माघकाे अन्तिम साता महेन्द्र उपाध्यायकाे उपन्यास 'मिन्झारी' बजार आउँदै

तपाईंले कतै एमपी केयरलेस वा कतै महेन्द्र उपाध्यायकाे नाममा प्रकाशन भएका कथाहरू पढ्नुभएकाे छ? छैन भने एकपल्ट अवश्य पढ्नुहाेला। धेरैजसो कथाका लिंक इन्टरनेटमा भेटाउन सकिन्छ।

दुई पटक बाह्रखरीकाे कथा प्रतियोगितामा उत्कृष्ट २५ मा पर्न सफल लेखकले थारू संस्कृतिलाई पृष्ठभूमि बनाएर कथाहरू लेख्दै आएका छन्। उसाे त उनका कथामा संस्कृतिकाे बहुआयामिक पक्षहरुहरु समेटिएका भेटिन्छन्। उनी तराई लख्छन्, पहाड लेख्छन्, हिमाल लेख्न सक्छन्।

कथामा मात्रै हाेइन, उनकाे यात्रा वर्णनमा समेत आख्यानकाे स्वाद पाइन्छ। 'किंङ्स ल्याण्ड' एक उदाहरण हाे। 'किङ्स ल्याण्ड'मा भएका सिंजाका कथाहरू हुन् या कालिकोट संस्मरण, सबैमा तपाईं आख्यानकाे स्वाद लिँदै सिमान्तका कथाहरू पढ्न पाउनुहुनेछ।

लेखककाे सबैभन्दा महत्वपूर्ण पक्ष भनेकाे उनी जहाँ जान्छन्, त्यहाँकाे संस्कृति र ती संस्कृतिभित्र छुटाइएका सिमान्तका कथाहरू बाहिर ल्याउने काेसिस गर्छन्। अर्थात उनी कर्णाली आउँदा देउडाकाे रस चाख्न मन पराउँछन्।

यदि तपाईंले एमपी वा महेन्द्र पढ्नुभएकाे छैन भने पनि बिग्रेको केही छैन। अब माघकाे अन्तिम हप्ता मात्रै कुर्नुस्, उनकाे उपन्यास 'मिन्झारी' आउँदैछ। म लेखेर दिन्छु, त्यसपछि तपाईं उनका कथाहरू खाेजीखाेजी पढ्नुहुनेछ।

उनका उत्कृष्ट कथाहरूमध्ये एक हाे, 'टेबुल नम्बर सात'। कालिकोटकाे एउटा हाेटेलकाे अँध्याराे काेठालाई पृष्ठभूमि बनाएर लेखिएकाे कथाकी मुख्य पात्र छ, 'जिराे कुमारी'।

महिलाहरूले लगाउने सबैजसो गहनाहरू, 'जिराे' आकारमा हुने हुनाले नै कथाकी मुख्य पात्रको नाम जिराे कुमारी रहन गएकाे लेखककाे भनाई छ। लेखक एक कदम अगाडि बढेर भन्छन्, 'गहनामा जिराे आकार देखिने महिलाहरूलाई समाजले सधैँ जिराे बनाइरह्याे।'

जब समाजमा पुरूष सत्ता हावी भयाे, त्यसयता महिलाहरू जिराे हुन थालेका हुन्। महिलाका गलामा लगाइने मालाहरूमा नाैगेडी, तिलहरी, मुगा, माेती, पुली, तुथाेका एक गेडे र दाेलडी, नाककाे नथनी, बुलाकी, फुली, हातका बाला र खुट्टाका कल्लीकाे विकास सजाय स्वरूप लगाइएका जिराे आकारका नेलहरू थिए। जो दास युगमा दासहरूलाई फलामका नेल बनाएर लगाइएका हुन्थे।

फलामका हतकडी लगाउने युग सकियो। त्यसको नयाँ संस्करण 'जिरो कुमारी' का रूपमा देखिएका छन्। पछि त्यसैलाई कार्पाेरेट हाउसले फेसन बनाइदिए। जसले आजकाे समयसम्म आइपुग्दा समेत महिलाहरूलाई 'जिराे' नै बनाइरहेकाे छ।

त्यसबाहेका समाजले चलाएका प्रथा र परम्परामा समेत महिलाहरू जिराेबाट बढेर एक हुने खाली ठाउँहरू छाेडिएकाे छैन। त्यसैले लेखकले कथामा सूक्ष्म ढंगले पात्रकाे नाम 'जिराे कुमारी' सृजना गरेका छन्।

त्यसबाहेक तराईका आदिवासी थारूहरूका सिमान्त कथा त्याे पनि मालिककाे आँखाबाट, मालिककै साेचबाट र मालिककै रबैयाबाट कमैयाहरू माथि गरिने अत्याचारकाे दुरूस्त चित्रण भेटिन्छ। जाे पढ्दै गर्दा पाठक आफू पनि पात्रसँगै भएकाे महसुस गरिरहन्छ।

पहाडियाहरू मधेस झर्नुभन्दा पहिला थारूहरूका घरमा ताला लगाइँदैन थियाे। जब पहाडियाकाे प्रवेश भयाे,तब तराईको समाज शंका उपशंकाकाे उब्जाउ भूमिमा परिणत भयाे। तराईको उर्बर भूमिमा पहाडियाका आँखा गाडिए।

एक मानाे भैंसीकाे घिउ दिएर जमिन खाेस्न थालियाे। विस्तारै तराईकाे फाँटिलाे भू-भाग र जंगलका मालिक थारूहरू भूमिहीनताकाे दुस्चक्रबाट पिसिन थाले। परिणाम तराईका फाँट जस्तै फराकिला मन भएका थारूहरू संकुचित घेरामा बाँधिन थाले। अनि सुरू भए कमैया, हरूवा, चरूवा जस्ता दास युगिन आधुनिक प्रथा, जसले थारूहरूकाे मन फाट्दै जान्छ।

त्यही बीचमा सिमान्तकृत समुदायकाे पक्षमा भएकाे सशस्त्र द्वन्द्वमा समेत घुमाइफिराई तिनै पहाडियाहरू नेता बन्छन् र शासन गर्छन्। अनि थारूहरूकाे फाटेका मन सिउन कठिन बनिदिन्छ। जसले निम्त्याउँछ, टिकापुर घटना।

'मिन्झारी' समाजले थारूहरूमाथि एकाेहाेराे आराेप मात्रै लगाइरहेको टिकापुर घटनाबाट सुरु हुन्छ। कथा सुदूरपश्चिमकाे समथल भू-भाग टिकापुरबाट सुरू भएर कर्णालीकाे उबडखाबड भू-भाग दैलेखसम्म पुग्छ।

टिकापुर घटनाबारे मिडियाहरू सत्यतथ्य नबुझेर 'रे' मा समाचार बनाइरहेका थिए। जसकाे असर थारू र इतरकाे समाजमा परिरहेको थियाे।

पहाडियाहरू थारूका पसल र हाेटलमा जान छाेडेका थिए। थारूहरू उनीहरूसँग आँखा जुदाएर बाेल्न सकिरहेका थिएनन्। घटना र त्यसकाे असरकाे मुल जराे लेख्ने आँट कसैले गरेकाे थिएन वा कसैले लेख्न नै चाहेन। पेसाले इन्जिनियर लेखकले समाते, त्यही विषय। जाे उपन्यास बन्याे।

'मिन्झारी' थारूहरूकाे मुल देउता बाघ हाे। तर उसलाई गाइकाे दुधकाे भाेग चढ्छ। अनाैठाे देउताकाे नामबाट न्वारान गरिएकाे उपन्यासले उठाएका कयौं विषयवस्तु पाठककाे हातमा लाग्न थाेरै समय मात्रै बाँकी छ।

काबु क्रियशनले बजारमा ल्याउन लागेकाे उपन्यासकाे कभर सार्वजनिक भइसकेको छ। आकर्षक फन्टमा थारु संस्कृतिका संकेतसँगै कमैया बनेका थारुहरुले मालिककाे कबिला नै ओसारपसार गर्ने डलपकाे सुन्दर आकृति काेरिएकाे छ।

उपन्यास तपाईको हातमा आउँदासम्म प्रकाशनका लागि गरिएकाे तयारीका पनि दुई हिउँद बितिसकेकाे छन्। ती दुई हिउँदमा कर्णालीका कति पानी बग्याे हाेला? थारुहरु अवस्थामा कति फेरबदल भयाे हाेला? यी कुनै दिन गैरआख्यानका ठेलीहरुमा आउलान् नै।

अहिलेलाई चाँडै मिन्झारीकाे स्वाद लिने समय कुराैं। पाठकहरुले धिर गरेकाे समय सकिएकाे छ। अब चाँडै मिन्झारीकाे खिर आउँदैछ।

प्रकाशित मिति: : 2023-01-27 10:50:00

प्रतिकृया दिनुहोस्