नेतादेखि कलाकर्मी, सरकारदेखि अख्तियार, सार्कदेखि यूएनओ साथै संसारका माथिल्ला वैधानिक निकायहरुले प्यारो गरी संवोधन गरिने एउटा कर्मीको नाम हो ‘सञ्चारकर्मी’। भनिन्छ, २४ घण्टामा संसारभरका यिनै कर्मीहरुले आफ्नो कलममा चावी लगाइदिए भने त्यो समयभित्र संसारभर बिजुली प्रवाह रोकिएभन्दा बढी नोक्सानी हुन्छ। दुर्घटना स्तरको त सीमै रहँदैन।’
त्यसैले विकसित देशहरुमा पत्रकारिताको महत्वलाई शरीरमा हुने संवेदनशील सूचना सञ्चालक नशा (नर्भ)सँग तुलना गरिएको छ। शरीरमा उक्त अंगले काम गर्न छाड्यो भने सम्पूर्ण शरीर निर्जीव जस्तै हुन्छ। अन्य कुनै अंगले काम गर्नै सक्दैन। त्यही कार्य महत्वानुसार त्यसको जिम्मेवारी र प्रभावकारितालाई पनि शरीरले सम्मान दिएको छ।
विकसित देशहरुमा पत्रकारलाई उसको क्षेत्रअनुसार सूचनाको गम्भीर सामाजिक दायित्व सुम्पेको पनि छ। संसारभर पत्रकारको विश्वासनीयतालाई अनुसन्धानकर्मीको प्रतिवेदनभन्दा बढी मान्यता दिइन्छ। सामान्यतया अपराधको अनुसन्धान गर्ने आधारभूमि पनि पत्रकारको कलम नै हो भन्दा हुन्छ। राज्यको हात नपुगेका सामाजिक, राजनैतिक र आंतककारी गतिविधिका विकृत शाखाहरुसम्म आफ्नो पहुँच पुर्याएको हुन्छ पत्रकारले।
त्यसैले पत्रकारको कलमभित्र अपराध अनुसन्धानको सकारात्मक झिल्काझिल्कीहरु प्रशस्त भेटिन्छन् र त्यसैको आधारमा अनुसन्धानकर्मीहरुले आफ्नो गोरेटो तय गर्दछन्। त्यसैले एउटा पत्रकारलाई सूचनावाहकको रुपमा मात्र नभएर राज्यको अत्यन्त सम्मानित अनुसन्धानकर्मीको रुपमासमेत हेरिन्छ। भन्नै पर्ने हुन्छ, संसारभर रहेका धेरै नेपाली संघसंगठनहरुले यी कर्मीहरुलाई सम्मान दिनु त कता हो कता एउटा तलबी गार्डलाई जत्तिको पनि महत्व दिएको देखिएन। यसबारेमा हामीसंग धेरै उदाहरणहरु छन्।
उदाहरण १- बेल्जियम वा अन्य देशका संघसंगठनहरुले नेपाल पत्रकार महासंघका कुनै पनि शाखालाई आतिथ्यताको लागि औपचारिक निमन्त्रणा गर्दछन्। तर सम्बोधन गर्ने बेलामा कि त संगठनको नाम नै भनिदैन भन्ने परे पुछारतिर त्यो पनि कसैले चिट दियो भने सम्बोधन हुन्छ। तर कार्यक्रमको तयारी र सम्पन्न भइसकेपछि सर्वप्रथम मिडियाकर्मी खोजिन्छ। यसका सयौं अनुभवहरु छन्।
उदाहरण २- २०१५ मा सम्पन्न एनआरएनएको कोपनहेगेन क्षेत्रीय बैठकमा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष आदरणीय सूर्यमणी गौतम, केस रोशन पुरीलाई निम्ता दिएर नेपालबाट बोलाइयो तर न उनीहरुलाई कुनै सम्मान दिइयो, न सम्बोधन गरियो।
युरोपमा पत्रकार महासंघको शाखा थियो, त्योसँग कुनै संयोजन नगरी नेपालबाट त्यति धेरै सञ्चारकर्मीहरु बोलाएर अत्यन्त अपमान गरियो। आखिर अहिलेसम्म एनआरएनएले त्यो अपमानजनक व्यवहारको लागि माफी मागेको छैन किन? यसको उत्तर कसैसंग छ जस्तो लाग्दैन?
बेल्जियमको एनआरएनएको पनि अवस्था त्यही छ। ‘पाशा पुच, तमु समाज, तमु धी’ लगायतका जातीय, सामाजिक संगठन, प्रगतिशील मञ्च र मोर्चालगायत भातृ संगठनहरुको अधिवेशन हुन्छ। पत्रकारलाई नदिइ नभएर दु:ख सम्मत निम्तो दिइन्छ।
पत्रकार महासंघका प्रतिनिधि लुरुलुरु कार्यक्रममा जान्छन्। तर विचरा! सम्मान त कता हो कता। टोले समितिको नाम भनिसकेर उसको मर्यादाक्रमको ख्याल नगरी बल्लतल्ल पत्रकार महासंघको कतैकतै नाम लिइन्छ, कतै लिइँदैन। हालत अहिलेसम्म त्योभन्दा फरक छैन।
पत्रकार भ्याएसम्म पदाधिकारीहरु सांगठानिक प्रतिनिधित्वको लागि र संवाददाता गतिविधिको रिपोर्टिङको लागि जानुपर्छ। संवाददाताले आफ्नो काम गर्छन्, त्यसको मतलब भएन तर अतिथिको रुपमा संगठनको प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिको मर्यादाक्रमबारे आयोजकलाई वास्तै हुँदैन।
सांगठानिक मर्यादाक्रमबारे ख्याल गरिदिने आयोजकको काम हो। पत्रकार महासंघको युरोप शाखा भनेको एनआरएनएको युरोप क्षेत्रीय समितिको समान मर्यादास्तर र हैसियतको हो भनेर भनिरहन नपर्ला। त्यस्तै एनआरएनएको राष्ट्रिय परिषदभन्दा महत्व बोकेको नेपाल पत्रकार महासंघ र त्यो नभएको ठाउँमा पत्रकार सञ्जाल हो। सके एनआरएनएभन्दा अगाडि महासंघको नाम आउनुपर्छ, नभए एकैसाथ आउनुपर्छ। त्यो कुरा आयोजकले पत्रकारले भन्नु अगावै जान्ने कुरा हो।
हुन त निम्तै नदिए पनि पत्रकारहरु कार्यक्रममा सकेसम्म पुग्ने पर्ने हुन्छ। पत्रकारले कुनै ठाँउमा गएर समाचार संकलन गर्न कसैको आदेश कुरिरहँदैन। निम्तो कुर्ने त कि निम्तालु प्रतिनिधि वा पाहुनाले हो। पत्रकार जुनसुकै पार्टी, संघसंगठनको समाचार सम्प्रेषणमा लाग्ने हुनाले कसैकसैले पत्रकारलाई ‘सदावहार विपक्षी’ को संज्ञा पनि दिएका छन्। उसले सूचनामा अन्याय गर्दैन वा गर्नै हुँदैन। सूचनामा कुनै पनि मोलतौल गरी कसैको प्रभावले सूचनाको सानो अंशमा पनि लुकाइन्छ भने त्यो समाजप्रतिको अन्याय र घोर अपराध हो। उसले सम्प्रेषण गरेका पत्रकारिता पीत पत्रकारिताभित्र पर्दछ। त्यो रिपोर्टिङको पाटो भयो।
आतिथ्यताको पाटो र त्यसको कर्म अलिक फरक हुन्छ। संघसंगठनले निम्तो दिएको ठाँउमा अतिथि हुन आफ्नो संरचनाको मूली वा संगठनले तोकेको प्रतिनिधिलाई पठाउँछ। संसारभरको प्रचलनअनुसार पठाएको पत्रकार प्रतिनिधिको मर्यादाक्रम राजदूत पछिको हुन्छ। उसले जोसुकैलाई तोके पनि उसको मर्यादाक्रममाथि अन्याय गर्न पाइँदैन। जानाजान मर्यादा मिचिएको ठाउँमा बस्दा भन्दा नबस्दा स्वाभिमान झुकाउनु पर्दैन। किनकि, सुचना वा समाचारको महत्वलाई संसारभर एक नम्बरमा राखिएको छ। सूचनाको वैश्विक रणनीति तय गर्ने भनेको पत्रकारहरुले नै हो। त्यसैले यति कुरा जानकारी गराउन आवश्यक यस मानेमा देखियो कि नेपाली संघसंगठनहरुले यसको महत्वलाई सम्झनु पर्ने ठाउँमा पर्गेल्न थाले। भन्नुस्, यो लेख सम्बन्धित पक्षको लागि नैतिक दवाब पनि हो।
मित्रहरुलाई थाहै भएको कुरा हो कि पत्रकारलाई राज्यको सम्पूर्णताभित्रको चौथो भाग वा राज्य संयन्त्रको चौथो अंग मानिएको छ। यसको चौथो मर्यादाक्रमलाई कानुनी राज्य भएका धेरै देशहरुले मान्यता दिएका छन्। तर हाम्रो संघसंगठनहरुले पत्रकारलाई सबैभन्दा पहिलो कार्य (सूचना प्रवाह) को लागि खुब प्रयोग गर्दछन्। तर प्रतिनिधिको रुपमा निमन्त्रणा गरिसकेपछिको कार्यक्रममा सम्बाेधन र सम्मान गर्दा शत्रुलाई अत्यन्त दरिद्र पारा देखाउँछन्।
पत्रकार महासंघको हैसियत भनेको आन्तरिक मर्यादाक्रमको सूचीको अन्तिम पदावली हो भन्ने सोच्छन् क्यारे संघ संस्थाका संचालकहरुले। पत्रकार शाखाका अध्यक्ष समुदायको सूचना क्षेत्रका अध्यक्ष हुन् भन्ने कुरा संघसंस्थाहरुले बुझिदिएको भए मैले यति गफ दिनैपर्ने थिएन। तर अति भएपछि भन्न बाध्य हुनुपर्यो ! अब त सम्बन्धित पक्षलाई लाज लाग्ला कि, वा कुन्नि ?
नाम नबताउँ, नयाँ वर्षा २०२३ आसपासको कार्यक्रममा पनि ५२औं को सम्बाेधनपछि दुखजिलो गरेर पत्रकार महासंघ बेल्जियमका अध्यक्षको नाममा आसन ग्रहण गराइयो। पंतिकारलाई अति पिडाबोध भएर आयो। पत्रकारलाई बढी सम्मान चाहिएको हैन तर उनीहरुको महत्व र कार्यअनुसार सांगठनिक संरचना कुन स्तरको हो, हेक्का राखेर मर्यादाक्रमलाई मिलाउनु पर्ने हैन? यो सवाल रिपोर्टिङमा गएका पत्रकारको हकमा उठाइएको कदापि हैन। सवाल अतिथि पत्रकारहरुको हो, जसलाई अधिवेशन वा उत्सवहरुमा निमन्त्रणा पठाएका हुन्छन्।
२०१५ को कोपन्हेगेन सम्मेलनमा जस्तो पत्रकारहरुको मानमर्दन गर्ने, पत्रकारका कोषाध्यक्षलाई सम्मेलनमा एउटा कुर्सी पनि नल्याइ दिएर अपराधीलाई खानतलासी गर्न ठेलामा राखी हाकिमसामु उभ्याए जस्तो गरी हदैसम्मको अपमान गर्ने कार्य दु:खद हो। त्यस्तो संकीर्ण र दुखदायी अवस्थाको भोगाइ र अवस्था धेरै देखेर मैले यी अक्षरहरु कोरेको हुँ। मतलब, अरुको मर्यादाक्रमलाई ख्याल गर्न सकियो भने भावी पुस्ताले तपाईंहरुको मर्यादाक्रमलाई पनि पक्कै ख्याल राख्नेछन्।
यसमा मैले के मात्रै खोजेको हो भने देश, समाज र संगठनका कार्यक्रमहरुमा मर्यादाक्रमलाई व्यवस्थित गर्नैपर्छ। त्यसले नै समूहमा सामूहिकताको विकास गर्छ। मर्यादाक्रम कामले निर्धारण गर्ने कुरा हो। कामको महत्वमा तौलेर संघसंगठनहरुको मर्यादाक्रम मिलाउन संघसंस्थाहरुले पहल गर्नैपर्छ। यसले नै सबैसँग एउटा भावनात्मक सम्बन्धको विकासलाई नजिरको रुपमा स्थापित गर्नेछ।