छैटौं ‘निफ’ फिल्म फेस्टिबल चैत २ गतेदखि सुरू हुने

नेपाल इन्टरनेशल फिल्म फेस्टिबल ‘निफ’ काे छैटाैँ संस्करणकाे महाेत्सव चैत २ गतेदेखि सुरू हुने भएकाे छ।

बुधबार ‘निफ’ले काठमाडाैँमा एक कार्यक्रम आयाेजना गर्दै महाेत्सवबारे जानकारी गराएकाे हाे।

चैत २ गते देखि ६ गतेसम्म सञ्चालन हुने फेस्टिबलमा ३५ देशका ९५ फिल्महरू सञ्चालन हुने तथा ७ विधामा १४ पुरस्कार वितरण गरिने ‘निफ’का अध्यक्ष केपी पाठकले बताए।

‘विगतका झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय स्तरमा लामा-छाेटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरू सञ्चालन हुनेछ। तर यस पटक निफका प्रतिस्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन हुनेछ’, अध्यक्ष पाठकले भने।

पाठकका अनुसार फेस्टिबलमा चलचित्र क्षेत्रका ख्याति प्राप्त र अनुभवी चलचित्रकर्मी तथा कलाकारहरूकाे सहभागितामा विविध कार्यशाला, अन्तर्क्रिया एवं छलफल कार्यक्रम सञ्चालन हुनेछ। यस्ता कार्यक्रमले नेपाली चलचित्रकाे आगामी मार्ग तयार गर्न भूमिका खेल्न सघाउने उनले बताए।

कार्यक्रममा चलचित्र विकाश बाेर्डका अध्यक्ष तथा कलाकार भुवन केसी, निर शाह, गाैरी मल्ल, दीपाश्री निराैला, रेजिना उप्रेती, निर्मल शर्मा, सरिता गिरी, स्याओ च्याङ (डाइरेक्टर, चाइना कल्चरल सेन्टर), नवराज केसी (न्यूयोर्क सिटीका मेयरका सल्लाहकार), निर्मल शर्मा (अभिनेता), सरिता गिरी (अभिनेत्री), प्रशंसा पाण्डे (जिएम, क्यूएफएक्स), इन्द्र बलामी (माया एनिमेसन एकेडेमी) लगायत नेपाल इन्टरनेशल फिल्म फेस्टिबलका पदाधिकारीहरूकाे उपस्थिती रहेकाे थियाे।  

फिल्म क्युएफएक्स सिनेमासँगकाे सहकार्यमा काठमाडाैँकाे छायाँ सेन्टर, सिभिल मल, ललितपुरकाे लविम मल र भक्तपुरकाे क्युएफएक्स सिनेमा हलमा प्रदर्शन हुनेछ।

प्रकाशित मिति: : 2023-01-25 18:17:00

प्रतिकृया दिनुहोस्