निमित्तको भरमा पालिका चलाउने परिपाटीको अन्त्य गर्छौं: मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निमित्तको भरमा पालिका सञ्चालन गर्ने परिपाटीको अन्त्य गर्ने बताएका छन्।

शुक्रबार विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहको निमित्त दिने चलनको अन्त्य गर्ने बताए।

स्थानीय तहदेखि नै प्रशासनमा देखिएको समस्या सुधारका लागि आफू लागेको बताउँदै उनले बिचौलिया बोकेर कर्मचारी सरुवा, बढुवाको फाइल ल्याउने चलनको अन्त्य गर्ने बताए। यदि कसैले त्यस्तो गरेको खण्डमा कारबाहीको भागेदार बनाउने मन्त्री मोदीको भनाई छ।

मोदीले भने, ‘देशैभरी निमित्तको समस्या छ। गाउँपालिकामा जानुपर्ने अधिकृत हुन्छ। नगरपालिकामा उपसचिव हुन्छ। महानगरपालिकामा सहसचिव हुन्छ तर, राजनीतिक दलको दबाब वा पावरसेन्टरका कारण निमित्त जाने चलन छ। यसलाई अन्त्य गर्ने भनेको छु। मैले जहाँ जसको दरबन्दी र पद छ त्यहाँ त्यही जाने भन्ने सुरुवात गर्न खोजेको छु।’

यस्तै उनले संघीय निजामती सेवा ऐन ल्याउने विषय आफ्नो प्राथमिकता रहेको बताएका छन्। संघीय संसदको यही अधिवेशनबाट पारित हुने गरी २ महिनाभित्रै उक्त ऐन संसदमा टेबल गर्ने आफ्नो प्रयास रहेको उनले बताए।

‘निजामती सेवा ऐन यही अधिवेशनमा ल्याउने मेरो प्रयास हुन्छ। २ महिनाभित्रमै सकेसम्म टेबुल गर्न पाए हुन्थ्यो भनेर काम गरिरहेका छौं,’ मोदीले भने, ‘संघीयता कार्यान्वयन गर्ने कुरामा सबै राजनीतिक दल जिम्मेवार छन्। संघीयताको कार्यान्वयन र कर्मचारीलाई न्याय गर्ने गरी उक्त ऐन आउँछ।’

कर्मचारीहरु सधैँ एक ठाउँमा मात्र रहन नहुने बताउँदै उनले २ वर्षदेखि एउटै शाखामा रहेकालाई शाखा परिवर्तन गर्ने बताए। ३ वर्षभन्दा माथि बसेकालाई अन्तै पठाउने, ४ वर्षभन्दा माथि एउटै ठाउँमा छन् भने उनीहरुलाई स्थानीय तहमा पठाउने र कोही सुगममा छन् भने दुर्गममा पठाउने विषयमा मन्त्रालयले तयारी थालेको उनले बताए।

आफू मन्त्री भएपछि कर्मचारी सरुवाका विषयमा ठूला नेताहरुबाट दबाब आउन सुरु गरेको मोदीको भनाई छ।

प्रकाशित मिति: : 2023-01-27 15:16:00

प्रतिकृया दिनुहोस्