माटोले पोतेको घर । भित्र छिर्ने बित्तिकै सानो भान्सा, त्यसैसँग जोडिएको सुत्ने कोठा र दुई टेबल । यो टेबल कुनै समय गीताकुमारी राईको ‘सम्पन्नता’ को प्रतीक थियो । ‘होटल थियो, त्यसकै टेबल हुन्’— आफ्नै घरमा चलाएको होटल गीताका लागि सम्झना भइसक्यो ।
माटो र काठले बनेको घरलाई मधेशमा कम्पावाल घर भन्छन् । कम्पावाल घरको छानामा छाएको जस्ताका प्वालबाट छिरेका घामका किरणले उनको यो सानो संसारमा उज्यालो छर्छ । नभए त उनको संसारमा जता हेरे पनि अँध्यारो नै अँध्यारो छ ।
किनकि गीताकुमारी ऋणको दलदलमा यसरी फसेकी छिन् कि घरभित्रबाट होटल अहिले सडक किनारमा आइसक्यो । ‘पहिला घरभित्रै होटल थियो । अहिले घरभित्र राख्ने सरसामान नभएपछि रोडमा बेच्न थालें’ हरेक साँझ गीता घरसँगै जोडिएको सडक किनारमा चुलो बालेर पकौडा, समोसा बेच्छिन् ।
उनको घरमा कुनै समय होटल थियो भनेर देखाउने होर्डिङ बोर्ड भने अझै झुण्डिएको छ ।