बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ मा गएको पौष १२ गते पहिलो पटक ६ जना बालबालिकालाई दादुरा देखियो। दादुराको लक्षण १२ गते ६ जना बालबालिकामा देखिएको भए पनि सोही दिन दादुरा हो वा होइन भन्ने पत्ता लागेन। जिल्लामा दादुरा पत्ता लगाउने उपकरण नहुँदा ती शंकास्पद बालबालिकाको रगत जाँचका लागि काठमाडौँ पठाइयो।
त्यसको रिपोर्ट आउन हप्ता दिन लाग्यो। १९ गते रिपोर्ट आउँदा उनीहरुमा दादुर रोगको संक्रमण पाइयो। हप्ता दिनसम्म बाँकेमा थप दादुराका बिरामी भेटिएका थिए। दादुरा रोगले महामारीको रुप लिन थालिसकेको थियो। यदि कुनै निश्चित समुदायमा ५ जना बढीमा दादुरा देखिएमा महामारीका रुपमा लिने गरिन्छ।
बाँकेमा पहिलो पटक दादुरा देखिएको १०औँ दिनमा नेपालगञ्ज उपमहानगरपालिका ५ मा एक ३१ महिने दादुरा संक्रमित शिशुको मृत्यु भयो। यतिबेलासम्म नेपालगञ्जमा ३६ जना बालबालिकामा दादुरा देखिसकेको थियो। दादुरा फैलने क्रम तीव्र बन्दै थियो।
दादुरा सरुवा रोगमध्ये एक व्यक्तिदेखि अर्को व्यक्तिमा हावाको माध्यमबाट छिटो सर्ने रोग हो।
पौष १२ गतेदखि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा देखिएको दादुरा रोग महिना दिन पुग्न लाग्दा जिल्लाका दुई पालिकाबाहेक सबै पालिकामा फैलिएको छ। पछिल्लो दिनहरुमा जिल्लामा दादुरा रोगले महामारीको रुप लिइरहेको छ।
जिल्लाका ८ स्थानीय तहमध्ये ६ स्थानीय तहमा दादुरा फैलिएको छ। जसमध्य सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा मात्र २०१ जनामा संक्रमण देखिएको छ। जिल्लामा दैनिक सरदर १४ जना दादुरा संक्रमित थपिनेक्रम रहेको जिल्ला स्वस्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बताइन्।
आइतबारसम्मको तथ्यांकअनुसार नेपालगञ्ज उपमहानगरपालिकामा २०१ जना, कोहलपुर नगरपालिकामा ६, खजुरा गाउँपालिकामा १९, नरैनापुरमा ३६, डुडवामा १० र जानकी गाउँपालिकामा २ जना गरी जिल्लाभर २७४ जना दादुरा संक्रमित देखिएका छन्।
२७४ जना संक्रमित देखिएपनि एक जनाको मात्र मृत्यु भएको छ। अहिले संक्रमित बालबालिकाहरुलाई घरकै आइसोलेशनमा राखेर चितित्सकको निगरानीमा उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेलले बताइन्।
उमेर समूहअनुसार दादुरा देखिएका मध्य सबैभन्दा बढी पाँच वर्ष माथिका बालबालिका छन्। नौ महिनाभन्दा कम उमेरका बालबालिका १५ जना, नौ देखि १५ महिनासम्मका १६ जना, १५ महिनादेखि दुई वर्षसम्मका १८ जना, दुई वर्षदेखि पाँच वर्षसम्मका ७८ जना र पाँच वर्षभन्दा माथिका १४७ जना रहेका छन्।
के नियन्त्रण बाहिर छ दादुरा संक्रमण?
बाँकेमा पुस १२ गते देखिएको दादुरा फैलिने क्रममा छ। नेपालगञ्जबाट सुरु भएको दादुरा, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका हुँदै अहिले जिल्लाको पश्चिममा रहेको नरैनापुर गाउँपालिकामा हटस्पट भएको छ। बाँकेबाट सुर्खेत र रुकुम पश्चिममा गएका २/४ जनामा दादुरा देखिएको जानकारी आएकोसमेत प्रमुख पौडेलले बताइन्।
दादुरा संक्रमण नियन्त्रण बाहिर छ त? भन्ने बिएल नेपाली सेवाको प्रश्नमा पौडेलले संक्रमण फैलिने क्रम रहेको भएपनि नियन्त्रणमुखी रहेको जानकारी दिइन्। कहिलेसम्म नियन्त्रणमा आइसक्छ? भन्ने प्रश्नमा उनले अबको एक महिनामा नियन्त्रणमा आउने बताइन्। ‘दादुरा सुरुमा देखिएको नेपालगञ्जमा १०० प्रतिशतमा खोप लगाउने काम सकिएको छ। खजुरामा पनि ९५ प्रतिशतमा खोप लगाइएको छ र अहिले हटस्पट भएको नरैनापुरमा पनि ७० प्रतिशत लगाइसकिएको छ,’ उनले भनिन्, ‘यसले हामीलाई अबको एक महिनामा सबै ठाउँमा खोप लगाइसक्छौँ र नियन्त्रण गर्न सक्छौँ भन्ने आशा जगाएको छ।’
पौडेलले संक्रमित बिरामीरुरू पनि सामान्य रहेको बताइन्। ‘जति संक्रमित हुनुहुन्छ, उहाँहरु पनि होम आइसोलेशनमा हुनुहुन्छ,’ उनले भनिन्, ‘सिकिस्त भन्ने छैन। एक जना अलि जटिल बिरामी भन्ने थियो तर उहाँको पनि उपचार भइसकेको छ। स्वास्थ्य अवस्था ठिक छ।’
फर्कियो काठमाडौँबाट आएको डाक्टरको टोली
बाँकेमा दादुराले महामारीको रुप लिएपछि काठमाडौँबाट चिकित्सकको टोली आएको थियो। अहिले उक्त टोली फर्किएको छ। ‘स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट १४/१५ जनाको चिकित्सकको टोली आएको थियो,’ पौडेलले भनिन्, ‘यहाँको अवस्था बुझेर उक्त टोली फर्किएको छ।’
आइतबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी नेपालगञ्ज आएर दादुराको अवस्थाका बारेमा जानकारी लिएका छन्। उनले दादुरा नियन्त्रणका लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताएका थिए। मन्त्री गिरीले दादुरा नियन्त्रणका लागि थालिएको खोप अभियान प्रभावकारी भएको बताएका थिए।
पूर्ण खोपमुक्त जिल्ला बाँकेमा दादुरा कसरी फैलियो?
बाँके पूर्ण खोपमुक्त जिल्ला घोषणा भएको दुई वर्ष पुग्दैछ। ६ चैत्र २०७७ सालमा बाँकेलाई पूर्ण खोपमुक्त जिल्ला घोषणा गरिएको थियो। पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकाले पूर्ण रुपमा लगाउनु पर्ने सबै खोप लगाएपछि खोप मुक्त जिल्ल घोषणा गरिन्छ। जसअन्तर्गत दादुरा खोप पनि पाँच वर्ष मुनिका बालबालिकालाई अनिवार्य रुपमा लगाउनु पर्ने खोप हो।
खोप लगाएपछि बालबालिका यी रोगको जोखिममा छैनन् भन्ने हो। तर बाँकेमा दादुरा महामारीका रुपमा देखापरेपछि कसरी फैलियो भन्ने प्रश्न उठेको छ। त्यति मात्र होइन पूर्ण खोपमुक्त जिल्ला घोषणा हचुवाको भरमा त गरिएको छैन? भन्ने शंका स्वभावलै उठेको छ। दादुरा रोग पनि बढी खोप नलगाएका बालबालिकालाई देखिएको छ।
स्वास्थ्य कार्यालयकी प्रमुख पौडेलले पनि पूर्ण खोप मुक्त जिल्ला घोषणा गर्दा केही गल्ती स्वास्थ्यकर्मीहरुको भएको स्वीकार्छिन्। ‘केही हदसम्म पूर्ण खोप घोषणा अपूर्ण जस्तो पनि हो। तर दादुरा फैलनुमा पूर्ण खोप घोषणासँग त्यति सम्बन्ध छैन किनभने घोषणा गर्दा १६ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई हेरेर गरिन्छ,’ उनले भनिन्, ‘यहाँ पाँच वर्ष माथिकालाई दादुरा देखिएको छ। यसले त जिल्ला पूर्ण खोप घोषणा भएको दुई वर्ष पनि पुगेका छैन। त्यसैले पहिलेका नै खोप नलगाएकाहरुमा देखिएको पाइन्छ।’
पौडेलले बाहिरबाट आएका, कोठा भाडामा बस्नेमा दादुरा देखिएकाले पनि पूर्ण खोप घोषणासँग त्यति सम्बन्ध नरहेको बताउँछिन्। उनले दादुरा खोप नलगाएकोबाट फैलिएको बताउँदै धेरै संक्रमित भएपछि खोप लगाएकालाई पनि दादुरा संक्रमण भएको बताइन्।