उत्पादनहरूलाई प्रदर्शनीमा ल्याउन सक्छौं। हाम्रा महत्वपूर्ण पर्यटकीय स्थलहरूको महत्व दर्साउने खालका श्रव्य-दृश्य सामग्रीहरू प्रदर्शनीमा ल्याउन सक्छौं। गाउँतिर लुकेर बसेका, क्षमता भएर पनि कमजोर आर्थिक अवस्था भएकादेखि चेतनाको अभावले गर्दा ओझेलमा परेका प्रतिभाहरूले अवसर पाउन सक्ने र आफ्नो सफलताको प्रथम मञ्च ठान्ने खालको हुनुपर्छ महोत्सव। थुप्रै छन् महोत्सवमा हुनु पर्ने यस्ता विषयहरू। त्यतातिर किन सोच्नु र।
नेपाली शब्दकोषमा उल्लेख गरिएअनुसार महोत्सवको अर्थ हुन्छ धेरै ठुलो उत्सव। जिल्लाभरिको प्रतिनिधित्व गर्ने यस्तो धेरै ठुलो भनिएको उत्सवले कुनै गाउँको जाँतको जत्तिको रौनक दिन सक्दैन। आनन्द र मनोरञ्जन प्रदान गर्न सक्दैन। डोटेली संस्कृति, सभ्यता र परम्पराको जगेर्ना गर्न सक्दैन भने कसका पालामा कुन कार्यक्रम भयो यति कुरा झल्काउने, मञ्चमा आशन ग्रहण गरेको सेल्फी र फोटा भए पुगि त हाल्यो। कार्यक्रमको उपलब्धि नै किन चाहियो र आत्मश्लाघीहरूको दुनयाँमा।
जोरायली बासमती चामल, जोरायल र बुडरमा उत्पादन भइरहेको मालुका पातमा जमाइएको स्थानीय गुड, सायलका आलु, गणेश काँडाका स्थानीयले अल्लोबाट बनाएको कोटको कपडा, वायलको ढाका टोपी, ग्रामीण क्षेत्रको मह, दाल तथा अन्य गेडागुडीलगायत डोटेली उत्पादनका चिजवस्तुहरू केही छैनन् महोत्सवमा।
स्थानीय निकायहरूसँग भलै कार्यक्रमको लागि सहकार्य हुन नसके पनि स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्न सरसल्लाह, छलफल हुनुपर्थ्याे त्यो केही पनि भए जस्तो लागेन। डोटेली संस्कृति र सभ्यताको सुन्दर धुन गुञ्जाउने पञ्चेबाजाको असली रौनक सुन्न पाइएन। यद्यपि उद्घाटनका समयमा सामान्य औपचारिकतासम्म निभाएको देखियो। यति भए पनि एकछिनलाई चित्त बुझाउने विषयसम्म बन्यो।
यी सारा कुरा मनन गरेर उदास बनेकी देउसराले भनेकी थिइन्, ‘गोसाई यो भन्ना बढ्ता राम (रमिता) त हामरी जाँतमाइ हुन्छ। यो के को महोत्सव हुँदो हो।’ देउसराले भनेका कुरा निकै बेरसम्म मनन गरिरहेँ। हो, उनले ठिकै भनिन्। महोत्सव सामान्य गाउँमा छ। गाउँमा मनाइने जाँतहरूमा छ। त्यहाँ रमिता हेर्नुका साथसाथै स्थानीय उत्पादनका साग तरकारी, फलफूल र अन्य सामग्री खरिद गर्न पाइन्छ।
डोटेली पर्वहरूले बोकेका छन् महोत्सव। जहाँ मौलिक परिकारहरू पाक्दछन्। ती सामान्य झुपडीहरूमा छ महोत्सव, जहाँ ऋण निकालेरै भएपनि बडो लोभलाग्दो तरिकाले चाडपर्व मनाउँछन्। प्रेम, आत्मीयता र सद्भावको अँगालो कसेर डेउडा खेल सुरु गर्छन्। एकै दिनलाई भए पनि बडो आनन्दले प्रेमपूर्वक रमाउँछन्। दिनभर परिश्रम गरेर बेलुकी आनन्ददायक निद्राले अँगालोमा बेर्छिन्। त्यही सरल र स्वाभिमानी जिन्दगीमा छ महोत्सव।
बजार, सदरमुकाममा महोत्सव हैन सेल्फी छ। दर्शकतिर तेर्सिने सुर ताल बिगारिरहेको माइक छ। आफ्ना गाउँठाउँ र जिल्लाका प्रतिभाहरूको पहिचान हुँदैन। भोलिका दिनमा जिल्लाको नाम रोसन गर्न सक्ने लुकेका प्रतिभा खोज्ने थलो बन्नुपर्थ्याे महोत्सव। जिल्लाको कोसेली लग्नलाई भए पनि जानुपर्छ भन्ने मनको राजधानी हुनुपर्थ्याे महोत्सव। जिल्ला भरका अर्गानिक परिकार चाख्न पाउने थलो हुनुपर्थ्याे महोत्सव। डोटेली चाडपर्वहरूले बोलाएझैँ भारतमा दरवानी गर्न गएकाहरूलाई समेत बोलाउन सक्ने हुनुपर्थ्याे महोत्सव। तर, ‘डोटेली’ तीन अक्षरको पगडी बाँधिएको महोत्सवमा देखिँदैन डोटेली संस्कृति, पर्यटन, डोटेली साहित्य अनि डोटेली उत्पादन।
त्यहाँका स्टलहरू हेर्दा सजिलै थाहा हुन्छ आयोजकले सिन्डिकेट लगाएको कुरा। सुन्नमा आए अनुसार दुई चार जना व्यापारीहरूलाई बाहेक अरुलाई स्टल राख्ने अनुमति छैन। दिपायलको गर्मीमा पिउने पानी समेत अरुलाई बेच्ने अनुमति छैन।
भएका स्टलमा केवल चाउमिन भेटिन्छ। भारतीय व्यापारीहरूले कमाउने मौका पाएका छन्। धेरैभन्दा धेरै मान्छे जम्मा गर्न सक्ने अनुमान गरी कुनै तिर्घाधारीलाई डाको लगाउने अल्गो ढिस्को बनिदिन्छ महोत्सव। अरु ठाउँका महोत्सव कस्ता बन्छन् थाहा छैन। मेरो जिल्लाको महोत्सव फोटो खिचाउने, भाषण गर्ने, सेल्फी लिने, स्वास्थ्यका लागि अनुपयोगी खाने कुराको प्रदर्शनी गर्ने दयनीय मञ्च बनिदिन्छ। जहाँ मजस्ता कैयौं भ्रममा परिरहेका छौं।
मान्छेहरूको भीडभाड बढ्नुलाई नै महोत्सव मान्ने हो भने सामान्य भीड त जड्याहाको तमासा हेर्न पनि जम्मा हुने गरेकै हुन्छ। योभन्दा असली महोत्सव त विगतमा पात्तर्नीको मौलिक नृत्य र त्यो नृत्य हेर्न जम्मा हुने भीडलाई मान्न सकिन्छ। डोटेली भाषामा पात्तर्नीको अर्थ हुन्छ पुरुषले महिलाका लुगा लगाई नक्कली कपाल पहिरेर नक्कली महिला बन्ने काम। यस्ता पात्तर्नीहरू विगतमा बिहेमा र अन्य चाडपर्वमा नृत्य गरेर पैसा झार्ने काम गर्दथे। इमानदारीपूर्वक आफ्नो कला देखाएर भीडलाई मोहित तुल्याउँथे।
हिजोआज पात्तर्नी बन्न सक्ने त थुप्रै होलान्। तर, इमानदारीपूर्वक त्यो कला प्रदर्शन गर्न सक्ने खुवी देखिँदैन कसैमा। महोत्सव जस्तो महोत्सव नदेखेपछि खिन्न बनेकी देउसरासँग अन्तमा भन्न विवश भएँ, ‘चटकेको चटक र डोटी महोत्सव उस्तै-उस्तै लाग्यो देउसरा। यो महोत्सव दुनियाँका आँखामा छारो हालेर पैसा कमाउने सजिलो उपाय बनेको छ। केही थान फोटो खिचेर फेसबुकका भित्ता रंगाउने उपाय शिवाय केही बन्न सकेन।’
भीड जम्मा हुनुमात्र महोत्सव होइन, डोटेली चाडपर्वहरूमा छ महोत्सव, … … यथार्थ कुरो सर
नामको मात्र महोत्सव कामको छैन महोत्सव स्थानीय कला संकृती झल्किने कुनै कुराहरु छैन भाइरलका नाममा रुने र कराने हुतिट्याउ हरुको कमि छैन यो महोत्सव ।
सारै मन छोयो वास्तविक तथ्य उजागर गरेकोमा धन्यबाद