राजनीति शब्द नै खतरा छ। राजनीति आफैँमा जोखिमपूर्ण छ। राजनीतिको मार्गमा हिँड्नु, राजनीति गर्नु तरवारको धारमा रहेको मह चाट्नु जस्तै हो। सावधानीपूर्वक चाट्न तरवार समाउन कुशल हुनुपर्छ र मात्रै महको स्वाद लिन सक्छ, अन्यथा जिब्रो चट्!
अहिलेको वर्तमान राजनीतिमा जसले जोखिम लिन्छ, उसले सफलता पाउँछ। अहिले संसदीय निर्वाचनपछि कुनै पनि राजनीतिक दलले बहुत ल्याउन नसकेपछि दलभित्र आफ्नो नेतृत्वमा सरकार निर्माण गर्न कि नेपाली कांग्रेस कि नेकपा माओवादी मात्र सक्षम रहेको विद्यमान अवस्थामा दुवै दलले जोखिम उठाउनुपर्ने अवस्था थियो।
कांग्रेसले उठाउने जोखिम भनेको संसदमा ठुलो दल हुँदाहुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार निर्माण गर्न दिनु र त्यस्तो अवस्थामा कांग्रेसभित्रैबाट अपजस पाउनु तथा सम्पूर्ण दोष बोक्नु हाे।
प्रचण्डको जोखिम भनेको कांग्रेससंग गठबन्धन भंग गरेर एमालेसंग गठबन्धन गरेर आफ्नो नेतृत्वमा सरकार निर्माण गर्नु, त्यो पनि जोखिमपूर्ण थियो। प्रचण्डलाई जोखिम झन् त्यसबेला लाग्यो, जब सरकार सञ्चालन गर्ने संयन्त्र बन्यो अनि एमाले अध्यक्ष केपी शर्मा ओली त्यसकाे संंयोजक बने। संयन्त्रको पहिलो बैठकबाट प्रचण्ड झस्किए।
जोखिम लिन र मोल्न अभ्यस्त बनेका प्रचण्डलाई यो जोखिम उनकाे जीवनमा लिएका जोखिमहरुमध्ये राजनीतिक रुपमा ठुलो महत्व राख्छ। यो महत्व यसकारणले राख्ने भयो कि जब कांग्रेसले प्रचण्डलाई विश्वासको मत दियो।
अहिले राजनीतिमा प्रचण्डले लिएको जोखिमभन्दा कांग्रेसले लिएको जोखिम धेरै खतरनाक छ। कांग्रेसले उठाएको जोखिम निकै भारी छ र त्यो भारले कांग्रेस उठ्छ कि माओवादी या दुवै दल उठ्छन्, त्यसकाे दृश्य निकट भविष्यमा देखिन्छ नै।
'माटोको भर ढुगांलाई, ढुगांको भर माटोलाई' भने जस्तै अहिले 'कांग्रेसको भर माओवादीलाई, माओवादीको भर कांग्रेसलाई' भएको छ यो विश्वासको मतले।
एमालेप्रति माओवादीलाई विश्वास छैन। माओवादीले एकीकृत हुँदा र केपी ओली प्रधानमन्त्री हुँदाको अवस्था भोगिसकेकाे छ, त्यसकाे पीडा पनि हो एकीकृत नेकपा भंग हुनु। यसै सन्दर्भमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले 'अहंकार र घमण्ड नराख्नु' भनेर प्रचण्डलाई सुझाउँदा माधव नेपालले एमालेमा हुँदैको अवस्थाको त्यही पीडा र अपमान बाेधले व्यक्त गरेका हुन सक्छन्।
नेपाली कांग्रेसले पनि यिनै सन्दर्भदेखि अतिरिक्त अन्य केही राजनीतिक अभिष्टलाई लिएर विश्वासको मत दिएको हुन सक्छ। पहिलो कुरा त केपी ओलीलाई प्रतिगमन गरेको आरोप लगाउँदै गरेको कांग्रेसले अहिले सात दलको गठबन्धनमा र त्यस संयन्त्रका अध्यक्ष केपी रहनु तथा त्यस गठबन्धनमा रहेका दलहरु एवं यिनीहरुको राजनीतिक उदेश्य अनि चरित्रले अरु प्रतिगमनको खतरा कांग्रेसले देख्नुले पनि विश्वासको मत हुन सक्छ।
प्रधानमन्त्री प्रचण्डले त्यस्तो खतरा देखेमा कांग्रेसको विश्वासको मत नै भर रहन्छ, यदि उनी प्रतिगमनविरुद्ध छन् भने। कांग्रेसले पनि दिएको विश्वासको मत प्रचण्डमा भर पर्छ। सात दलको दवावबाट पनि खुकुलो र सहज बनाउने काम कांग्रेसको विश्वासको मतले गरेको छ।
कांग्रेस अहिले संसदमा प्रतिपक्ष छ र विश्वासको मत दिएर पनि आफूलाई प्रतिपक्ष हो भनेको छ। लोकतन्त्रात्मक शासन व्यवस्थामा प्रतिपक्षको राजनीतिक महत्व ठुलो छ, लोकतन्त्रको गहना र शौन्दर्य नै प्रतिपक्ष हो। प्रतिपक्षरहित संसदमा प्रजातन्त्र, लोकतन्त्र फस्टाउँदैन/फैलँदैन। यो अझ संकुचित हुन्छ, खुम्चँदै जान्छ। कांग्रेस आफैँ लोकतन्त्र, प्रजातन्त्रको रक्षक हुँ भन्ने पार्टीले विश्वासको मत दिएको रणनीति आफैँमा जोखिमपूर्ण छ।
जोखिम कस्तो खालको देखियो भने संसद हालको अवस्थामा धेरै दलको भएतापनि यो संसद एकदलीय जस्तो हुन पुग्यो। यसले लोकतन्त्रात्मक, प्रजातन्त्रात्मक व्यवस्थामा भोलि खतरा उत्पन्न हुन सक्छ। संकट आउन सक्छ। त्यो नै सबैभन्दा ठुलो जोखिम कांग्रेसले विश्वासको मत दिएर लियो।
विश्वासको मत दिनु राष्ट्रपति र सभामुखको पद प्राप्त गर्ने अपेक्षा पनि हो। यसमा कांग्रेसले सभामुखबाट विमुख हुनु परेको छ।
अब रह्यो, राष्ट्रपतिको निर्वाचन। यसमा कांग्रेसले सहमति जुटाएर राष्ट्रपतिमा सफलता प्राप्त गर्यो भने ‘प्रचण्डलाई कांग्रेसको भर, कांग्रेसलाई प्रचण्ड’ को भरले सार्थकता पाउनेछ। अन्यथा भोलि कांग्रेसले पाँच दलभित्र प्रचण्डलाई प्रधानमन्त्रीमा सहमति नगरेकोमा उठेका प्रश्नभन्दा अझ गम्भीर प्रश्न प्रचण्डलाई दिएको विश्वासको मतमा उठ्न सक्छ।