एक सातामा चार 'मास सुटिङ', के हुँदैछ क्यालिफोर्नियालाई ?

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको पश्चिमतटीय राज्य क्यालिफोर्नियाको लसएञ्जलसमा शनिबार विहान भएको अर्को एक मास सुटिङमा तीन जना मारिएका छन् भने चारजना गम्भीर घाइते भएका छन्।

घटना हलिवुड सेलिब्रेटीहरूको  बसोबास रहेको बेभर्ली हिल्सस्थित बेभर्ली क्रेस्ट कम्युनिटीमा भएको हो। मारिएका तीनजनाको लाश गाडीभित्र भेटिएको थियो भने घाइते बाहिर भेटिएका थिए। 

घटनाका बारेमा थप अनुसन्धान भैरहेको बताइएको छ। बिस्तृत विवरण आउन बाँकि छ। 

यो घटनासँगै क्यालिफोर्नियामा यस साता भएका चार मास सुटिङमा मारिनेको संख्या २२ पुगेको छ। 

क्यालिफोर्नियामा यो साता भएको यो चौथो मास सुटिङको घटना हो। यसअघि शनिबार राती मोन्टेरी पार्कस्थित एक डान्स स्टुडियोमा भएको घटनामा ११ जना मारिएका थिए। त्यसैगरी सोमबार हाफ मुन वेको एक फार्म हाउसमा भएको घटनामा सात मारिएका थिए भने त्यसको एक घण्टापछि अकल्याण्डमा भएको घटनामा एकजनको मृत्यु भएको थियो। 

अमेरिकामा सपनाको राज्य मानिने क्यालफोर्नियामा धनी राज्य हो। गाढा नीलो यो राज्य आप्रवासीमैत्री छ, मौसम राम्रो छ र बन्दुक कानुन पनि तुलतात्मक रूपमा कडा छ, अपराध दर कम छ। 

तर, यही राज्यमा केही साता मात्र मास सुटिङका चार घटनामा १९ जना मारिएका छन् भने त्यतिकै संख्यामा घाइते भएका छन्। यसले क्यालिफोर्नियालाई के हुँदैछ भनेर अमेरिकामै प्रश्न गर्न थालिएको छ।

त्यसो त अमेरिकामा सप्ताहान्त मास सुटिङका लागि बदनाम हुँदै गएका छन्। यो सप्ताहान्त पनि अर्को एक मास सुटिङबाटै सुरू भयो। अझ शनिबार र आइतबार पुरै दिन बाँकि छन्, कहाँ के के हुन्छ?, यसै भन्न सकिने अवस्था छैन। 

एक किसिमको सन्त्रास छ सप्ताहान्तमा अमेरिकामा ?

प्रकाशित मिति: : 2023-01-29 00:40:00

प्रतिकृया दिनुहोस्