राष्ट्रपतिकाे विषयमा एमाले उपमहासचिव रिमाल भन्छन्– बोल्न सक्ने अवस्थामा छैन

फागुन २५ गते हुने राष्ट्रिपति निर्वाचनका लागि उम्मेदवार मनोनयनको समय यही फागनु १३ गते तोकिएको छ। उम्मेदवार मनोनयनको समय नजिकिँदै गर्दा दलहरु भने राष्ट्रपतिकाे उम्मेदवार कसलाई बनाउने भन्नेमा व्यस्त छन्। सत्तारुढ दल नै राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्नेमा अलमल र विवादमा छन्।

एमालेले सरकार गठनका समयमा राष्ट्रपति आफूहरुले पाउने गरी सहमति भएको भन्दै आफ्नो दलबाट उम्मेदवार बनाउनु पर्ने दाबी गरिहेको छ। तर सत्ताको नेतृत्व गरेको माओवादी केन्द्र भने एमालेबाट उम्मेदवार बनाउन तयार छैन।

माओवादी केन्द्रका नेताहरु राष्ट्रिय सहमति भनेर काँग्रेस नेतृत्वको व्यक्तिलाई राष्ट्रपतिमा सघाउने अवस्थामा पुगेको छ। राष्ट्रपतिमा काँग्रेसलाई सघाउने गरी काँग्रेस-माओवादीबीच सहमति भएको बताइन थालिएको छ। काँग्रेस नेताहरुले पनि माओवादीले राष्ट्रपतिमा आफूहरुलाई सघाउने बताइसकेका छन्।

सत्ता साझेदार दलहरुबाट राष्ट्रपतिमा उम्मेदवार बनाउन छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्ष दललाई सघाउने अवस्थामा पुगेपछि सत्ता समीकरणमा दरार आएको छ। प्रचण्डले एमालेबाट हुने राष्ट्रपतिलाई नसघाउने बताएपछि एमाले पनि विभिन्न छलफलमा छ।

एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिकाे उम्मेदवार बन्नलाई अफर गरेको सार्वजनिक भएको छ। तर एमालेका दोस्रो तहका नेता भने यो विषयमा बोल्न चाहँदैनन्।

एमाले उपमहासचिव तथा प्रचार विभागका उपप्रमुख विष्णुप्रसाद रिमाल राष्ट्रपतिका विषयमा बोल्न सकिने अवस्था नरहेको बताउँछन्। बुधबार बिहान सावा १० बजे बिएल नेपाली सेवासँग छोटो सम्वाद गर्दै उनले भने, ‘अहिले राष्ट्रपतिका विषयमा बोल्न सकिने अवस्था छैन।’

यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञावलीले राष्ट्रपतिका विषयमा कुनै जानकारी आफूसँग नरहेको प्रतिकृया दिए। ‘म काठमाडौं बाहिर छु। राष्ट्रपतिका विषयमा मलाई कुनै जानकारी छैन,’ बिएल नेपाली सेवासँग कुरा गर्दै ज्ञावलीले भने, ‘काठमाडौंमा नै रहनुभएका साथीहरुसँग कुरा गर्नुहोस्।’

एमाले सचिव योगेश भट्टराई पनि राष्ट्रपतिका विषयमा जानकार नरहेको बताउँछन्। उनले पनि काठमाडौं बाहिर रहेको प्रतिकृया दिँदै राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा जानकार नरहेको बताए।

प्रकाशित मिति: : 2023-02-22 12:38:00

प्रतिकृया दिनुहोस्