३७ वर्षीय प्रेमप्रसाद आचार्यले माघ १० गते आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए। सामाजिक सञ्जालमा आफूले आत्मदाह गर्नुको लामो कारण लेख्दै संघीय संसद भवनअगाडि सडकमा उनले आत्मदाहको प्रयास गरे र ११ गते उपचार गर्दा गर्दै संसार छाडे। इलामको आसुर्योदय नगरपालिका– ११ केराघारा घर भएका आचार्य काठमाडौंमा बसेर व्यापारमा संलग्न रहेका थिए।
उनले आत्मदाह गरेपछि विभिन्न टिकाटिप्पणी भयो। कतिले उनीप्रति सहानुभूति प्रकट गरे। कतिपयले जीवनमा असफलता हुँदैमा आत्मदाह गर्नु उनको कायरता रहेको टिप्पणी गरे। आचार्यले आत्मदाह गरेको दुई हप्ता पुग्न लाग्दै गर्दा पनि यो विषय चर्चामा नै छ। उनले आत्मदाह गर्दै लेखेको स्टाटसमा आफ्नो ६० लाख ऋण रहेको र ऋण तिरिदिन सहयोगी मनहरुलाई आग्रह पनि गरेका थिए।
आचार्यले आत्मदाह गरेको हप्ता दिन नपुग्दै उस्तै प्रकृतिको घटना कास्कीको पोखमा घट्यो। ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले माघ १५ गते आइतबार पोखरा महानगरपालिका– १३ काहुँखोलामा बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए। कोठा भाडामा बस्दै आएका क्षेत्रीले आगो लगाएपछि उनलाई बचाउन गएकी घरबेटी ४० वर्षीया संगीता सापकोटा पनि सोही आगोमा जलिन। सापकोटा जलिनन् मात्र उपचार सम्भव नभएपछि उनले यो संसार सधैंका लागि छाडिन्।
आफ्नो शरीरमा आगो लगाउने क्षेत्रीको भने अहिले उपचार भइरहेको छ। क्षेत्री एक पुस्तक व्यवसायी हुन। उनले पोखरमा पुस्तक पसल सञ्चालन गरेर बसेका थिए। प्रहरीको प्रारम्भीक अनुसन्धानबाट उनी आर्थिक संकटमा फस्दै गएपछि आत्मदाह गर्ने स्थितिमा पुगेको खुलेको छ। उनी पोखरामा दुई छोरा, एक छोरी र श्रीमतीसँग बस्दै आएका थिए।
यी दुई घटना त बाहिर आएका र चर्चामा रहेका हुन। पछिल्लो दुई वर्षको तथ्यांकअनुसार नेपालमा आगो लगाएर ३० जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष ०७७/७८ मा १५ जनाले, ०७८/७९ मा १४ जनाले र चालु आर्थिक वर्षको पुससम्म १ जनाले आगो लगाएर आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा छ।
यो त आगो लगाएर आत्महत्या गर्नेको संख्या हो। पछिल्लो दुई वर्षमा विष सेवन गरेर, झुण्डिएर, हाम फालेर, डुबेर, धारिलो हतियार प्रयोग गरेर आत्महत्या गर्नेको संख्या अधिक छ। दुई वर्षको बिचमा नेपालभर १६ हजार ८ सय ३० जनाले आत्महत्या गरेका छन्। यो संख्याअनुसार नेपालमा दैनिक १९ जनाले आत्महत्या गरेको देखिन्छ। यो अवस्था कहालिलाग्दो रहेको मनोविद् गोपाल ढकाल बताउँछन्।
आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेको अर्को चितकारको घटना अछामको छ। दुई वर्षअगाडि (२६, जेष्ठ ०७७) अछामको बयालपाटा अस्पतालअगाडि सोही अस्पतालका कर्मचारी सिद्धार्थ आउजीले शरीरमा पेट्रोल छर्किएर आगो लगाए। शरीरमा आगो लगाएका आउजीको उपचारका क्रममा मृत्यु भयो। कामबाट निकालिएपछि उनले शरीरमा आगो लगाएका थिए। साफेबगर नगरपालिका– ६ का आउजीले अस्पतालमा चर्पी सफा गर्ने काम गर्दै आइरहका थिए।
आउजीसहित अस्पतालले आर्थिक संकट देखाउँदै सोही समयमा ३३ जना कर्मचारीलाई निकालेको थियो। कोरोना महामारीको समयमा अस्पतालले कामबाट निकालेपछि रोजीरोटीको अभाव भएको आउजीले साथीहरुलाई बताएका थिए।
नेपालमा एकपछि अर्को क्रूर आत्मदाहको घटना भइरहेको भए पनि यसको न्यूनीकरणका लागि ठोस पहल हुन सकेको छैन। नागरिकको जीवन रक्षा गर्नुपर्ने सरकारको प्रमुख दायित्व हो। आत्महत्या गर्नुको मुल कारण मानसिक रोग रहेको बताउँदै मनोविद् ढकालले नागरिकको स्वास्थ्यप्रति राज्य गम्भीर नबन्दा आत्महत्याको घटना बढिरहेको बताए।
नेपालको संविधान ०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ। जसमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनिएको छ। तर, नागरिक मानसिक रोगले ग्रस्त भएर वर्षमा ५/७ हजारले आत्महत्या गर्दा पनि सरकार गम्भीर बन्न सकेको छैन।
मनोविद ढकालले आत्महत्या न्यूनीकरणका लागि ढिला भइरहेको बताउँदै जति राज्य गैरजिम्मेवार बन्छ, त्यति आत्महत्या बढ्दै जाने बताए। ‘राज्य गम्भीर बन्न सकेन भने आत्महत्याका घटनाहरु बढ्दै जानेछन्,’ उनले भने, ‘आत्महत्या न्यूनीकरणका लागि राज्यले अब ढिला गर्नुहुँदैन।’
आर्थिक वर्ष ०७७/७८ मा ७ हजार १४१, ०७८/७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका छन्। चालु आर्थिक ०७९/८० को असारदेखि पुससम्म नेपालमा २ हजार ८४२ जनाले आत्महत्या गरेका छन।
यो तथ्यांकले पछिल्लो आर्थिक वर्ष ०७८/७९ मा आत्महत्या घटेको देखिन्छ। आत्महत्या घट्नुमा सचेतनामुकल कार्यक्रम बढेको बताउँछन्, प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल। तर, मनोविद्हरु कोभिडका कारण आत्महत्या घटेको विश्लेषण गर्छन।
यो एक वर्षमा आत्महत्यामा कमी आएको देखिए पनि अघिल्लो वर्षहरुमा आत्महत्या बढेको देखिन्छ। आत्महत्या बढी गर्नेमा युवापुस्ताको संख्या धेरै छ। पछिल्लो दुई वर्षमा १६ हजार ८ सय ३० जनाले आत्महत्या गर्दा युवा पुस्ताको संख्या १४ हजार ९९५ रहेको छ भने बालबालिकाको संख्या १ हजार ८२६ रहेको छ। आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषहरु धेरै रहेका छन्। दुई वर्षमा ५ हजार ७४२ जना महिलाले आत्महत्या गरेका छन् भने ९ हजार २५३ जना पुषले आत्महत्या गरेको प्रहरी तथ्यांकमा छ।
आर्थिकमा संकट, बैदेशिक रोजगारी, प्रेम सम्बन्धनमा असफला, परीक्षामा असफलता आदि कारणले युवाहरुले आत्महत्या गर्ने गरेको भए पनि बालबालिकाले किन आत्महत्या गर्छन ? मनोविद् ढकाल देखासिकीले गर्दा बालबालिकाले आत्महत्या गर्ने गरेको बताउँछन्।
‘बालबालिकाले टेभिजनमा आत्महत्या भएको देख्छन्, टेलिभिजनमा आत्महत्या गर्नेको चर्चा हुन्छ,’ उनले भने, ‘गाउँमा पनि आत्महत्या गर्नेको कुरा गरिन्छ। आत्महत्या गर्नेलाई विचरा भनिन्छ त्यसले गर्दा बालबालिकाले आत्महत्या गरेपछि सहानुभूति हुने रहेछ भनेर आत्महत्या गर्छन।’
माग पूरा गर्ने हतियार बन्दै आत्महत्या
गएको शुक्रबार (माघ १४ गते)सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गर्यो। सवोच्चले सांसद पद खारेज गरेसँग उपप्रधान तथा गृहमन्त्री रहेका लामिछाने पद मुक्त भए। लामिछानको नागरिकता अबैधानिक रहेको भन्दै अधिवक्ता युवराज सफलले सांसद पद खारेजीको माग गर्दै अदालतमा रिट दायर गरेका थिए।
उनै अधिवक्ता सफलले सांसद पदबाट मुक्त भएका लामिछाने पुनः गृहमन्त्री बनेपछि आत्महत्या गरिदिने भन्दै सरकारलाई धम्की दिएको भिडियो भाइरल छ। लामिछानेले नागरिकता प्राप्त गरेसँगै पुनः गृहमन्त्री बन्ने प्रयास गरेको कुरा सार्वजनिक भएसँगै अधिवक्ता सफलले आत्मदाह गरिदिने धम्की दिएका हुन। ‘पास्पोर्ट काण्डको विषयमा अनुसन्धान हुँदा हुँदै रवि लामिछाने गृह मन्त्री भए भने युवराज सफलले आत्मदाह गर्छ,’ उनले भनेका छन्।
सफलले आफू मात्र होइन, सामूहिक आत्मदाहको लागि समेत आफूले अभियान चलाउन सक्ने बताएका छन्। उनले भनेका छन्,‘रविबाट, नेपाल सरकारबाट पीडित, बैंकद्वारा पीडित, राज्यद्वारा पीडित लाखौँ नागरिक छन्। ती नागरिकहरुले एक साथ आत्मदाह गर्ने, प्रचण्ड–ओलीलाई सत्तोसराप गर्दै नाइके, भाइ नाइके, गुण्डा नाइके विरुद्धमा युवराज सफलले अब सामूहिक रुपमा आत्मदाह गर्न अभियान चलाउन सक्छ।’
उनले मात्र होइन, यसअघि ०७१ सालमा एक युवकले संविधान नबने आफूले आत्मदाह गर्ने घोषणा गरेका थिए। त्यस समयमा संविधान सभाबाट संविधान बन्छ कि बन्दैन भन्ने विषय चर्को रुपमा उठेको थियो। देशमा अस्थितिरता थियो। प्रहरीले आत्मदाह गर्ने सक्ने आँकलनका साथ ती युवकलाई पक्राउसमेत गरेको थियो।
मनोविद् ढकाल पनि आत्महत्यालाई आफ्नो माग पूरा गर्ने अस्त्रका रुपमा लिनेक्रम बढ्दै गएको बताउँछन्। जुन कार्य आत्महत्या बढेको एक कारण रहेको उनले बताए। समाजका केही बुझेका व्यक्तिहरुले नै आत्महत्यालाई केटाकेटीको खेलजस्तो लिइदिने गर्दा पछिल्लो समय आत्महत्याले बढवा पाएको ढकालको बुझाइ छ।
उनले यस्तो कार्य अपराधका रुपमा रहेको बताए। ‘आत्महत्या स्टन्टबाजी होइन, ब्रागेनिङ गर्ने कुरा होइन, आत्महत्यालाई पछिल्लो समय विद्रोहको एउटा रुप भनेर पनि भनेका छन्। यदि त्यो हो भने सही पनि होइन,’ उनले भने, ‘आत्महत्या गरेर विद्रोह गर्ने तरिका सही होइन। माग परिपूर्ती गर्ने तरिका पनि होइन। हेलचेक्राई पनि होइन। उत्तेजना पनि होइन।’
समाधान के ?
मनोविद् ढकाल आत्महत्या न्यूनीकरण गर्न सामान्य कार्यबाट हुने देख्दैनन्। आत्महत्याका कारणहरु धेरै रहेको बताउँदै उनले यो समस्याले गहिरो जरा गाडेर बसको बताए। उनले आत्महत्याका पछाडिका सामान्य असफलता, प्रेममा धोका देखिए पनि भित्री कारणहरु अनेक रहेको बताउँछन्। ढकालले विश्वमा ९० प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने बताउँदै त्यसमध्ये ८० प्रतिशत डिप्रेसन रोगका कारण हुने उनको भनाइ छ।
उनले आत्महत्या हुनुमा क्षणिक आवेगदेखि लागूऔषध सेवन, आर्थिक संकट, गरिबी, बेरोजगारी, ऋण, पारिवारीक कलह, बैदेशिक रोजगारी, समाजिक सञ्जाल आदि करण देख्छन्। त्यस्तै महत्वकांक्षी, साना–सना कुरामा पनि तनाव लिने, निरावादी मानिसले आत्महत्या गर्ने उनले बताए। यति धेरै कारण रहेको बताउँदै राज्य वा कुनै निकायको एकल पहलबाट मात्र आत्महत्या न्यूनीकरण गर्न नसकिने ढकालको भनाइ छ।
आत्महत्या न्यूनीकरणका लागि स्वयम् व्यक्तिदेखि राज्य, मिडिया, विभिन्न संघ संस्थाको सामूहिक पहल हुनुपर्ने ढकालकाे भनाइ छ। ‘सुरु त व्यक्तिबाटै गर्ने हो। जबसम्म व्यक्ति स्वयम म समस्यामा छु भन्दैन तबसम्म कसलाई डिप्रेसन भएको छ, थाहा पाउन गाह्रो हुन्छ,’ उनले भने।
दोस्रो दायित्व समाज घरपरिवारले ध्यान दिनुपर्ने, तेस्रोमा संघ संस्थाले जनचेतनाका कुराहरु चलाउनुपर्याे, मिडियाले सन्तुलित रुपमा समाचार सम्प्रेषित गर्नुपर्ने र सबैभन्दा राज्य जिम्मेवार हुनुपर्ने बताए।
नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेल पनि आत्महत्या रोक्न एक पक्षको मात्र अभियानले नपुग्ने बताए। ‘आत्महत्या भन्ने कुनै एक कारणबाट मात्र हुँदैन। घर, समाजदेखि उत्पन्न हुने समस्या हो,’ उनले भने, ‘त्यसका लािग घरपरिवारदेखि संघ संस्था, राज्य सबै मिलेर सामूहिक अभियान चलाउनुपर्छ।’ पाखरेलले आत्महत्याका घटना भइरहनुमा सचेतना अभियान नपुग्नु रहेको बताए।
आत्महत्या नियन्त्रणमा राज्यले गम्भीरता देखाएन: मनोविद् ढकाल
आत्महत्या गर्नुका कारण असफलता, प्रेममा धोका देखिए पनि भित्री कारणहरु पनि छन्। कोही व्यक्ति प्रेममा धोका पाउँदैमा, ऋण लाग्दैमा आत्महत्या गर्ने भन्ने हुँदैन। आत्महत्या गर्नका पछाडि धेरै कुराको समिश्रण हुन्छ। अध्ययनले के देखाएको छ भने झण्डै ९० प्रतिशत आत्महत्या मानसिक रोगले गर्दा हुन्छ भन्ने छ।
त्यसमा पनि करिब ८० प्रतिशत डिप्रेसन रोगका कारण हुने देखिन्छ। केही आत्महत्या, क्षणिक आवेश, उत्तेजनाले हुन्छ। जस्तै कुनै घटना घट्यो र त्यसको तनाव सहन सकेन भने उसले आत्महत्या गर्न पुग्छ। केही आत्महत्या लागूऔषध, जाँड, रक्सी खाने कारणले पनि हुन्छ।
बालबालिकाको केशमा देखासिकिले गर्दा आत्महत्या हुन्छ। जस्तै कोही आत्महत्या गरेपछि उसको सनसनीपूर्ण हुन्छ र चर्चा हुन्छ। जसका कारण बालबालिकाले मरेपछि मेरो चर्चा हुने रहेछ र मेरा कुरा गर्ने रहेछन् भनेर पनि आत्महत्या भएको देखिन्छ।
आत्महत्या विश्वमा नै बढ्दो छ। आर्थिक संकट, गरिबी, बेरोजगारी, ऋण, पारिवारिक कलह, बैदेशिक रोजगारी, सामाजिक सञ्जाल, अर्थतन्त्रमा आएको कमीले गर्दा पनि मानसिक रोग र डिप्रेसन बढ्दो छ समाजमा। बेलेमै उपचार भएन भने डिप्रेसनमा परिने रहेछ भनेर हामीले बुझ्नुपर्छ।
त्यति मात्र होइन व्यक्तिगत जीवनमा पनि भरपर्छ। महत्वकांक्षी, साना–सना कुरामा पनि तनाव लिने, निरावादी मानिसले आत्महत्यामा पर्ने गर्छन।
के आत्महत्या न्यूनीकरण गर्न सकिने अवस्थामा छैन ?
आत्महत्या न्यूनीकरण गर्न सकिन्छ। धेरै हदसम्म कम गर्न सकिन्छ। तर, कम गर्नका लागि यी धेरै कारणहरुमा एउटा मात्र उपायले न्यूनीकरण गर्न सकिने अवस्था होइन। घर परिवार, समाज, राज्य, मिडिया, जतचेतना जगाउने मात्र होइन स्वयम् व्यक्तिले पनि आत्महत्याको सोच आएपछि कमिकमजोरी भन्दा पनि एउटा रोग रहेछ भनेर उपचार गर्नुपर्छ।
आत्महत्या गर्नु पहिले मान्छेले लक्षण देखाउने गर्छ। त्यस लक्षणको पहिचान गर्नुपर्छ। उसको कुरा बुझिदिनुपर्छ। उपचार गरिदिनुपर्छ। यी धेरै कुरा गरेर रोकथाम गर्नुपर्छ। मान्छेको जीवनमा अपरझट समस्या आउने गर्छ। सफलता र असफलता मान्छेको जीवनमा भइरहन्छन्। त्यस समयमा घर परिवारले उसलाई मद्दत गर्नुपर्छ। अनि जीवनमा समस्याहरु आएपछि विज्ञहरुसँग सम्पर्क गर्नुपर्छ।
आत्महत्याका कारण र नियन्त्रणका उपाय यति धेरै भन्नुभयो तर आत्महत्या न्यूनीकरणका लागि कहाँबाट, कसरी सुरु गर्नपर्छ ?
सुरु त व्यक्तिबाटै गर्ने हो। जबसम्म व्यक्ति स्वयम् म समस्यामा छु भन्दैन तबसम्म थाहा पाउन गाह्रो हुन्छ। त्यसले गर्दा सहयोग प्राप्त गर्न पनि सकिँदैन। सबैभन्दा पहिले त आफ्नो स्वास्थ्य, आफ्नो जीवनप्रति आफैं जिम्मेवार हुनपर्छ। तर, आत्महत्या हुनु एउटा रोग हो यसमा व्यक्ति नै जिम्मोवर हुनुपर्छ भन्ने मात्र पनि होइन। जीवनप्रतिको आशा मर्दै गए, निराशाहरु बढ्दै गए भने मलाई रोग लागेको रहेछ भने घर परिवारलाई भन्नुपर्यो। उपचार गर्नुपर्यो।
दोस्रो दायित्व समाज घर परिवारको हो। घरपरिवारले उसको समस्या सुनिदिनुपर्छ। उपचार गर्नुपर्छ। तेस्रोमा संघ संस्थाले जनचेतनाका कुराहरु चलाउनुपर्छ। मिडियाले सन्तुलित रुपमा समाचार सम्प्रेषित गर्नुपर्छ। र, राज्य नै बढी जिम्मेवार हुनुपर्छ। राज्यले गम्भीरता देखाउनुपर्छ। अहिले राज्यले गम्भीरता देखाएको छैन।
आत्महत्या, आत्मदाहका घटनाहरु बढ्दै गएका छन् तर राज्यले जनचेतनाका कामहरु गरेको छैन। मनोविद्हरु परिचालन गरेको, हटलाइन नम्बरहरु परिचालन गरेको, यी कुराहरु त राज्यले गरेको छैन। एकल प्रयासबाट मात्र आत्महत्या रोक्ने सम्भावना छैन। स्वयम व्यक्ति, राज्य, मिडिया, संघ संस्थाले पहल गर्नुपर्छ।
सचेतना बढाइयो भने आत्महत्या न्यूनीकरण गर्न सकिन्छ: डिआइजी पोखरेल
हाम्रो तथ्यांकले अघिल्लो आर्थिक वर्षमा आत्महत्या घटना घटेको देखाएको छ। आत्महत्या घट्नुमा सचेतना बढेको हाम्रो विश्लेषण छ। जनचेतना बढेको हुनसक्छ। नेपाल प्रहरी अन्य निकायले अहिले सचेतना कार्यक्रमहरु गरिरहेका छन्। मानसिक उपचाहरु बढेको छ। त्यस कारणले गर्दा घटेको हामीले भनेका छौँ।
अहिले नेपाल प्रहरीको कार्ययोजनामा नै आत्महत्यालाई न्यूनीकरण गर्ने छ। अहिले हामीले विभिन्न कार्यक्रम गरेका छौँ। ७७ वटै जिल्लामा सामुदायीक प्रहरी कार्यक्रम छ। त्यो कार्यक्रमबाट विद्यालय सम्पर्क कार्यक्रमसँगै अन्य सचेतना कार्यक्रम गरेका छौँ।
आत्महत्या हुनुको कारणमा मानसिक कारण हो। मानिस डिप्रेसन, लागूऔषध अत्याधिक सेवन, दीर्घरोगीहरुले म बाँचेर के हुन्छ र भनेर पनि आत्महत्या गरेको देखिन्छ। व्यवहारिक कारणहरु पनि क्रृणमा डुब्ने, आर्थिक समस्या, सामाजिक परिवेशले गर्दा आत्महत्या भएका छन्।
आत्महत्याका घटना भइरहनु अझै पनि सचेतना पुगेको छैन भन्ने हो। किनभने, नेपाल प्रहरीले मात्र गरेर हुँदैन स्थानीय पालिकाहरुले पनि यसलाई सञ्चालन गर्नुपर्छ। आत्महत्या, आफ्नै घर समाजबाट उत्पन्न हुने समस्या हो। त्यसैले घर परिवार, समाज, राज्यका निकाय, संघ संस्था सबैको पहलबाट आत्महत्या न्यूनीकरण गर्न सकिन्छ।