राष्ट्रपतिमा दुई पूर्वसभामुख भिड्दै, कुन 'चन्द्र'ले मार्लान् बाजी ?

राष्ट्रपतिकाे निर्वाचनमा दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएकाे छ।

राष्ट्रपतिको निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे उम्मेदवारी दर्ता भएकाे छ।

पौडेल र नेम्वाङले विभिन्न पार्टीका शीर्ष नेताहरुसहित शनिबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

पौडेलको प्रस्तावकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान रहेका छन्।

यसैगरी उनकाे समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मिुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन्।

यस्तै नेम्वाङकाे प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन् भने समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।

वरिष्ठ नेता पौडेल गत मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित भएका थिए। पौडेलले २०५१ पुस ३ देखि २०५५ चैत ९ गतेसम्म सभामुखको जिम्मेवारी निभाएका थिए।

नेम्वाङ गत मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी भएका थिए। उनी चार पटकसम्म सभामुख भएका थिए।

नेम्वाङ पहिलो कार्यकालमा २०६३ वैशाख ३० देखि माघ १ गतेसम्म सभामुख भएका थिए भने ०६३ माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म दोस्रो कार्यकाल सम्हालेका थिए।

त्यसैगरी नेम्वाङले तेस्रो कार्यकाल ०६५ साउन १२ देखि २०६९ जेठ १४ गतेसम्म सभामुख भएर जिम्मेवारी सम्हालेका थिए। यस्तै चौथो कार्यकाल २०७० फागुन ६ देखि २०७२ असाेज २७ गतेसम्म सभामुखको जिम्मेवारी निभाएका थिए।

याे पटककाे राष्ट्रपति निर्वाचन दुई पूर्वसभामुखकाे भिडन्तले पनि निकै राेचक हुने देखिएकाे छ। यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचन हुँदैछ।

प्रकाशित मिति: : 2023-02-25 22:25:00

प्रतिकृया दिनुहोस्