प्रकृतिको अपार सुन्दरतालाई उबडखाबड भूगोलमा पलाएका डाँडाकाँडा र लेकबेँसीका अनेक रङ्गले रंगिन बनाएको छ। जहाँ मानसरोवर, हिमाली भेगको समुद्र मानिने राराताल, से–फोक्सुन्डो, त्रिदेवी ताल, बुलबुले ताल, स्यार्पू ताल, कुपिन्डे दह, पानदह, तातोपानी जस्ता चर्तित ताल तलैया छन्।
पचाल झरना, कान्जिरोवा, पातरासीलगायत हिमशृङ्खला, चन्दनाथ मन्दिर श्री कनकासुन्दरी मन्दिर, पाण्डव गुफा, से–गुम्बा, पञ्चदेवल, बडीमालिका मन्दिर, चुलीमालिका मन्दिर, धुलेश्वर, श्रीस्थान, पञ्चकोशी, नाभिस्थान, पादुका, देउती बजै, काँक्रे विहार, मालिका गुफा तथा भैरवनाथ मन्दिर, खैराबाङ मन्दिर, छायाँक्षेत्र मन्दिर, डिग्रे साईकुमारी मन्दिर जस्ता धार्मिक तथा पवित्र तीर्थस्थल छन्।
कर्णाली, ठूली भेरी, सानीभेरी, रुकुमगाड, नलसिंगाडलगायत अन्य सयौं गाडहरुबाट सिंचाइ, जलयातायात तथा ३३ हजार बढी मेगावाट जलविद्युतको प्रचुर सम्भावना भएका नदीहरु कलकल बगिरहेका छन्।
यार्सागुम्बा, सुगन्धवाल, पाँचऔंले, भुतकेस, कुरिलो, पाँचऔंले, टिमुर, दालचिनी, गुर्जो, कुट्की, पाङर, लौंठसल्ला, बादलपाते, बोझो, हर्रो, चुत्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराइतो, जटामसी, वन लसुन, नीरमसी, बिखुमा भलायो आदि जडीबुटीहरुले औषधिको खानी छ भनी गर्व गर्ने ठाउँ छ। हिमचितुवा, कालो भालु, रेड पाण्डालगायत असंख्य जंगली जनावरहरु छन्।
खस सभ्यता तथा साम्राज्यको विशालता र महिमा, कला संस्कृतिले सजिएको र खस भाषाको विकास गरेको प्रदेश भनेर कसैले भन्यो भने दिमागमा चित्र बन्छ कर्णालीको। र यही कर्णाली शब्द, अञ्चल र प्रदेशको न्वारानको कथा पनि बढो रोचक छ।
‘कर्णाल’ (करनाल) भन्नाले कर्णालीमा प्रचलित एक किसिमको घुगुरिएको बाजा हो। यो बाजालाई जोडले फुकेर बजाइन्छ। यसको आवाज तीब्र हुन्छ र पहाड पहरा नै थर्किने गरी धेरै परसम्म सुनिने खालको हुन्छ। कर्णाली नदी पनि ठुलो छ र यो नागबेली हुँदै तीव्र आवाजमा बग्छ।
योगी नरहरिनाथको कथननुसार पनि कर्णालझैं कलनाद गर्ने भएकोले ‘कर्णाली’ भनिएको हो। (इतिहास प्रकाश २ र ३) जनकथनअनुसार यो पनि विदित हुन्छ कि सिमिकोटदेखि तल खार्पु भन्ने स्थाननिर हुम्ला कर्णालीसँग चुवाखोला मिल्ने दोभानमा ती दुईओटा नदी जुध्दा कर्णाल बाजाको आवाज तुल्य ध्वनि सुनिन्छ।
नगरा बजाउनेलाई नगार्ची, कर्नाल बजाउनेलाई कर्नाल्ची भनिन्छ। कर्नाल प्राचीन सुषिरवाद्य मध्येको एक बाजा हो। यसको प्राचीन नाम कर्न थियो। पछि यसलाई कर्नाल भन्न थालियो। यसको आवाज र स्वरुप नदीसँग मिल्दो भयो। ‘करनाल’ बाजाको आविस्कारले यो नदीको नाम नै ‘करनाली’ रहन गयो। यो आवाज आजसम्म पनि साँझदेखि रातभर सुनिएकै छ। उक्त तथ्य यस भेकको निकटमा भेरी अञ्चलमा बग्ने अर्को नदीको नाम ‘भेरी’ भएबाट पनि पुष्टि हुन्छ। किनभने ‘भेरी’ पनि ‘कर्णाल’ तुल्यकै ध्वनि निस्कने एक दुन्दुभी बाजाको नाम हो।(हेर्नुस् कर्णाली लोक संस्कृति, इतिहास, सत्यमोहन जोशी, पृष्ठ ३)
यी ठुला आवाज आउने बाजाका आविष्कार कसले गर्यो होला? उत्तर सहज र सरल छ, सत्ताले जबर्जस्ती बनाएका कथित तल्लो जातका मान्छेले गरेका हुन्। बजाउनका सिपालु दमाईलाई सार्की र कामीले काठ, धातु वा छालाका सामान बनाइदिएर सहयोग गरेका छन्। यसरी सार्की, कामी र दमाईको श्रम सहकार्यका उपज हुन्, कर्नाल र भेरी। यिनैले कर्णाली, भेरी क्षेत्रको नामाकरण गर्न सहयोग पुग्यो।
बाजासँग जोडिएको नदीको नाम उस्तै रहे पनि, भूगोलको नाम परिवर्तन गरेर खस साम्राज्य भनियो। यसले खसहरु कर्णालीका आदिवासीलाई शासन गर्न पछि मात्र आएका हुन् भन्ने तथ्यसँग नजिक हुन मद्दत पुग्छ। त्यसैले प्रष्ट भन्न सकिने स्थिति छ, कर्णालीका मुलवासी दलितहरु हुन्। अब सुन्नुस्, हिमालको पाउमा लमतन्न भूगोलभित्र रहने कर्णालीका मुलबासी दलितहरुको कथा।
इतिहासको पानामा दर्ज भएको यहाँको भौगोलिक र राजनीतिक विरासतलाई अनेक तहले चर्चा–परिचर्चा गरिन्छ। वसन्त ऋतुमा सल्लीपिरल (सल्लीपीर)को सुसाई। गृष्ममा नदीको बगाई। यहाँको प्राकृतिक सौन्दर्य र हिरा जसरी टल्कने कान्जिरोवा, पातरासी हिमशृङ्खला। यी सबैको वर्णन आख्यान र गैरआख्यानका ठेलीहरुमा संग्रहित छन्। अनेक बिम्बमा सजिएका छन्।
प्रदेश हिमाली हो, तर यसको स्वरुपमा बहुलताको मिश्रण छ। हावापानीले हिमालको आभास दिन्छ। भौगोलिक हुलिया तराईको जस्तो छ। विश्वास नै गर्न मुस्किल हुने। तर, विश्वास गर्नैपर्ने यहाँको विविधता छ। तर, यो प्राकृतिक भव्यता देखेर आनन्दित हुने मनलाई जातीय विविधताभित्रको शून्यताले भने ऐठन लगाउँछ।
हरेक दिन अग्ला डाँडाको काखबाट उदाउने घाम शिशिरमा बिहान अबेर आउँछ र बेलुका सबेरै जान्छ। त्यही घाम वसन्तमा बढो फूर्तिकासाथ बिहानै विस्तारामै पुग्छ। दिनभर राज गर्छ र बेलुक अबेर जान्छ। प्रकृतिको अनुपम दृश्यभित्र लुकमारी खेलिरहने यस क्षेत्रमा क्षेत्री, कामी, दमाई, ढोली, सार्की, मगर, ठकुरी, सन्यासी, दशनामी, तामाङ, गुरुङ, बाहुनलगायतका जातजातिको बसोबास छ। यति धेरै जातजातिको फूलबारी बनेको यो प्रदेशमा नमिलेको सामाजिक संरचना छ। छुवाछुत, कमजोर खालको सांस्कृतिक स्तर, न्यून आर्थिक अवस्था, राजनीतिक पहुँचबाट टाढा, यी सबै यस प्रदेशका पेवा बनेका छन्।
मानव विकास सूचकांकमा कर्नाली अरू प्रदेशहरूको पुछारमा छ। मानव विकास सूचकांक २०२० को तथ्यांकअनुसार कर्णालीको ०.३७५ हुँदा बागमतीको ०.५०२ छ भने सुदूरपश्चिमको ०.४०० छ। त्यस्तै बहुआयामिक गरिबीको तथ्यांकअनुसार पनि कर्नाली सबैभन्दा पछाडि नै छ। अर्थात् कर्नालीमा सबैभन्दा बढी ५१.२२ प्रतिशत जनसंख्या गरिब भएको अवस्थामा बागमती प्रदेशमा जम्मा १२.२४ प्रतिशत गरिबी छ। गरिबमा अधिकांश दलितहरु छन्।
प्रतिपरिवार ५.२६ जना सदस्य बसिरहेको कर्णालीका प्रायः परिवारमा न्यूनतम एक जनादेखि अधिकतम पाँच जनासम्म १६ वर्ष मुनिका बालक छन्। तर साठी वर्ष कटेकाका संख्या विरलै पाइन्छ। त्यो दलित बस्तीमा अझ बढी छ। कर्णालीका हिमाली क्षेत्रमा साठी वर्षमा सामाजिक सुरक्षा भत्ता खान पाइन्छ। तर एक गाउँमा वृद्धवृद्धा गरी मुस्किलले १० जनाले भत्ता बुझेको पाइन्छ। यी अप्रकाशित तथ्यांकले बताइरहेको छ, यहाँको औषत आयु। हुनलाई त नेपाल सरकारले गर्ने रेटिङमा ६५ वर्ष औसत आयु देखाउँछ।
रोजगारीको अभावमा बेरोजगारीको भेलले कयौंलाई खाडी मुलुक पुर्याएको छ। माध्यमिक शिक्षा पूरा गर्ने लगायतका युवाको भारत–नेपाल आउजाउ चलिरहेकै छ। कमजोर धरातलको जगमा ठडिएको समाजका मान्छेलाई के देश के विदेश? सबै एउटै जस्तो लाग्छ। जिन्दगीमा जतिबेला पनि भूकम्प आउने सम्भावना प्रबल हुन्छ। त्यसैको बीचमा एक गास खाना र एक सरो लाउन पाउनु कर्णालीका दलितहरुको लागि जिन्दगीको ठुलो सफलता बन्छ।
देशभर १३ प्रतिशत दलित हुँदा कर्णालीमा २३ प्रतिशत दलितहरुको बसोबास छ। अन्तरिम संविधान २०६३ ले समावेशीकरणको नाममा दलितलाई जम्मा नौ प्रतिशत आरक्षण दियो। समानुपातिक समावेशीकरणको सिद्धान्तअनुसार देशभर कम्तिमा १३ प्रतिशत र कर्णालीमा २३ प्रतिशत आरक्षण दिनुपर्नेमा किनाराकृत समुदायको उपस्थितिलाई हल्का नजरअन्दाज गरियो। परिणाम निजामती सेवामा दलितको पहुँच अझै दशक बढी समय लाग्ने देखिन्छ।
अधिकृतभन्दा माथिल्लो तहको सरकारी जागिरे भेटिदैनन्। दुई जना विद्यावारिधी गरेका दलितमध्ये एक जना त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक हुन नै दलित समुदायले गौरव गर्ने विषय बनेको छ। यीबाहेक सबैको जीविका कालापहाड र ज्याला मजदुरी नै हो।
एक जना दलित महिला कर्णाली प्रदेशको मन्त्री र प्रदेशमा दलित सांसदको बलियो उपस्थितिले दलितमाथि हुने अमानवीय गतिविधिको विरुद्धमा बहस पेचिलो भएपनि न्याय पाउने वातावरण अझै बन्न सकेको छैन। संघीय संसदमा कर्णालीबाट दलितको प्रतिनिधित्व नहुनु कानुन निर्माणमा दलितका मुद्दा नसमेटिनु हो।
२०७४ सालको स्थानीय तहको निर्वाचनपछि एक जना दलित जिल्ला समन्वय समितिको प्रमुख हुन सफल भए भने अहिलेको निर्वाचनले पनि समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न सकेन। नयाँ बनेकाे सरकारले त झन् उपेक्षा नै गर्यो।
सभ्य समाजको सारथी बनेको शिक्षा रेडपाण्डाको स्थितिमा छ। साक्षर हुनु एउटा कुरा, शिक्षित हुनु अर्कै कुरा हो। शिक्षितले समाजका अँध्यारा पाटालाई चिर्ने साहस राख्छ। साक्षरले त्यसलाई बोकेर हिँड्छ। यो समाजमा चिर्नेभन्दा बोक्नेको संख्या ज्यामितीय दरमा बढेको छ। जसमा दलितहरु पहिलो नम्बरमा पर्छन्।
सार्वजनिक मञ्चका आयोजक देखि एनजीओ आइएनजिओका हाकिम र स्थायी खालको सरकारी संरचनामा समेत जम्मा आठ प्रतिशत मात्रै जनसंख्या भएका बाहुनहरुको हालीमुहाली छ। जम्मा १० प्रतिशत मात्रै बसोबास भएका ठकुरीहरुले कर्णालीको समग्र राजनीतिमा हाँकिरहेका छन्।
सर्वहारा जनताको निम्ति क्रान्ति गर्ने पार्टी हुन् वा झापा विद्रोहको क्रान्तिकारी पार्टी हाेस् या पुँजीवादको वकालत गर्ने पार्टी नै किन नहुन्, यी सबै उच्च तहको नेतृत्व तहमा उनीहरुकै बोलवाला चल्छ। ऐन कानुन बनाउने र कार्यान्वयन गर्ने तहमा पुगेका उनीहरुबाटै अन्तरजातीय विवाहमा तगारो हाल्ने र तत् पश्चातका हत्या गरिने गरेका तथ्यहरु छन्। दैलखमा सेते दमाई हत्याको मुल स्रोत नै सत्ताको आडमा भएको ठकुरीवाद हो भने रुकुम पश्चिममा नवराज विकलगायत पाँच जनाको सामूहिक हत्या पनि त्यसैको निरन्तरता हो।
जो रक्षक हुनुपर्ने थियो, उही भक्षक भइदिँदा धारो छोएको निहुँमा हत्या, चुलो छोएको निहुँमा हत्या, अन्तरजातीय प्रेम र विवाहमा हत्या भइरहेको छ। यसले आगामी दिन पनि दलितहरुका लागि थप चुनौतीपूर्ण बन्दैछन् भनी देखाइरहेको छ। जसको मूल जरो भनेकै ‘मनुस्मृति’ (इ.पू२००–३००) ब्राह्मणवादी सत्ताद्वारा समाज चलाउने विद्यमान हो। जसरी दोस्रो विश्व युद्वमा हिटलरले आर्यहरु मात्र शुद्ध रगतका मान्छे हुन्।
संसारभर शासन आर्यहरुको हुनुपर्छ भन्दै यहुदीलाई मारेका थिए। त्यसैगरी मनुस्मृतिले ब्राह्मणलाई उच्च स्थानमा राख्यो र अनार्यलाई मानवको दर्जा दिन अस्वीकार गर्यो। त्यसले मानवलाई चार वर्णमा विभाजन गर्यो। ब्राह्मणलाई सबैभन्दा माथि राखी क्षेत्री, वैश्य र शुद्रलाई आफूभन्दा मूनि राख्यो। आफूभन्दा मुनिको वर्णलाई यिनीहरु हाम्रो सेवाको लागि जन्मेका हुन भन्ने ब्राह्मणवादले शुद्रलाई त अझ पैतालाको धुलो वा कसैले छुन नहुले अछुतको संज्ञा दियो।
ब्राह्मणलाई सर्वोपरी मान्ने वातावरण बनाउनको लागि राज्यद्वारा नै कानुन बनाएर जाति प्रथालाई संस्थागत गर्यो। जयस्थिति मल्लले यस कुरालाई आत्मसाथ गर्दै नेपालमा जातको विभाजन गरे। मनुस्मृति ब्राह्मणवादको विद्यान त बन्यो नै त्योसँगै हिन्दु धर्म पनि गतिलो हतियार बन्यो। जसले वर्ण व्यवस्था भनेको त ईश्वरको आदेश हो भन्यो। ब्राह्मणलाई विशेष अधिकार प्राप्त व्यक्तिको रुपमा लिएको मनुस्मृतिले वर्णलाई जातमा विभाजन गरिसकेपछि ती जातहरुको बीचमा समाज विरोधी भावना पैदा गरायो।
मानव हृदयबाट टाढा रहेर कोरिएको मनुस्मृतिको आठौं अध्यायको ३६६ औं पदमा भनिएको छ, ‘शुद्रको हत्या गर्नु भनेको बिरालो, भ्यागुता, उल्लु, छेपारोको हत्या गर्नु समान हो। यी जीवहरुको हत्या गर्दा जुन किसिमको प्रायश्चित हुन्छ त्यही प्रायश्चित शुद्रको हत्यामा हुन्छ।’
मनुस्मृतिद्वारा चलेको समाजका अगाडि कानुन कति निरही हुन्छ भन्ने कुरा नेपालमा बनेको मुलुकी ऐन (२०२०), नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा (२०६३), जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन (२०६८), नेपालको संविधान २०७२ को मौलिक हकमा धारा १६ को सम्मानपूर्वक बाच्न पाउने हक र धारा १८ को समानताको हकको कार्यान्वयलाई हेरे पुग्छ। जो ‘कागलाई वेल पाग्यो हर्ष न विस्मात’ भन्ने उखान जस्ता बनेका छन्।
सन्तानहरु शिक्षित हुने अधिकारबाट कोशौं टाढा हुँदा, सभा समारोहमा आफूमाथि भएको अत्याचारलाई टुलुटुलु हेरिबस्ने ती युवाले कु-संस्कारका डामलाई निर्मम रूपमा सहिरहेका दलितहरुले अब आजभन्दा वर्षौंअघि अफ्रिकामा नेल्सन मण्डेलाले चलाएको रंगभेद विरोधी संघर्ष, अमेरिकामा मार्टिन लुथर किंगको गोरा–काला सबै भाइभाइ भन्ने सन्देश, भारतमा बाबासाहेब डा.भिमराव अम्बेडकरको मनुवादविरुद्धको तर्कसंमत खण्डनसँग परिचित हुनुपर्छ र आफ्नै संघर्षका कथाहरु बुन्न सक्नुपर्छ।