अहिले रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनलाई अध्ययन गर्दा आजभन्दा ३०/३५ वर्ष पहिले कम्युनिस्टको देशमा राम्रो विकास भएको अनुमान लगाउन सकिन्छ। जुन गतिले त्योबेला कम्युनिस्ट आन्दोलन फैलिँदै र सुदृढ हुँदै थियो। त्यसले देशमा छिट्टै क्रान्तिकारी आन्दोलन सम्पन्न हुने देखिन्थ्यो। त्यो देखेर नै विदेशी प्रतिक्रियावादीहरूले त्यो आन्दोलनलाई तहसनहस पार्ने योजना बनाएको हुन सक्छ।
खास गरेर झापा विद्रोह देशमा एक प्रकारको ठुला जमिदार विरूद्धमा उठेको किसानहरूको सच्चा आन्दोलन थियो। तर त्यो आन्दोलन त्यसबेला उठाउनु अपरिपक्व सोचको उपज पनि थियो। त्यसैले गर्दा झापा आन्दोलन फैलिन सकेन र छिट्टै पतन भयो।
वि.स. २०४६ पछि देशमा विदेशीहरूको चलखेल हुन थाल्यो। त्यही दाैरानमा एजेन्टहरूको 'रअ' संगको आवतजावत सुरू भएको देखिन्छ। किनकि २०४६ सालसम्म भारतीय जनता र नेपाली जनताको बीचमा गाढा मित्रता थियो। राजतन्त्रको विरूद्धमा भारतीयहरूले पनि साथ दिएका थिए। तर जब राजतन्त्र ढल्यो, राजनीतिक पार्टीहरूबीच किचलो सुरू भयो। त्यही बेलादेखि भारतीयहरूको चासो झनै बढ्यो।
उनीहरूले सिक्किममा अपनाएको व्यवहारलाई नेपालमा दोहाेर्याउन चाहन्थे। राजालाई च्वोगेलजस्तै नाम मात्रको राजा बनाएर प्रजातान्तिक आन्दोलनभित्र आफ्ना एजेन्टहरू नवलैण्डुपहरू घुसाएर देशलाई आफ्नो एउटा प्रान्तजस्तै बनाउने उदेश्य पूरा नभएपछि पुन: नेपाली कांग्रेस कहिले वामपन्थीबाट पनि आफ्नो महत्वाकांक्षी पूरा गर्न चाहन्थे, त्यो हुन नसेकेपछि फेरि राजतन्त्र फर्काउने षड्यन्त्र हुँदै आएको आभाश हुन्छ।
एकातिर साम्राज्यवादी शक्तिको कुनियतले काम गर्दै आएको छ। अर्कोतिर हाम्रो सन्तानहरू मध्येका कतिपय उनीहरूकै भाषा बोल्दैछन् भने एउटै वर्गका मित्रहरू आपसमा स-साना सामाजिक विचारमा पनि मतभेद गरेर टुक्रिएका छन्। आफूलाई कम्युनिस्ट भनेर नथाक्नेहरूलाई कम्युनिजम विचार अपच भएर आ-आफ्नो दम्भ देखाउँदै बेग्ला बेग्लै बाटो समाउन पुग्छन्।
उनीहरू पद छाड्न मान्दैनन्, सुख सुविधामा बस्ने र जहाँ छन्, त्यहाँ राज गर्ने सामन्तवादी शैली उनीहरूमा आज पनि उस्तै छ। एउटा पिबिएमसम्म बसेका व्यक्तिले कुल पूजा गर्दा यो भनेर गर्छ, कम्तिमा वर्ष दिनमा आफन्तीसँग भेटघाट हुन सकिन्छ। यहाँसम्मको अवसरवादी व्यक्ति कम्युनिस्टको शीर्ष पदमा हुन्छ भने कम्युनिस्टको आधारभूत सिद्धान्त संशाेधन नगरेर छाड्छन्?
यी गैरकम्युनिस्टहरूको हातमा देशको कम्युनिस्ट आन्दोलन छ, त्यसको अन्तिम लक्ष्य भनेको सत्ता सुख पद-प्रतिष्ठा मात्र हो। त्यसैको लागि अहिले उनीहरूको बीचमा ‘तँ तँ-म म’ हुने गर्छ। साच्चै भन्ने हो भने कम्युनिस्ट त भौतिकवादी हुन उनीहरू ‘तँ तँ-म म’ आध्यात्मवादी विचारका कट्टर दुश्मन हुनुपर्ने।
कार्ल मार्क्स, एंगेल्स, ब्लादिमिर लेनिन्, स्टालिन र माओत्सेतुङलगायतका दार्शनिकहरूमध्ये कुनले बुर्जुवा संस्कार अपनायो? तर अहिले उनैको नाम लिएर देवाली गर्छन्, पूजाआजा र हिन्दु धर्मलगायतका कुरा गर्छन्। पद र प्रतिष्ठाका लागि पार्टीलाई नै टुक्राउन खोज्छन्।
एउटा कम्युनिस्ट सदस्यले यी र यस्ता तमाम निजी स्वार्थ त्याग्नुपर्छ तर देशभित्र अहिलेको अवस्थामा भाषण गर्ने र जनतालाई अनि कार्यकर्तालाई उल्लु बनाएर आफ्नो स्वार्थ पूरा गर्नेहरू नै अग्रिम पंक्तिमा छन्।
गल्ती गर्ने र त्यो गल्ती ढाक्नलाई बहाना बनाउनेहरूले आफूलाई कम्युनिस्ट भन्छन्। अहिलेको यो पुँजी प्रधान समाजमा धन कसरी जुटाउने भन्ने दाउमा बसेकाहरूले आफूलाई कम्युनिस्ट क्रान्तिकारी भन्छन्।
समाजमा काेही-कसैले बुर्जुवा संस्कारको विरोधमा गरिहाले पनि त्यो कार्यक्रम सफल नहोस् भन्ने उनीहरूको अघोषित व्यवहार हुन्छ। हाम्रो देशको माटोमा करिब ७३ वर्षको बुढो कम्युनिस्ट भयो तर व्यवहार अहिले पनि अभ्यासकै छ। दृढ अडान गर्नै सक्दैनन्। समाजले के भन्ला चलिआएको रीतिको उलङ्घन गर्दा? कुलकुलानीको मानमर्यादा राख्नै पर्याे भन्ने विचार बोकेकाहरूले आफूलाई जति कम्युनिस्ट क्रन्तिकारी घोषित गरेपनि उनीहरू कम्युनिस्ट हुन सक्दैनन्।
अहिले पनि नेपालको माटोमा कम्युनिस्टको विकास हुन सकेको छैन र रक्षात्मक अवस्थामै छ। अहिले रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलन पनि सुधारवादी दिशातिर उन्मुख भएको देखिन्छ। कम्युनिस्ट हुँ भनेर नथाक्ने उच्चस्तरका नेताहरूले कम्युनिस्ट बन्न खोज्नेहरूलाई प्रोत्साहन दिनुको साटो उनीहरूलाई आवेगमा आएका क्रियाकलाप भनेर बेवास्ता गरेको हामीले लामाे समयदेखि देख्दै आएका छौं।
एउटा नेताले सामन्य कुनै सामाजिक बन्धन तोड्ने प्रयत्न गर्छ भने त्यो ठाउँमा सबै केन्द्रीय स्तर, जिल्ला स्तरका र स्थानीय कम्ररेडहरूको घुइँचो लाग्छ। त्यो मात्रै होइन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उसले गरेको कामको बारेमा व्यापक प्रचारप्रसार छलफल त्यसैलाई लक्षित गरेर विचार गाेष्टी, सेमिनार, पत्रकार सम्मेलन आदि हुने गर्छन्। तर कुनै तल्लोस्तरका शुभचिन्तक वा सदस्यले त्यही काम गर्छ भने त्यहाँ कुनै जिम्मेवार कम्रेड पुग्दैनन्। किन पुगिएन भन्ने हो भने कयौं बहानाहरू हाजिर हुन्छन्। यस्तो व्यवहारले देशमा कम्युनिस्टको विचार कागजमा मात्रै सीमित रहने प्रष्ट देखिन्छ।