संघीयताको मर्मअनुसार काम गर्छाैँ: मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्म अनुसार काम गर्ने बताएका छन्।

लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छाै‌। नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार लागिपर्नेछ।’

संघीयताको गलत व्याख्या र प्रचार भइरहेको भन्दै उनले संघीयताको विकल्प खोज्नु परिवर्तन बिरोधी कार्य भएको बताए। ‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन्। संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयतामाथि प्रहार गर्ने र गलत प्रचार गर्ने क्रम बढेको छ’, मुख्यमन्त्री गिरीले भने, ‘संघीयता विरोधी गतिविधि सिर्जना गर्नु मुलुकको हितविपरीतको कार्य हो। यसतर्फ सबै सचेत हुनुपर्दछ।’

संघीयताले जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै मुख्यमन्त्री गिरीले गाउँगाउँसम्म र घरघरसम्म विकास र समृद्धि पुर्‍याएको बताए। ‘संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ। तीनवटै सरकारले जनतालाई अधिकार सम्पन्न बनाउने काम गरेका छन्’, उनले भने, ‘संघीयताले केही गरेन भन्नेहरुले बुझ्नुपर्ने मुख्य सवाल भनेकै जनताका घरघरसम्म संघीयताले सुविधा पुर्‍याएको छ। जनतालाई अधिकार सम्पन्न बनाएको छ।’

लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको भन्दै उनले आगामी पाँच वर्षभित्र प्रदेशबासीलाई समृद्ध राजधानी हस्तान्तरण गर्ने बताए। लुम्बिनीलाई समृद्ध बनाउने धेरै सम्भावना भएको बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘हामीसँग धेरै सम्भावनाहरु छन्। चुनौति पनि त्यत्तिकै छन्। चुनौतिका बीचबाट सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्नेछ र समृद्ध प्रदेश निर्माण गर्नेछ।’

समृद्ध लुम्बिनीको दायित्व प्रदेश सभा र प्रदेश सरकारको काँधमा रहेको भन्दै मुख्यमन्त्री गिरीले आपसी सहयोग र समझदारीमा जन आकांक्षा पुरा गर्नतर्फ लाग्नुपर्ने बताए।

पूर्वाधार र कानुनको अभावमा कार्य सञ्चालन थालेको प्रदेश सरकारले पाँचवर्षमा ७२ वटा कानुन निर्माण गरेको उनले जानकारी दिए। ‘बितेका पाँचवर्ष संविधान कार्यान्वयनका लागि उपयुक्त रहे। भौतिक पूर्वाधार र कानुनको अभावमा प्रदेश सभाले ७२ वटा कानुन निर्माण गरेको छ। ८४ वटा विधेयक बनेका छन्’, मुख्यमन्त्री गिरीले भने, ‘आगामी दिनमा पनि यो गतिलाई निरन्तररुपमा अगाडि बढाउनुपर्दछ।’

प्रकाशित मिति: : 2023-02-04 18:04:00

प्रतिकृया दिनुहोस्