बाल्यकालमा मलाई ‘अमेरिका’ शब्दले नै रोमाञ्चित बनाउँथ्यो। सायद म जस्तै यो विश्वका धेरै व्यक्तिहरुलाई रोमाञ्चित बनाउँछ, फरक यत्ति हो कि मुख फोडेर कमले मात्र भन्छन्। अमेरिका गएर आएका नातेदारहरुको मुखबाट अमेरिकामा यस्तो हुन्छ वा उस्तो हुन्छ भनेर दिएको गफले कहिले अमेरिका पुगेर त्यस्ता रोमाञ्चक दृश्य हेर्न पाइन्छ जस्तो लाग्थ्यो। यद्यपि, उनीहरुले दिएका धेरै गफ केवल गफ मात्र रहेछन् भन्ने बल्ल अहिले थाहा भयो।
मलाई दुई वटा ठुलो भ्रम थियो। पहिलो, अमेरिकन (सबै सेतो छाला भएका)हरुसँग धेरै पैसा हुन्छ र दोस्रो, उनीहरुलाई खुसी बनाउन सके भने अमेरिका जान पाइन्छ। अब दोस्रो उद्देश्य कसरी पूरा गर्ने ? यो ठुलो समस्या थियो।
कताबाट कुन अमेरिकीलाई खुसी बनाउने र भुरुरु अमेरिका उड्ने भनेर सोच्दा सोच्दा कति दिन वा वर्ष बिते त्यो पत्तै भएन। खुसी बनाउन सक्ने गरी कुन अमेरिकीसँग सम्बन्ध हुन्थ्यो र आफ्नो लक्ष्य पूरा गर्न सकिन्छ भनेर अनेकौँ उडन्ते योजना बनाइयो।
अपसोच ! मेरा त्यी सबै योजनाहरु गन्तव्यमा पुग्न नै नपाई टुट्यो, कारण थियो कुनै पनि अमेरिकनसँग नजिकको सम्बन्ध हुन नसक्नु।
आफ्नो एक मात्र लक्ष्य पूरा गर्न बाटोमा हिँड्दा पनि कुनै अमेरिकन देखिन्छ कि भनेर हिँड्ने गर्थेँ। कुनै अमेरिकनलाई पट्याउन पाए उसले पैसा पनि दिन्थ्यो र अमेरिका पनि लग्थ्यो। यस्तै धुनमा किलोका किलो मनको लड्डु पाथीका पाथी घ्युसँग खाने काम त भयो तर कुनै अमेरिकन पट्टिने त परै जाओस्, उनीहरुलाई देख्नसम्म पनि पाइएन।
ठमेल क्षेत्र पर्यटकीय रुपले विकास भएपछि ‘बजेट टुरिस्ट’ (चलनचल्तीको भाषामा झोले टुरिस्ट)हरु सायद कता जाउँ कता जाउँ भएर वा ‘टाइम पास’ गर्न यदाकदा मेरो घर नयाँ बजारतिर पनि आइपुग्थे। जब सेतो छाला भएकाहरुलाई देखिन्थ्यो। एउटा आशाले फेरि एकपटक टाउको उठाउँथ्यो। अमेरिकनलाई खुसी पारेर अमेरिका जाने एक सूत्रीय लक्ष्य र जब ती गोराहरु नजिक पुग्थेँ म आफूले जानेका दुई शब्द ‘हेल्लो’ र ‘हाउ आर यु’ भन्दै निकै टाढासम्म उनीहरुको पछि लाग्थेँ तर परिणाम हात लाग्यो शून्य। यस्ता क्रियाकलापहरुले न त ती मान्छेहरु खुसी भए न त म अमेरिका जान नै पाएँ।
त्यो लक्ष्य पूरा हुन् नसके पनि मनको एउटा कुनामा आशा भने थियो। सामाजिक सञ्जाललको प्रयोग बढ्न थालेपछि विदेशीलाई साथी बनाउने र उसलाई खुसी बनाएर उड्ने योजना सुरु भयो। सामाजिक सञ्जालको प्रोफाइलमा अमेरिकाको ठेगाना छ भने भटाभट फ्रेन्ड रिक्वेस्ट पठाउने र उनीहरुले त्यो रिक्वेस्ट स्वीकार गरेको दिन आफ्नो भावी योजना पूरा हुने भयो भनेर आफैँ यति खुसी हुन्थेँ कि मलाई रातभरि निद्रा लाग्थेन। भाषाको समस्याले गर्दा उनीहरुसँग कुरा नै गर्न नसकेर त्यो सम्बन्ध पनि अगाडि बढ्न सकेन। फ्रेन्ड लिस्टमा अनेकौँ विदेशी महिला र पुरुषलाई देख्दा साथीहरु डाहले भुतुक्क हुन्थे। म आफ्नो पूरा हुन नसकेको खोक्रो योजना सम्झेर मनमनै कुँडिन्थेँ।
अझै पनि अमेरिकनलाई खुसी बनाएर अमेरिका उड्ने मेरो एक सूत्रीय योजना जारी नै छ र त्यो योजना पूरा गर्न म जे जस्ता कठिनाइ पनि झेल्न सक्छु भनेर अगाडि बढिरहेको छु। थाहा छैन, मेरो यो योजना कहिले पूरा हुन्छ ? आशा छ, सबैले सच्चा मनले शुभकामना दिए म आफ्नो योजनामा सफल हुने थिएँ।