प्रादेशिक संरचना स्थापित गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की

प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक संरचना स्थापित गर्नु सबै संसदहरुको दायित्व भएको बताएका छन्।

प्रदेशको औचित्य पुष्टि गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने कार्कीले बताए।

मंगलबार प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै उनले प्रादेशिक संरचना सेवा प्रवाह र देश विकासका लागि महत्वपूर्ण भएको बताए।

फजुल खर्च र बेरुजुका आधारमा संघ र स्थानीय सरकारभन्दा प्रदेश सरकार सब्बल संरचना भएको उनको भनाई छ।

प्रदेशको अधिकार प्राप्तिका लागि प्रदेशसभाका सबै दल एकमतका साथ उभिनुपर्ने उनले बताए। ‘कतिपय कुराहरुमा हामीले अधिकार नपाउँदा काम गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत सबै दल एकमतका साथ उभिएर प्रदेशको अधिकार क्षेत्रका लागि लड्नुपर्ने भएको छ।’

प्रदेश संरचनालाई स्थापित गरी मजबुत र स्थायी बनाउनका लागि सबै राजनीतिक दलहरु एक ठाँउ उभिन उनले आग्रह गरेका छन्।

यस्तै प्रदेश सरकारले केहीदिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने पनि मुख्यमन्त्री कार्कीले बताए। सेवा प्रवाहलाई सुशासन कायम गर्दै भ्रष्टाचार शून्यसहनशीलता बनाउने प्रदेश सरकारको उच्च प्राथमितका भएको बताए।

प्रदेशले पर्यटन, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्ने कार्कीको भनाई छ। आर्थिक सामाजिक रुपान्तरणका लागि प्रदेश सरकार जिम्मेवार भएको उनले बताए।

अघिल्लो कार्यकालमा नामकरण गर्न नसक्दा चातर्फी आलोचना भएको बताउँदै उनले सबैको साझा सहमतिमा नामकरण गर्नु सरकारको उच्च प्राथमिकता भएको बताए।

संरचना अभावमा मन्त्रालयहरु विभिन्न ठाउँ छरिएर रहँदा सेवा प्रवाह गर्न असहज भएका कारण प्रदेशको संरचना गर्ने विषय सरकारको मुख्य प्राथमिकता भएको उनले बताए।

‘संरचना अभाव हुँदा मन्त्रालयहरु विभिन्न ठाउँमा छरिएर रहेका छन्, भाडाका घरहरुमा छन्,’ उनले भने, ‘त्यसकारण हाम्रो पहिलो र उच्च प्राथमिकता प्रदेश सरकारका आफ्नै भवनहरु बनाउनु हो।’

स्थानीय र संघीय सरकारसँग निरन्तर सहकार्य र समन्वय गरेर प्रदेशलाई बलियो बनाउन लागि पर्ने उनले बताए।

प्रकाशित मिति: : 2023-01-10 15:42:00

प्रतिकृया दिनुहोस्