नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलन २०७८ असोजमा काठमाडौँमा सम्पन्न भयो। तर पदाधिकारी र केन्द्रीय समितिसमेत निर्माण गर्न नसकी अध्यक्षमा पञ्चा सिंहलाई मात्र चयन गर्दै राष्ट्रिय सम्मेलन सकिएको घोषणा गरिएको थियो।
सम्मेलन सकिएको दुई महिनापछि अध्यक्ष सिंहले १९९ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरुको नामावली सार्वजनिक गरेकी थिइन्। २७ मंसिरमा गरिएको केन्द्रीय समितिको घोषणा विधानविपरीत भएको भन्दै संयोजक पवन कार्की समूहले हलमै नाराबाजी गरेको थियो। नाम घोषणा विधि, पद्धति र मापदण्डअनुसार नभएको, आफ्नो नजिक भएकालाई राख्ने, अरुलाई हटाउने गरिएको आरोप कार्की समूहले लगाएको थियो। त्यसपछि कार्की समूहले २०७९ असार १८ मा १९९ जनाको समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको थियो। त्यसपछि अखिल क्रान्तिकारीमा विवाद भइरहेकाे देखिन्छ।
तर हालै सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले दुवै पक्षका समितिलाई विघटन गरेर राष्ट्रिय सम्मेनल आयोजक समिति बनाउने र स्ववियु चुनावपछि राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।
अखिलमा विवाद किन आयो, समानान्तर समिति गठन किन आवश्यक भयो, अखिल क्रान्तिकारीको अबको निकास, वर्तमान विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचनलगायतका विषयमा रहेर अखिलका क्रान्तिकारीका संयोजक पवन कार्कीसंग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:
पार्टी नेतृत्वले बारम्बार सचेत गराउँदा पनि अखिल (क्रान्तिकारी)भित्र गुट खडा गर्नुभयो। तपाईंको समूहले महाधिवेशनबाट निर्वाचित अध्यक्ष पञ्चा सिंहलाई किन स्विकार्न सकेन?
२०७८ मा सम्पन्न अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलनभन्दा एक महिना पहिले हामीले विधान सम्मेलन गरेका थियौँ। पहिलो पटक विधान सम्मेलन गरेर विधिवत रुपमा हाम्रो संगठनलाई चलाउँछौँ भन्ने बाचा गरेर सबैले सर्वसम्मत रुपमा स्वीकार गरेर अगाडि बढेका हौँ।
विधानमा १ सय ९९ सय केन्द्रीय कमिटी र २५ जनाको पदाधिकारी समिति बनायाैँ, कुनै व्यक्ति दोहोरो पदमा बस्दैनौँ भनेका थियौँ। तर सम्मेलनमा एक महिना पहिले बनाएको विधानलाई च्यात्ने काम भयो। हलमा आइपुग्दासम्म ४ देखि ५ सयभित्रको केन्द्रीय समिति, १ सय जना बराबरको पदाधिकारी लिएर आउन खोजेको देखेर हामीले यसो गर्नु हुँदैन, विधानको कार्यान्वयन गरौं भनिरहँदै गर्दा विधान घोषणा नगर्ने अनि कमिटी पनि घोषणा गर्न सकिएन।
पार्टीकाे निर्देशनको आधारमा पञ्चा सिंहलाई अध्यक्ष घोषणा गरियो। विद्यार्थी प्रतिनिधिको छनोटको विषयसमेत बनाइएन। आन्तरिक लोकतान्त्रिक प्रद्धतिका आधारमा निर्वाचन प्रणालीबाट सबैलाई बञ्चित गरियो। विद्यार्थीको अधिकारलाई ब्लक गरियो। सम्मेलनले पार्टी कमिटीको निर्देशनमा अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकेन, त्यसैले सम्मेलन सफल हुन सकेन।
हामीले पञ्चा सिंहलाई नमानेको होइन। पछिल्लो समय जसरी केन्द्रीय समिति निर्माण गर्नुपर्थ्याे, त्याे भएन। अध्यक्षले आफ्नो वरिपरिको मान्छेलाई भर्ती केन्द्रको रुपमा भर्ती गर्नुभयो। १०/२० वर्ष काम गरेको साथीहरुलाई गलहत्याउनु भो, बाइपास गर्नु भो। तर ती साथीहरुको सन्दर्भ केही पनि सोधिएन। त्यही अन्यायको हामीले खवरदारी गरेका हौँ।
राष्ट्रिय सम्मेलनले निर्माण गर्न नसके केन्द्रीय समिति निर्माण गर्नुपर्नेथ्यो तर उहाँले आफ्नो फेसबुकमार्फत केन्दीय समिति घोषणा गर्दिनु भयाे, जुन अवैधानिक थियो। त्योसंगै पदाधिकारी पनि छलफलबिना जुममार्फत सबैको माइक अफ गर्दिएर घोषणा गर्नुभयो। यी र यस्तै कुराहरु अवैधानिक भयो। विधानको अपमान भयो।
विधानमा भएअनुसारको केन्दीय समिति र पदाधिकारी गठन नभएकाले वैधानिकता हुनुपर्छ भनियाे तर सुनुवाइ हुने सम्भावना नदेखेकाले पार्टीसंग छलफल गरेर अगाडि बढ्यौँ। पार्टीको पटक-पटकको निर्णय र निर्देशनलाई अस्वीकार गरेकाले हामीले बाध्य भएर अखिल क्रान्तिकारी विद्यार्थीहरुको संगठन बनाउँ पुन:गठन गरौँ भन्ने लागेर हामीले असार १८ गते पुन:गठन गर्याैँ र देशभरिका साथीहरुसंग छलफल गरेर केन्द्रीय समितिको गठन गरेका हौँ।
रहरले हामीले संगठन विभाजन गरेका होइनौँ। देशभरका विद्यार्थी नेता-कार्यकर्ताले न्याय पाउनुपर्छ। विद्यार्थीहरुको एजेण्डा बोकेर वास्तविक विद्यार्थीहरुको संगठन हामी बन्नुपर्छ। कलेजका विद्यार्थी एकातिर नेताहरु अर्कोतिर हुने स्थिति नआउन दिनका लागि नयाँ र वास्तविक विद्यार्थीलाई विद्यार्थीको नेतृत्व दिनुपर्छ। नयाँ विद्यार्थीहरुलाई जोड्नुपर्छ भनेर हामी लाग्यौँ तर उहाँहरु आफूले वर्षौं पद रोक्ने र नयाँ पुस्तालाई रोक्न लगाएकाले हामीले यो अवस्था सिर्जना गरेका हौँ।
पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले तपाइँहरुलाई संगठनबाट पनि निकाल्यो। तपाईंहरुले समानन्तर कमिटी बनाउनुभयो तर संगठन कमजोर बनाउन बाहेक केही उपलब्धि भएको देखिँदैन नि, यसबारे के भन्नुहुन्छ?
उहाँहरुले गरेको गतिविधिले संगठन कमजोर बनेको हो। एउटा गलतलाई ढाक्छाेप गर्न पटकपटक गलत निर्णयहरु भए। त्यसले विद्यार्थी संगठनलाई कमजोर बनाउने काम मात्र भयो। नेता कार्यकर्तामाथिको विश्वासलाई घटाउँदै लग्ने बाध्यता सिर्जना भयो। तर हामीले त्यो कुरालाई तल्लो तहसम्म मजबुद बनाउन, सबै ढङ्गले राम्रो बनाउनुपर्छ भनेर हामी लागेका हौँ।
हामीले भनेको राष्ट्रिय सम्मेलन सफल हुन सकेन। त्यसलाई सफल बनाउन आफ्नो नेता आफैँ चुन्ने वातावरण निर्माण गरौं र नयाँ राष्ट्रिय सम्मेलनमा जाउँ भनेका छौँ। गलत रुपमा हामी आएका छैनौँ। एजेण्डाका आधारमा अगाडि बढेका थियौँ, हामीले पार्टीलाई पनि त्यो आधारको जानकारी दिइरहेका थियौँ। त्यसैले अब पार्टीको स्थायी कमिटीको निर्णयले राष्ट्रिय सम्मेलनमा जाने भनेको छ। हामीले उठाएको कुरा पार्टीमा स्थापित भएको छ। अबको बाटो आयोजक समिति गठन गरेर राष्ट्रिय सम्मेलनमा जानुपर्छ।
तपाईंहरुले त एउटा विद्रोह गर्नुभयो। के पञ्चा सिंहबाट संगठन अगाडि बढ्दैन भन्ने सन्देश हो?
पार्टीले विश्वास गरेर जिम्मा दिइसकेपछि सबै पक्षलाई मिलाएर लानुपर्थ्यो तर उहाँले सक्नुभएन, कोसिससमेत गर्नुभएन। जस्तो कि केन्द्रीय समिति निर्माण, सांगठनिक कार्यक्रम गर्दा होस् एकलौटी गुटी मानसिकताका आधारमा अगाडि बढेकाले त्यो समस्या आएको हो। पुन:गठन गर्नुपर्छ भनेर हामी आएका हौँ। आफ्नो कारण आफैँ असफल भएको कुरा प्रमाणित भइरहेको छ। त्यसैले अब नयाँ विद्यार्थीहरु, नयाँ नेतृत्व र नयाँ पुस्ताले अखिल क्रान्तिकारीको नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो कुरा हो।
तपाईं महासचिवको आकांक्षी हुनुहुन्थ्यो तर नेताहरुले उपाध्यक्ष बनाएपछि विद्रोह गर्नुभयो भन्ने आरोप छ नि, के यो सत्य हो?
त्यसो होइन, यो गलत हो। तत्कालीन सचिव भएका कारण महासचिवमा दावी गर्ने कुरा स्वाभाविक नै थियो। तर मैले महासचिव नपाउनुका कारण विद्रोह गरेको होइन। पार्टी नेतृत्वले छलफल गर भन्दै गर्दा मैले देशभरिको साथीहरुबाट पतिस्पर्धा गरौँ, हैन भने केन्द्रीय समितिभित्र निर्वाचनबाट पदाधिकारी चयन गरौँ भनेर लागेका थियौँ तर पदाधिकारी निर्माणको बेला छलफल नगरेर निर्णय गरियो। त्यो निर्णय पनि वैधानिकताविना गरियो।
मलाई त महासचिव नदिँदा पनि उपाध्यक्ष भएको थिएँ तर थुप्रै साथीहरु बाहिर राखियो। तर के कारण बाहिर राखियो जवाफ दिन सक्नुभएन। केन्द्रीय समितिमा लामो समय काम गरेका विद्यार्थीहरुलाई बाइपास गर्नुभो, उहाँहलाई कुनै व्यवस्थापन गरिएन। यस्तै कारणले समस्या पैदा भएको हो।
नयाँ साथीहरुलाई पनि सिनियर जुनियर नहेरी अपमान गर्ने काम गरियो। संगठनको श्रृंखला बिग्रिने गरी आफूसंग नजिक भएका कारण केन्द्रीय समितिमा लिने काम भयो। हामीले मिलेर/मिलाएर संगठनलाई अगाडि बढाउँ भन्ने थियो। तर एकलौटी ढङ्गले शासन गर्न खोजियाे। कुनै राम्रो काम गरिएन, गलत बाटोमा फस्दै जानुभयो। मुल समस्याको समाधानमा लाग्नुभएन।
उसो भए अबको अखिल क्रान्तिकारीको निकास के छ?
अबको निकास भनेको पार्टीको स्थायी कमिटीले एउटा निर्णय गरिसकेको छ। हामीले सम्मेलन आयोग समिति गठन र सम्मेलन गर्ने हो। फेरि पार्टीले सम्मेलन आयोजक समिति गठन गर्ने भनेको छ तर कसको नेतृत्वमा गठन गर्ने भन्ने अझै टुंगाे लागेको छैन। त्यसमा हाम्रो सुझाव भनेको सम्मेलन आयोजक समितिको नेतृत्व हामीले पाउनुपर्छ र हामी सम्मेलन गराएर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने छाैँ। तर नेतृत्वले फेरि पञ्चा सिंहको नेतृत्वमा आयोजक समिति गठन गर्याे।
अब सहजताका साथ छोडे भने विद्यार्थी आन्दोलन अगाडि बढ्न सक्छ भन्ने हो। फेरि संयोजक चाहियो, अध्यक्ष बन्ने इच्छा भए राष्ट्रिय सम्मेलनमा आउनुस् त्यहीँ प्रतिस्पर्धा गरौं। देशभरिका साथीहरुले जसलाई जिताउँछन्। उसलाई मानेर अगाडि जाउँ भन्ने हो। अबको सम्मेलनबाट टिका लगाएर होइन, निष्पक्ष प्रतिस्पर्धाबाट लिडर सिप चयन हुन्छ। अखिलको वर्तमान निकास भनेको राष्ट्रिय सम्मेलन नै हो।
वर्तमान अवस्थामा विद्यार्थी आन्दोलन कस्तो हुन्छ?
नेपालको विद्यार्थी आन्दोलन भनेको यो देशको राज्य सत्ता परिवर्तनका निम्ति, आम समाज परिवर्तनका लागि हुने हरेक कुराको मुल जग हो। जब-जब समस्या, संकट आउँछ, त्यसको पक्षमा उभिने भनेको विद्यार्थी संगठन हो। हिजोको सन्दर्भमा व्यवस्था परिवर्तनको थियो र अलि धेरै ध्यान त्यहाँ थियो। गणतन्त्र चाहियो, संविधान चाहियो भन्दै सडक आन्दोलन गर्ने त विद्यार्थीहरु नै हुन्।
अहिले विद्यार्थी संगठन किन चाहियो भन्ने प्रश्नहरु समेत उठ्न थालेका छन्। त्यसैले अबको विद्यार्थीहरुले व्यवस्था परिवर्तनपछि निर्माण भएको संविधानको कार्यान्वयन, विद्यार्थीको अधिकार सुनिश्चित गर्ने, शैक्षिक आन्दोलनमा केन्द्रित रहेर विसंगतिको अन्त्यका लागि ऐन निर्माण र देशमा व्यवस्था परिवर्तन भइसक्दा पनि शिक्षाको ऐन परिवर्तन गर्नु र व्यय भारमा लागु हुने शिक्षा प्रणाली निर्माण र समाजवाद उन्मुख भनेर संविधानमा लेखेको कुरालाई समाजवाद, समाजवादी शिक्षामा केन्द्रित राख्ने साथै दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गर्दै समाजवादी व्यवस्थामा जाने हाम्रो प्रयास छ।
विद्यार्थी आन्दोलन राष्ट्रियता, जसकाे सरकार आएपनि सरकारको विपक्षी रहने, सत्ताको वरिपरी घुम्ने कुराको अन्त्य र जनताको जनजीविकाको सवालमा बोल्न जरुरी छ। साथै सहिदको बलिदानबाट आएको व्यवस्थाको रक्षा, संविधानको रक्षा गर्दै समाजवादमा जाने र मुख्य गरेर शिक्षामा सुधार, विश्वविद्यालयको विकृतिको अन्त्य तथा हामी कामदार मात्र होइन, निर्माण गर्न सक्ने मान्छे बन्छाैँ भन्ने सोचेर शिक्षा प्रणाली फेर्न दवाव दिनेलगायतको विद्यार्थीको हकहितको बारेमा बोले मात्र हामी सफल हुन सक्छौँ।
विद्यार्थी संगठन कमजोर बन्दै गएका छन्, खास संगठनका समस्याहरु के-के हुन्?
वास्तविक विद्यार्थी एकातिर अनि नेताहरु अर्कोतिर भएका कारण विद्यार्थी संगठनमा समस्या आएको हो। अर्को सरकारी कलेजमा मात्र संगठन गठन हुने, निजी कलेजमा सम्झौता हुने तर संगठन नहुने नै विद्यार्थी आन्दोलन र संगठनको समस्या हुन्। हामीले शिक्षालाई राज्यको मुल दायित्व हो भनिरहँदा निजी शैक्षिक संस्थाहरुले शिक्षमा व्यापार गरेका छन्।
स्ववियुको निर्वाचनमा २८ वर्षको उमेर हद लगायौँ। किनभने वर्षौं वर्ष कलेजको गेटमा बसेर सभापतिका लागि विद्यार्थी हुने, जिते २ वर्ष कार्यकाल सक्ने, हारे फेरि त्यही गेटमा उभिने अनि ४० वर्ष पुगेपछि नेताको झोला बोकेर झोले बन्ने भएकाले अहिले त्यो कुराको अन्त्य भएको छ। वास्तविक विद्यार्थी मात्र सभापति बन्ने वातावारण भएको छ। त्यसैले अब विद्यार्थी संगठनभित्र पनि ३० वर्ष कटेकाहरुले संगठनको नेतृत्व छोडेर अरु कुराको नेतृत्व गर्ने। वास्तविक विद्यार्थीले विद्यार्थीको नेतृत्व गरे मात्र विद्यार्थीको समस्या बुझ्छ।
अहिले यस्तो भएको छैन। सरकार कसकाे छ, कसरी सरकार बचाउने भन्ने चिन्ता छ। तर शैक्षिक रुपान्तरणका लागि बोल्न जरुरी छ। त्यसैले अबको विद्यार्थी नेताहरुले वास्तविक विद्यार्थीहरुलाई संगठनको जिम्मेवारी दिउन्, नत्र संगठनहरु टिक्न सक्दैन। क्षमता बोकेकाहरुलाई अझ जिम्मेवारी दिए सोचेको हुन्छ। जिम्मेवारी हस्तान्तरण गर्न नसकेका कारण आजको यो अवस्था आएको हो।
नेपालको विद्यार्थी आन्दोलनले नेता मात्र जन्मायो भन्ने आरोप छ, खास विद्यार्थी आन्दोलनलाई विद्यार्थी आन्दोलनजस्तै बनाउन कसरी लाग्नुपर्ने हो?
मुख्य गरेर नेपालको विद्यार्थी आन्दोलनलाई विद्यार्थीमा केन्द्रित गर्न जरुरी छ। विद्यार्थी आन्दोलनलाई सबै संगठनले स्वतन्त्र भन्ने नाम जोडेका छन् तर काम गर्दा पार्टीको निर्देशनमा कुनै कमिटीजसरी काम गरिरहेका छन्। पार्टीको सुझाव लिएर हजारौं-लाखौं विद्यार्थीको नेता बनाउने कारखाना भएका कारण भोलि यो देशको मुख्य तहका पद प्रधानमन्त्री, राष्टपति अथवा कुनै पार्टीको अध्यक्ष मात्र बन्ने मुख्य कुरा होइन, त्यो संगसंगै हरेक क्षेत्रको लिडर बन्छन् भन्ने हो।
त्यसरी लाग्यो भने विद्यार्थी संगठन, विद्यार्थीको मुद्धा बोकेर गए मात्र सशक्त बन्छ, नत्र शैक्षिक संस्थासंग बार्गेनिङ गर्दै विद्यार्थीको मुद्धा बेचेर खाएपछि विद्यार्थी संगठनको औचित्य सकिँदै जान्छ। यसलाई क्रियाशील, सशक्त बनाउनका लागि विद्यार्थीको एजेण्डालाई केन्द्रित गरेर राष्ट्रियता, जनजीविका, जनतन्त्र र जनशिक्षाका एजेण्डा र हामीले हाम्रो देशमा लिएको शिक्षा देशमै लगाउने कुरामा राज्यले अब आउने दिनमा कुन खालको जनशक्ति निधारण गर्नुपर्ने हुन्छ भन्ने कुरा आज पढाउन जरुरी छ। यो भइरहेको छैन।
हामीलाई चाहिने मान्छे पाउन सकेका छैनौँ। चाहिने जनशक्ति कसरी पाउने भन्नेबारे हामीले सोच्न जरुरी छ। राज्यले कस्तो जनशक्ति कसरी उत्पादन गर्ने र कति जनशक्ति चाहिने भन्नेबारे एउटा निर्णय लिन सक्नुपर्छ। अहिले भएको समस्या जस्तो कि मास्टर डिग्री सक्ने अनि सिरानीमा सर्टिफिकेट राखेर जागिर खोज्न हिँड्ने अवस्था आएको छ। यो परिस्थितिको अन्त्यका लागि संविधानमा लेखिएको निशुल्क र अनिवार्य शिक्षा हक हरेक विद्यार्थीलाई दिनका लागि लड्न सक्नुपर्छ। राज्यले कि संविधान मान्दैन भन्नुपर्यो, नत्र लागु गर्न जरुरी छ। त्यसका लागि पाउनुपर्छ भन्ने कुराको लागि लड्न सकेमात्र विद्यार्थी आन्दोलन राजनीतिको औचित्य पुष्टि हुन्छ।
अन्त्यमा, स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन तोकिएको मितिमा हुने सम्भावना छ?
हामी लामो समयदेखि स्ववियु हुनुपर्छ भनेर आवाज उठाइरहेका थियाैँ। त्यसको फलस्वरुप चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ। हामीले विश्वविद्यालयसंग छलफल गर्दा कसले जित्छ/हार्छ भन्ने मुख्य कुरा छोडेर अहिले स्ववियु रहने वा नरहने अवस्था आएकाले सबै विद्यार्थी संगठनले निर्वाचन हुनुपर्छ, जित/हार हामी स्विकार्न तयार छौँ भनेका छौँ।
निर्वाचन सोचेको समयमा हुन्छ, सबै ढुक्क हुनुपर्छ। त्रिभुवन विश्वविद्यालयले केही दिनमै कार्यतालिका सार्वजनिक गर्दैछ। अखिल क्रान्तिकारीले यो स्ववियुबाट नयाँ युवा पुस्ताले जिम्मेवारी लिएर हिजोको इतिहासलाई मनन गर्नुपर्ने छ। स्ववियु निर्वाचनबाट विद्यार्थीहरुले व्यवस्था, अवस्था बदल्नका लागि गरेको योगदानको बलिदानबाट आएको कुरा स्थापित गराउन जरुरी छ। नयाँ पुस्तालाई समाजवादमा जाने बाटोको रुपमा गम्भीर थलोको रुपमा स्थापित गर्छौँ। हरेक प्रकारको विद्यार्थीको समस्या बोकेर हिँड्न जरुरी छ। त्यसैले स्ववियु निर्वाचनको तयारीमा लाग्न अनुरोध पनि गर्छु।