सय वर्ष पुरानो धार्मिक महत्व बोकेको दाङ घोहारीको लरैना मन्दिर ओझेलमा परेकाे छ। घोराही उपमहानगरपालिका– ९ स्थित लरैनामा रहेको यस लरैना मन्दिरको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो।
बराह क्षेत्र वाशुदेव धार्मिकस्थको रुपमा स्थानीयले यस मन्दिरलाई संरक्षण गर्दै आएको भए पनि प्रायप्त रुपमा बाहिरबाट पर्यटक यहाँ पुग्न सकेका छैनन्। दाङको बाह्र कुनेमन्दिर, धारापानी मन्दिर, अम्बिकेश्वरी मिन्दर लगायत ठाउँमा पर्यटक पुग्ने गरेको भए पनि यस मन्दिरको प्रचारप्रचार हुन नसक्दा घोराहीदेखि नजिकै रहेको लरैना भने गुमनाम छ।
घोराही बजारदेखि नारायणपुर हुँदै दक्षिणतर्फ मोटर यात्रामा सहजै पुग्न सकिने लरैना मन्दिरमा हरेक वर्ष माघ १ गतेका दिन ठुलो मेला लाग्ने गर्छ। पहिलेदेखि नै यस मन्दिरको महत्व भएको भए पनि २०४५ सालमा बराहक्षेत्र वाशुदेव मन्दिरको निर्माण गरेर विकासको थालनी गरिएको थियो। करिब एक बिगाह १४ कठ्ठा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा स्थानीयवासी तथा केही व्यक्तिको पहलमा मन्दिर निर्माण गरिएको हो।
लरैना मन्दिरको महिमाका बारेमा प्रचारप्रसार गर्न सकियो भने दाङका अन्य धार्मिकस्थल जस्तै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने स्थानीय श्यामेस चौधरी बताउँछन्। उनले राज्यको लरैना मन्दिरको विकासमा ध्यान दिन नसक्दा यसको महिमाको विषयमा प्रचारप्रसार हुन नसकेको बताए।
‘लरैना मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ’,चौधरीले भने,‘तर, प्रचारप्रसारको अभावका कारण कुनै पहल हुन सकेको छैन।’ सन्तान नहुनेहरु यस मन्दिरमा आएर भाकल गरी पूजापाठ गरे सन्तान प्राप्त गर्ने जनविश्वास रहेको छ।
मन्दिर संरक्षणसँगै विकासका लागि स्थानीयवासीका तर्फबाट प्रयास भएपनि राज्यको सहयोग नपाउँदा लरैना धार्मिक क्षेत्र पछाडि परेको नारायणपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र दाहाल बताउँछन्। स्थानीयको पहलमा बराहक्षेत्र वाशुदेव मन्दिर, चौतारी, मन्दिरको पर्खाल निर्माण गरेर यसक्षेत्रको विकासको थालनी भएको अध्यक्ष दाहालले बताए।
लरैना मन्दिरलाई बराह भगवानका १२ भाइमध्ये कान्छो भाइ रहेको जनविश्वाससँगै पूजापाठ गर्ने प्रचलन छ। ‘यस क्षेत्रलाई बराह भगवान कान्छो भाइ रहेको जनविश्वाससँगै यहाँ आएर तालमा नुहाउँने र पूजा गर्ने प्रचलन छ’,स्थानीय समेत रहेका संघका पूर्व दाहालले भने,‘त्यही जनविश्वासका साथ माघे संक्रान्तिमा पूजापाठसँगै मेला लाग्ने गरेको छ।’
माघे संक्रान्तिमा दाङसँगै बाँके, बर्दियालगायतका क्षेत्रबाट पनि केही दर्शनार्थी आउने गरेको उनले बताए। चौधरी समुदायको पुजारी रहेका यस मन्दिरमा पर्यटन बोर्डका तर्फबाट पोखरी निर्माण र साविक त्रिपुर नगरपालिकाका तर्फबाट प्रतिक्षालय निर्माण गर्ने काम गरिएको छ।