अमेरिकाका नेपालीको 'ट्याक्स रिटर्न दशैं' जनवरी २३ बाट सुरू

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाका अधिकांश नेपालीका लागि वर्षमा बडादशै दुईपटक आउँछ । एकपटक नेपालमा आएकै बेला दशै आउँछ, यो चाड हो यसले खुशी ल्याउँछ । अर्कोपटक भने फेब्रअरी महिनामा आउँछ, ट्याक्स रिटर्न भनिने यसपटकको दशैले भने डलर ल्याउँछ ।

यसपटकको ट्याक्स रिटर्न दशै जनवरी २३ देखि  सुरू हुने छ। यही दिनेदेखि अमेरिकीआन्तरिक राजश्व सेवा (आइआरएस)ले व्यक्तिगत ट्याक्स रिटर्न स्वीकार गर्न थाल्ने घोषणा गरेको छ । यसपटकको ट्याक्स फाइल गर्ने अन्तिम म्याद भने अप्रिल १८ सम्म कायम गरिएको छ । सामान्यतया ट्याक्स फाइल गर्ने अन्तिम दिन अप्रिल १५ यसपटक शनिबार परेको र अप्रिल १७ मा वाशिंगटनमा मुक्ति दिवस परेकाले डेडलाइन अप्रिल १८ सम्म धकेलिएको हो ।  

सामान्यत: ट्याक्स फिर्ता फाइल गरेको २१ दिनभित्रमा आउनुपर्ने पैसा फिर्ता आइसकेको हुन्छ । बैंकमार्फ्त गर्यो भने यो छिटो हुन्छ भने चेकमार्फत् फिर्ता लिनेका लागि भने समय लाग्छ । कथम्कदाचित यो प्रक्रियामा गढबढ भयो र आइआरएसको फाइलिङ सिस्टममा रातो बत्ती बल्यो भने ठूलो सम्या पर्न सक्छ। त्यसपछि लिने हैन, दिने दिन शुरू हुन्छ। अर्थात्, ट्याक्स रिटर्न दशै दशा बनेर आउँछ ।

यतिबेला अमेरिकामा ट्याक्स फाइल गर्न चाहिने आवश्यक कागजातको जोहो गर्ने सिजन सुरू भएको छ । 

अमेरिकामा निम्न र मध्यम आय भएकाले ट्यक्स रिटर्न पाउँछन् । यो रकम औसतमा ६-७ डलर हुने भएकाले आफ्नो आम्दानी बढीभन्दा बढी कर फिर्ता आउने बनाउन के के गर्नुपर्छ, त्यसका लागि नेपालीहरू बढी नै मेहेनत गरिरहेका हुन्छन् । यस क्रममा उनीहरूले अन्तिम केही महिना काम नगर्ने, कतिपयले चेकमा काम नगरेर क्यासमा काम गर्ने, केहीले सामाजिक संघसंस्थालाई चन्दा दिने, केहीले आफन्तलाई उपहार दिने, केहीले अवकाश कोषहरूमा सहभागी हुनेलगायतका अनेक जुक्ति लगाइरहेका हुन्छन् ।

अमेरिकाको नेपाली समुदायमा दिने संस्कृति विकास हुन सकेको छैन। नेपालबाट अमेरिका लिनै आएको भन्ने मानसिकताले उनीहरू जे जसरी भए पनि लिन नै उत्साहित भैरहेका हुन्छन् । 

नेपालीहरू अरू बेला चन्दा दिएको भनेर वा यति पैसा कमाएको भनेर फूर्ति देखाए पनि ट्याक्स रिटर्नको बेला भने भरसक कोही पनि ट्याक्स फिर्ता लिएको भन्न चाहदैनन्, नतिरे पनि यति तिरयो र उति तिरियो नै भनेर फुईँ हाँकिरहेका हुन्छन् ।

यो लिने सस्कृति नेपालीको मात्र हैन, अमेरिकामा आउने सबै आप्रवासीको उही हो । त्यसमा पनि दक्षिण एसियालीहरू लिन माहिर हुन्छन् भनेर अमेरिकामा बदनाम छन् । भारतीयहरूले नै यो लिने संस्कृतिको पनि नेतृत्व गरिरहेका छन् । नेपालीहरूले पनि उनीहरूबाटै सिकिरहेका छन् ।

अमेरिकी रैथानेहरू आप्रवासीहरूको लिने संस्कृतिलाई घृणा गर्छन् । उनीहरूको दिमाखमा आप्रवासीहरू अमेरिकालाई दिन हैन, अमेरिकाबाट दिन आएका भन्ने मात्रै परेको छ । यसका लागि मूलत: आप्रवासीहरूको जे जसरी भए पनि लिनका लागि जे जस्ता कर्म/कुकर्म गरिरहेका छन्, तिनै जिम्मेवार छन् ।

प्रकाशित मिति: : 2023-01-14 22:27:00

प्रतिकृया दिनुहोस्