म बुढो नहुँदै
बुढा भएका मेरा रहरहरु
फुल्न नपाइ ओइलिएका कोपिलाहरू
यो मरुभूमि मन
फेरि हराभरा हुनै सक्दैन
तिमी किन यो
रहरको खेती उमार्न चाहन्छौ
मग मग फुल्दै चाहन्थे म पनि
वासन्ती हावामा सुवास छर्न
चाहन्थे बैंसालु सपनाहरुको रङ भर्न
इन्द्रेणीका रङहरु सापटी लिएर
भर्न चाहन्थे हृदयको क्यान्भासमा सुनौला सपनाहरू
ती सपनाहरू जसले जुनेली रातमा
आकाशसँग बादलका गीतहरु गाउने थिए।
अचानक ममाथि भत्केको पहाडले थिच्यो
जिउँदै गिद्धले मृत्यु तुल्याउँदै ठुंग्याे
म त्यही घाउको आलो रगत पुछ्दै
बाँचे जस्तै अभिनय गर्दै छु
म नै अन्जान छु
म लास हुँ या सास
सास फेर्छु तर मन मरिसकेको छ
आशा गर्छु
जताततै निरासै निरासा देख्छु।
साँच्चिकै तिमी मलाई
उमार्न चाहन्छाै भने
फुलाउन चाहन्छौ भने
जिउँदो शरीरलाई
लास सम्झेर ठुंग्ने
गिद्धहरु समात्ने जाल बुन्न
सहायता गर मलाई।
म ती हिंस्रक दयाहिन
गिद्धहरुलाई
बलिरहेको अग्निकुन्डमा हालेर
दनदन जलाउन चाहन्छु
अनि त्यही खरानीसमेत बाँकी नराखी
बगिरहेको समुन्द्रमा सर्लक्क पखाल्न चाहन्छु।
साँच्चै तिमी मलाई
फक्रेकै हेर्न चाहन्छौ भने
थोपाथोपा रगतको कसम
हो मलाई गिद्धलाई जाल थाप्न सहयोग गर...।