बालेन्द्र जी,
जधौ।
मलाई हजुरसँग केहि रिस, घमण्ड र ईर्ष्या छैन। गरौँ पनि कसरी, हजुर काठमाडौँ सहरको मेयर, म एउटा पत्रकार। हजुरहरु जस्तो ठुला पदमा विराजमान राष्ट्रिय गहनाहरु बिना मेरो काम हुँदैन, हजुरकै विषयवस्तुमा लेखेर गुजारा टार्ने गरेको छु। हजुरले जस्तो इन्जिनियरिङ् गर्ने आर्थिक अवस्था नि थिएन, १२ कक्षा सकिने बित्तिकै पाँच हजार रुपैयाँमा काम गर्न थालेँ।
अहिले जहाँ छु, आफ्नै बलबुतामा आइपुगेको हुँ। यद्यपि, मलाई केहि कुराको घमण्ड छैन। तर उमेरले हजुर भन्दा सानो भएपनि मानिससँग बोल्ने सोमत र सहानुभूति प्रकट गर्ने क्षमता हजुरमाभन्दा धेरै भएको कुरामा गर्व गर्छु।
हजुरलाई कुनै आरोप प्रत्यारोप लगाएको होइन। मेयर भइसकेपछि मीडियामा हजुर उपस्थिति न्युन नै छ। त्यो विषयमा आपत्ति जनाएको पनि होइन, मानिसको आफ्नो विचार हुन्छ, धारणा हुन्छ र इच्छा हुन्छ। लोकतान्त्रिक देशमा कानुनको दयरामा बसेर सबै कुरा गर्न पाइन्छ। हजुरलाई मिडियामा बोल्न अस्वीकार गर्ने सम्पूर्ण अधिकार छ। तर यही लोकतान्त्रिक देशको अर्को एउटा नागरिकले प्रश्न गर्दा हजुरले 'तिम्रो अस्तित्व छैन' भन्नु अस्वाभाविक र असामान्य होइन र?
हजुरलाई भोट हाल्ने जनताले गरेको प्रश्नमा हजुर जवाफदेही हुनुहुन्न र? प्रश्न त्यस्तो असामान्य पनि त थिएन। हजुरले अपमान गरेर त्यस्तो निच जवाफ दिनुपर्ने अवस्था पनि थिएन।
केहि महिना अघि दुईजना पत्रकारले हजुरलाई प्रश्न गर्न खाेज्दा उनीहरुकाे कुरा वेवास्ता गरेर 'ह्यारेस' गर्याे भन्दै हजुरले एउटा संगठनविरुद्ध नै उजुरी गर्नुभयो।
राजा ज्ञानेन्द्र शाहले पनि बेला बेलामा नेपाल टेलिभिजनमार्फत सन्देश दिएर अलप हुन्थे। दोहोरो संवाद हुँदैन्थ्यो। तैपनि प्रश्न गर्न त मिल्थ्यो। हजुरको हैसियत राजाभन्दा माथि भएको हो र ? हुन त देशका निमुखा जनताले दुख पाएको देख्दा हजुरलाई विकास भएको जस्तो लाग्छ, किन प्रश्नको जवाफ दिनु हुन्थ्यो र हजुरले? आफ्नो महलबाट गरिबको रमिता हेरेर फुर्सद भएपछि जनसवालको उत्तर दिनुहुन्छ भन्ने आशा छ।
प्रश्नकर्ताले उठाएको विषय पनि सान्दर्भिक नै थियो। स्थानीय तहको चुनाव अघि हजुरले पेश गर्नुभएको 'भिजन' काे लामो सूची अहिलेसम्म कुनै पनि परियोजना सफल भएको देखिँदैन, निकट भविष्यमा हजुरले आफ्नो बाचा पूरा गर्नुहुन्छ जस्तो पनि देखिँदैन।
विकास भनेको डोजर चलाएर मात्र हुने हो र मेयर साप? 'विकासको लागि बिनास जरुरी छ' भन्ने नारा हजुरको समर्थकमाझ चर्चित भइरहँदा काठमाडौँलाई एकपटक राम्रोसँग नियाल्ने हो भने 'विकासको नाममा बिनास' मात्र भइरहेको छ।
चुनाव अघि जनतालाई देखाउनु भएको 'भिजन' ढोंग थियो? कि हजुर पनि उही पुराना नेताहरु जस्तो अवसरवादी पर्नुभयो? जनताले हजुरसँग जवाफ त माग्न पाउनुपर्यो नि, हैन र सरकार?
हजुरले भोट माग्ने बेला जनतालाई देखाउनु भएको 'भिजन' र याेजना झुटो जस्तो लाग्न थालेको छ। पदवहार गर्नुभएको वर्षदिन पुग्न लागिसक्दा पनि हजुरको 'भिजन' झल्किने काम केहि भएको जस्तो त लाग्दैन।
सडक व्यापारीहरुलाई मात्र जबरजस्ती बल प्रयोग गरेर उठाउनुभएको छ, काठमाडौँको सडक हजुर जस्तो चिल्लो गाडीमा हिँड्नेहरुका लागि मात्र हो र? 'पैसा कमाउने सोच भएको मान्छेको अस्तित्व हुँदैन र?'
हजुरले गरिब र भूमिहीनहरुमाथि गर्नुभएको ज्यादती देख्दा त काठमाडौँ हजुर जस्तो धनाढ्यहरुको लागि मात्र हो जस्तो लाग्न थालिसक्यो मेयर साप।
हजुर जस्तो पूख्याैली सम्पत्तिको भागिदार परेनाैँ हामी। हजुरले जस्तो सानै उमेरमा गाडी किनेर हिँड्न पनि सकिएन। तर सानै उमेरदेखि दुख गर्न सिकियो र अरुले दुख गरेको देख्दा सहानुभूति प्रकट गर्न पनि सिकियो।
बाटोमा बिहान-बेलुकाको छाक टार्न साग बेच्ने आमैलाई देख्दा कहिल्यै पनि 'पैसामा बिकेको अस्तित्व नभएको मान्छे' जस्तो सोच यो मन र मष्तिस्कमा कहिले पलाएन। उहाँहरुले जस्तो संघर्ष मैले भोगेको छैन होला तर संघर्ष मैले पनि बुझेको छु, त्यसैले उहाँहरुप्रति सहानुभूति जागेर आउँछ।
हजुरले आफ्नो सिसाको महलबाट हेर्दा बाटोमा व्यापार गर्नेहरुलाई फोहोरी, दुर्गन्धित, र सहरको सौन्दर्यलाई हानी पुर्याउने जीवजन्तु जस्तो देख्नुहुन्छ हाेला तर हामीले बालबच्चाको पेट भर्न दुख गरिरहेकी आमा देख्छौँ, छोरालाई एक जोर जुत्ता किन्दिन संघर्ष गरिरहेका बुवा देख्छौँ।
काठमाडौँको सडकमा थुप्रै छन् त्यस्ता पात्रहरु। एक छाक भात खान अघिल्लो दिनको कमाईमा निर्भर हुनेहरुको कमी देख्नुहुन्न हजुरले?
वर्गवादको प्रतीक बनेर काठमाडौँ महानगरपालिकाको गद्धीबाट एकपटक हेर्नुहोला सरकार, एकदिने कमाईले जिन्दगी गुजारा गर्नेहरु थुप्रै छन्। हजुरको पाँच वर्षे कार्यकाल त एक दिन अवश्य सकिन्छ तर ती निमुखाहरुको संघर्ष जिन्दगीभरि जारी रहने छ।
गरिबको चमेली... बोल्दिने बेला यही हो, बालेन्द्र सरकार। नत्र जनताको आशा बनेर चुनावी मैदानमा उत्रिनुभएको बालेन्द्र साहलाई पनि त्यही जनताले 'अवसरवादी नेता' भनेर विदाइ गर्ने दिन पनि टाढा छैन ।