पृष्ठभूमि
सर्वप्रथम त लोक तथा दोहारी गायक भीम पौडेलप्रति हार्दिक श्रद्धाञ्जली। ४ वर्षअघि मात्रै हामीबीच साक्षात्कार भएको थियो। अत्यन्तै नरम तथा शालिन व्यक्तित्व अनि मिठो स्वर उहाँको मुख्य विशेषता थियो। माघ १२ गते उहाँको निधनको खबरले पोखरा विमान दुर्घटनामा निरा छन्त्यालको निधनले निको नभएको कला प्रेमीहरुको घाउ पुन: बल्झिएको छ। पारिवारिक स्रोतअनुसार उहाँ केही महिनादेखि डिप्रेसनमा हुनुहुन्थ्यो भन्ने खबर मिडियामा आएको थियो।
कुन विषयबाट उहाँ डिप्रेसनमा जानु भयो थाहा हुन नसके पनि उहाँ कला क्षेत्रमा संघर्ष गरिरहेको कलाकार भएकोले आफ्नै क्षेत्रले उहाँलाई डिप्रेसनमा लगेको सहजै अनुमान गर्न सकिन्छ। तथापि, अन्य कारणले पनि उहाँ डिप्रेसनमा गएको हुन सक्छ। नेपाली कलाकारहरु र डिप्रेसनसँग जोडिएर आउने खबरहरु पहिलेदेखि नै सुन्नमा आउँथे। डिप्रेसन हरेक क्षेत्रका मानिसहरुलाई हुने गर्दछ तर मैले कला क्षेत्रमा रहेका कलाकारहरुको डिप्रेसनको मात्र चर्चा गर्न चाहन्छु। यो लेखमा मैले धेरै ठाउँहरुमा कला, सर्जक, स्रष्टा, कलाकार आदि भनेर सर्वनामको रुपमा प्रयोग गर्नेछु। त्यसको अर्थ कला, साहित्य, संगीत भित्रका समग्र पक्षहरु र कर्ताहरु भनेर बुझ्नुपर्ने छ।
विषयवस्तु
हार, ग्लानी, हरेस आदिलाई नेपाली शब्दकोशले डिप्रेसनको अर्थमा उल्लेख गरेको छ। यसै अनुरुप हामीले सोचेको र गरेको कार्यहरुमा सोही बमोजिम सफलता प्राप्त गर्न नसक्दा हामी डिप्रेसनमा जाँदा रहेछौँ। तथापि, डब्ल्युएचओ डिप्रेसनको कारणहरुको बारेमा अन्य धेरै कारणहरुलाई पनि निर्देशित गर्दछ। वर्तमान पुँजीवादी प्रतिस्पर्धाको समयमा अक्सर धेरै मानिसहरु डिप्रेसनको सिकार भएको तथ्याङक पाउँछौँ। विश्वभरिमा नै डिप्रेसनको समस्या मुटु रोग पछिको दोस्रो गम्भीर समस्या रहेको र हङकङमा ३०० हजारभन्दा बढी मानिस डिप्रेसनको सिकार भएको पछिल्लो अनुसन्धानले बताउँदछ। तथापि, माथि उल्लेख गरेअनुसार मैले कलाकारहरुको डिप्रेसनको बारेमा मात्रै केही कुरा लेख्न चाहन्छु।
नेपाल एक विकासशील देश हो। हरेक विकासशील देशहरुको जस्तै हाम्रो देशको पनि आर्थिक, सामाजिक, राजनीतिक अवस्था ढल्मलाउँदाे स्थितिमा छ। जो हामीले देख्दै र भोग्दै आइरहेका छौँ। देशको सो अवस्थाको कारण हामी नागरिकहरुमा पनि सोही अनुसारको अपरिपक्व तथा न्युनतहको चेतनास्तर हुने गर्दछ। सोही अनुरुप हामी विकासशील देशका कलाकार तथा स्रष्टाहरु पनि कमजोर मानसिकतामा बाँचिरहेका हुन्छौँ। कमजोर मानसिक चिन्तन पनि डिप्रेसनको कारणहरुमा पर्दछ।
कलालाई हेर्ने सही तथा वस्तुगत दृष्टिकोणको अभावमा हजारौं कलाकार स्रष्टाहरु डिप्रेसनको सिकार भइरहेका छन/हुँदै छन। नेपालको वर्तमान अवस्थामा संगीतलाई लाभ र प्रतिष्ठाको विषय मान्नु नै सैद्धान्तिक तथा व्यवहारिक रुपमा गलत बुझाइमा छौँ। किनभने, संगीतका कुनै पनि ग्रन्थ तथा पुस्तकहरुमा संगीतलाई लाभसँग जोडिएको छैन। अर्को कुरा नाफा, घाटा र लाभको कुरा व्यापारमा हुने गर्दछ। सर्जकहरुले व्यापार गर्ने होइन सिर्जना गर्ने हो। व्यापार गर्ने त कम्पनीहरुले हो। संगीत उत्पादनमा व्यापक लगानी जुटाएर त्यसको नियमित पृष्ठपोषण गर्ने काम कम्पनीले सहज रुपमा गर्न सक्दछ। तथापि, नेपालमा वास्तविक रुपमा यसो हुन सकेको छैन। सिमित संगीत सम्बद्ध कम्पनीहरुले उत्पादनभन्दा पनि अरुको सिर्जनालाई प्रर्वद्धन गर्न मात्रै अव्यस्त छन् भने सर्जकहरु कनीकनी जे जती हुन्छ लगानी जुटाएर आफैं उत्पादन गर्ने कार्यमा तल्लिन छौँ। यसले गर्दा एकातिर उद्योगहरुले उद्योग जस्तो गरी काम गर्न सकिरहेका छैनन् भने अर्कोतिर सर्जक आफैं उत्पादनमा लाग्दा आवश्यक लगानी, बाैद्धिकता तथा प्रर्वद्धनको अभावमा उत्पादन स्तरीय हुन सकिरहको छैन र उत्पादनमा सबै सर्जकहरुको पहुँच पुगिरहेको छैन। अर्थशास्त्र र व्यवसायको नियममा यसो हुनु राम्रो संकेत होइन। त्यसैले सुरुमा हामी यहाँनिर सच्चिनुपर्छ।
धेरै जसो कलाकर्मीहरुले संगीतलाई धन सम्पत्ति आर्जन गर्ने, मान-प्रतिष्ठा आर्जन गर्ने, देश विदेश भ्रमण गर्ने आदिको साधनको रुपमा बुझेको पाइन्छ, जुन सरासर गलत बुझाइ हो। हामी प्राय: धेरै कलाकारहरुले यहाँनिर गलत धारण र बुझाइ बोकेर हिँडिरहेका छौँ। संगीतलाई यो अर्थमा लिँदै गर्दा हामीमा संगीतबाट अनगिन्ती धन सम्पत्ति आर्जन, मान/सम्मान, विदेश यात्रा, विलासी जीवन आदिको चरम कल्पना गर्ने गर्दछौँ तर समय बित्दै जाँदा परिणाम त्यस्ताे हुँदैन। जसअनुसार ती सबै मिथ्या सपना साकार हुँदैनन्, तदनुरुप हामी जाने भनेको डिप्रेसनमै हो। परन्तु केही सिमित कलाकारहरुलाई सो अवसर मिलेको पनि होला तर त्यो पनि क्षणिक, अल्पकालिन हुने गर्दछ। संगीत क्षेत्रका कलाकारहरुले सो अपेक्षा राख्नै हुन्न भन्न खोजेको होइन तर त्यसलाई मुख्य रुपमा राख्नु आधारभूत रुपमा गलत जस्तो लाग्दछ।
ललितकला क्याम्पस भोटाहिटी काठमाण्डौँमा पाठन हुने संगीत पाठ्यक्रमअनुसार संसारमा ७२ वटा ललितकलाहरु हुन्छन र तीमध्ये महत्वपूर्ण पाँच वटा ललितकलाहरुमा संगीतकला, वास्तुकला, चित्रकला, मूर्तिकला र साहित्यकला हुन भनेको छ। यसै अनुरुप पाँच ललितकलामध्ये पनि संगीत कला पहिलो नम्बरमा पर्ने हुनाले संगीतलाई उच्चकोटीको ललितकलाको रुपमा हेरिन्छ। यो प्रसंलाई किन उल्लेख गरेको भन्दा, संगीतलाई हलुका तथा सतही ढंगले हेर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ भन्ने अर्थमा हो।
संसारकै उच्चकोटीको कला संगीतकला भएकोले सहजै रुपमा भन्न सक्दछौँ कि सानोतिनो मेहनत, साधना र ज्ञानले संगीतमा सिद्दता प्राप्त हुँदैन। लामो समयसम्मको तपस्या र साधनाविना संगीतकलामा दीक्षित हुन असम्भव छ। त्यो प्रकृतिको दृढ आत्मबल र धैर्यता प्राप्त गर्नको लागि हामीले संगीतलाई कसरी बुझेका छौँ भन्ने कुराले गहिरो अर्थ राख्दछ। हामीले संगीतलाई तपस्या, साधना र संगीतको सेवाको भावले लिने कि संगीतलाई कमाउने साधनको रुपमा लिने भन्ने कुराले हामी संगीतमा पारङगत उन्मुख दिशामा जाँदैछौँ कि डिप्रेसनको दिशामा जाँदैछौं भन्ने कुराको निर्धारण गर्दछ। जब हामीले संगीतलाई साधना र तपस्याको रुपमा अंगिकार गर्दछौं तब साधनाले नै हामीलाई सफलतातिर डाेहोर्याउँदछ। संगीतको ज्ञान आर्जन र साधानाले नै हाम्रो संगीत शक्तिशाली र समृद्ध बन्छ। शत्तिशालाी तथा समृद्ध संगीतले हाम्रो संगीतको बजार पनि विस्तार गर्दै जान्छ। हाम्रो संगीतको बजार विस्तार हुँदै गए नेपाली संगीत उद्योगलाई टेवा पुग्छ। नेपाली संगीत उद्योग बलियो भए धेरैभन्दा धेरै कलाकर्मीहरुको जीवन बाँच्दछ। राज्यलाई पनि टेवा पुग्दछ। त्यो अवस्थामा हामी कुनै पनि स्रष्टाहरु डिप्रेसनमा जानु पर्दैन। कुनै पनि कलाकारहरुले संगीतको बाटो छोडेर भौतारिनु पर्दैन। नयाँ कलाकारहरुको आगमन हुन्छ, समाजमा संगीतलाई हेर्ने दृष्टिणकाेण सकरात्मक बन्दै जान्छ। हाम्रो संगीत बजार विस्तारित हुँदै जाँदा राष्ट्रको शिर पनि उँचो हुँदै जान्छ। राष्ट्र निर्माणमा हामी कलाकारहरुको भूमिका पनि प्रष्ट देखिँदै जान्छ। त्यसैले संगीतलाई प्राप्ति भन्दा पनि त्याग र साधनाको रुपमा स्वीकार गरी हाम्रो संगीतलाई आधारभूत रुपमै बलियो र समृद्ध बनाउने अभियानमा सबै स्रष्टाहरुले योगदान दिनुपर्ने देखिन्छ।
के हामीले संगीतबाट आर्जन गर्नु हुँदैन त ? मेरो लेखको अर्थ त्यो हाेइन। हामीले संगीतबाट आर्जनको सपना देख्न सक्दछौँ। संगीतलाई पेसाको रुपमा अङगाल्न पनि सक्छौँ। हामी पछिको पुस्तालाई पनि संगीतमा ल्याएर विभिन्न घराना बनाउन सक्दछौं। सुखी जीवन जिउने आधार संगीतलाई बनाउन सक्छौं। मान, सम्मान र प्रतिष्ठाको प्राप्तिको रुपमा संगीतलाई लिन सक्छौं तर केही सर्तमा मात्र। सर्त भन्नाले यदी तल उल्लेखित अवस्थाहरुको उपलब्धतामा मात्र। जस्तै नेपाली संगीतको बजार क्षेत्रमा व्यापकता, नेपाली संगीतको स्तरमा अब्बलता, सरकारबाट नेपाली कला, साहित्य र संगीतको संरक्षण सम्वर्धनको व्यवस्था, कलाकर्मीहरुको संरक्षणसम्बन्धी व्यवस्था, प्रतिलिपी अधिकार तथा रोयल्टीसम्बन्धी प्रभावकारी कानुनी व्यवस्था, पारदर्शी नेपाली संगीत बजार, समुन्नत तथा समृद्ध नेपाली संगीत उद्योग, संगीतमा उच्च शिक्षा हासिल गरेका तथा संगीतको ज्ञान सिप भएका कलाकर्मीहरुलाई उचित रोजगारीको व्यवस्था आदि। नेपालको यो अवस्थामा मात्रै नेपाली कलाकर्मीहरुलाई जीवन निर्वाहको समस्या हँदैन। वर्तमान अवस्थामा कला, साहित्य र संगीतको क्षेत्रमा राज्यको तर्फबाट कुनै पनि लगानी र चासो देखिँदैन। सर्वत्र राज्यविहीनताको वर्तमान अवस्थामा धेरै तल्लो दर्जाको रुपमा हेरिने कला, साहित्य र संगीतको विकासको लागि अपेक्षा गर्नु पनि फगत चाहना सिवाय केही होइन।
तैपनि पछिल्लो समय विश्वव्यापी रुपमा भएको प्रविधिको विकासले नेपाली संगीतलाई पनि केही राहत दिलाएको छ। युट्युबजस्तो सशक्त डिजिटल प्ल्याटफर्ममा सहज पहुँचले गर्दा पनि धेरै सर्जकहरु यतातिर आकर्षित भएको हामी पाउँन सक्दछौँ। विभिन्न माध्यमबाट संगीतले आम्दानी गरिरहेको छ। सर्जकहरुको लागि यो खुसीको कुरा हो। नेपाली संगीत क्षेत्रको मुख्य दुई आम्दानीको स्रोतको रुपमा डिजिटल बजार र रोजगारी तथा मजदुरीलाई लिन सकिन्छ।
१.१) डिजिटल बजार
जुन जुन डिजिटल माध्यमहरुबाट नेपाली संगीतले आम्दानी गदर्छन, ती सम्पूर्ण नेपाली डिजिटल बजारका प्रतिनिधिहरु हुन। विश्वमा यस्ता धेरै माध्यमहरु भएपनि नेपालमा मुख्य गरी युट्युब, टिकटक, स्पोटीफाइ, एप्पल म्युजिक, एमाजोन म्युजिक, आइटिउन्स, टेलिकमले प्रदान गरेका प्ल्याटफर्महरु आदि हुन। नेपाली संगीतको प्रमुख डिजिटल बजार युट्युबलाई लिइन्छ। तर, युट्युबमा पनि नेपालको अवस्था कमजोर देखिन्छ। नेपालमा युट्युबको सिपिएम दर जम्मा २.१४ डलर छ भने विश्वमा सबैभन्दा बढी सिपिएम दर भएको देश नर्वे हो, जसको ४३.१५ डलर छ।
डिजिटल बजारमा नेपाली संगीतका श्रोताहरु पनि रुची र चाहनाको आधारमा खण्डित अवस्थामा छन्। जस्तै लोकदोहोरी संगीत, आधुनिक संगीत, पप संगीत, भक्ति संगीत, जनवादी तथा प्रगतिशील संगीत, शास्त्रीय संगीत, र्याप संगीत, अंग्रजी भाषाका संगीत, हिन्दी भाषाका संगीत, मैथिली-भोजपुरी भाषाका संगीत, विभिन्न जातजातीहरुका मातृ भाषाका संगीत आदि। सबै श्रोताहरु सबै प्रकारका संगीतका श्रोताहरु हुँदैनन्। यसले गर्दा समग्र नेपाली संगीतको दर्शक तथा श्रोताको आकारमा कमी आउने गर्दछ।
नेपालको जनसंख्या पुग नपुग ३ करोड छ। सन २०२१ मा डिजिटल नेपालको तथ्याङकअनुसार नेपालमा १ करोड ७ लाख ८० हजार इन्टरनेट प्रयोगकर्ताहरु छन। यसबाहेक भारत तथा तेस्राे देशमा जाने नेपालीहरु र भारतका केही प्रदेशहरु जस्तै आसाम, वेस्ट बङगाल, हिमाञ्चल र उत्तराखण्डका केही ठाउँहरुमा पनि नेपाली भाषीहरु रहेकोले त्यहाँ नेपाली संगीतहरु केही मात्रामा सुनिने गरिन्छ। भने, नेपालको मधेस क्षेत्रतिर नेपाली भाषाका भन्दा पनि मैथिली, भोजपुरी र हिन्दी गीतहरु बढी सुनिने गर्दछ।
१.२) रोजगारी तथा मजदुरी
नेपाली संगीत क्षेत्रको आम्दानीको अर्काे स्रोत हो, रोजगारी तथा मजदुरी। यसअन्तर्गत कलाकर्मीहरुले आफ्नो सिप तथा कला रुपी श्रमलाई बेच्ने अर्थमा बुझ्न सकिन्छ। जस्तै विभिन्न कलेज, स्कुल, संस्थान, प्रतिष्ठान, म्युजिक कम्पनी, संघ संस्था, दोहोरी साँझ, भजन मण्डली, स्टुडियो, नाइट क्लब आदि स्थानहरुमा स्थायी तथा अस्थायी रुपमा जागीर गर्ने कलाकर्मीहरुलाई बुझ्न सकिन्छ। जसबाट स्रष्टाहरुले आफ्नो श्रमको मूल्य मासिक तलबको रुपमा प्राप्त गर्ने गर्दछन। त्यस्तै यसअन्तर्गत स्टुडियोमा स्वराङकन दिने गायक गायिकाहरु, बादन गर्ने बादकहरु, विभिन्न मेला, महोत्सव तथा विदेशका कार्यक्रमहरुमा सहभागी भए वापत आम्दानी गर्ने कलाकर्मीहरुलाई बुझ्न सकिन्छ।
१.३) विविध
यसअन्तर्गत विभिन्न माध्यमबाट पनि कलाकर्मीहरुले सानातिना आम्दानीहरु गरेका हुन्छन्। जुन सम्पूर्ण रुपमा उल्लेख गर्न असमर्थ हुन सकिन्छ।
निष्कर्ष
नेपाली संगीत कमजोर धरातलमा उभिएको छ। सस्तो लोकप्रियताको निम्ति नेपाली कलाकारहरु दिग्भ्रमित हुँदै भौतारिरहेका छन। गन्तव्य र सही मार्ग दर्शनको अभावमा नेपाली स्रष्टाहरु दुर्घटनामा जाने सम्भावना धेरै देखिन्छ। नेपाली संगीतको बजार धेरै सानो छ। सानो बजारकै कारण पनि नेपाली संगीतमा कम्पनीहरु लगानी गर्दैनन्। त्यसैले वर्तमान अवस्थालाई वस्तुगत रुपमा हेर्दा, यो पुस्ताका सर्जकहरुले संगीतलाई प्राप्तिको भन्दा पनि नेपाली संगीत क्षेत्रलाई समुन्नत संगीत उद्योगको रुपमा विकास गर्ने कार्यमा लाग्नुपर्ने देखिन्छ। त्यसको लागि ओजपूर्ण संगीतको निर्माण, त्यसको लागि दिव्यज्ञान, साधना, त्याग, धैर्य, बलियो आत्मविश्वास र संगीतप्रतिको बुझाइमा स्पष्टताको खाँचो देखिन्छ। यसको निम्ति राज्यका सम्बन्धित अङ्गहरु, सरोकार निकायहरु, विभिन्न सम्बन्धित संघ संस्थाहरु र स्वयम सर्जकहरु पनि सचेत भएर लागनुपर्ने देखिन्छ। तब मात्रै नेपाली संगीत क्षेत्रमा समाहित भएका हजारौँ स्रष्टाहरुको जीवन बाँच्ने देखिन्छ। आशा छ, आगामी दिनहरुमा स्रष्टाहरुको अप्रिय खबर सुन्न पर्ने छैन।
जय संगीत। धन्यवाद।
(हेमराज आश्रम रक्तिम संस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष तथा जनवादी कलाकार हुन। शास्त्रीय संगीतमा स्नातकोत्तर गरेका उनले सितापाइलास्थित आश्रम संगीत पाठशालामा संगीत सिकाउँछन्।)