लुम्बिनी प्रदेशका नवनियुक्त ७ मन्त्रीले शपथ ग्रहण गरेका छन्। शनिबार दिउँसो साढे ३ बजे दाङको देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
शपथ ग्रहण गर्नेमा एमालेका स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी र कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा रहेका छन्। माओवादी केन्द्रका आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारू रहेका छन्।
यस्तै राप्रपाका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव र जनमत पार्टीका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ ग्रहण गरेका छन्।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुँदै गिरीले पहिलो पटक तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेको एक महिनापछि शनिबार दोस्रो पटक मन्त्रीमण्डल विस्तार गरेका थिए।
पुस २७ गते प्रदेशसभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। गिरीले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए।