लुम्बिनी: संसद अवरुद्ध गर्ने तयारीमा नागरिक उन्मुक्ति  

नागरिक उन्मुक्ति पार्टीले आज (बिहीबार) बस्न लागेको लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले दिउँसो १ बजे बस्न लागेको प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने तयारी गरिरहँदा उन्मुक्ति पार्टीले संसद बैठक अवरुद्ध गर्न लागेको हो।

नागरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीलाई समर्थन गरेको दल पनि हो। सरकारलाई समर्थनसँगै आफ्ना मागहरु संसदमा राख्ने र टिकापुर घटनाका बन्दीहरुलाई निशर्त छाड्नुपर्ने, लाल आयोगले तयार गरको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेर संसद बैठक अवरुद्ध गर्न लागेको लुम्बिनी प्रदेशसभा ससंदीय दलका नेता धर्मबहादुर चौधरीले बताए।

उनले सभामुखको पहिलो पदभार ग्रहणलाई स्वागत गर्ने र त्यसपछि संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको जानकारी दिए। आजको संसद बैठक अवरुद्ध गर्ने कार्य केन्द्रको निर्देशन बमोजिम गर्न लागेको पनि संसदीय दलका नेता चौधरीले बताए।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य हरेका छन्। जसमा सरकार गठनका लागि ४४ जना सांसदको आवश्यक्ता पर्छ। मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४र४, जसपा, लोसपा र जनमतका ३र३ र २ स्वतन्त्र सांसदहरूकोसहित ५८ जनाको समर्थन रहेको छ।

प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ सदस्य छन्। विश्वासको मत लिएपछि मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार गर्ने तयारीमा मुख्यमन्त्री गिरी छन्।

प्रकाशित मिति: : 2023-01-19 13:04:00

प्रतिकृया दिनुहोस्